बुधबार, वैशाख १२, २०८१

बिमस्टेकलगत्तै संयुक्त सैन्य अभ्यास किन?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक समन्वयका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन काठमाडौंमा सकिएको १० दिनपछि अर्थात् २५–३१ भदौमा हुन लागेको सदस्य राष्ट्रहरूको संयुक्त सैन्य अभ्यासको समाचारले कूटनीतिक र राजनीतिक वृत्त तरंगित भएको छ।

नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, म्यानमार र थाइल्यान्डका सैनिक अधिकृतहरू भारत महाराष्ट्रको दोस्रो ठूलो शहर पुणेमा भेला हुँदैछन् । बिमस्टेकको सम्मेलन शुरु हुनुअघि एजेन्डा तय गर्न मंगलबार बसेको सदस्य राष्ट्रका विदेश सचिवस्तरीय बैठकले संयुक्त सैन्य अभ्यासको मिति तय गरेको हो ।

संयुक्त सैन्य अभ्यासमा सदस्य राष्ट्रका सैन्य प्रमुखसहित ३० जनाले भाग लिनेछन्। त्यसलाई प्रतिआतंकवादविरुद्धका लागि संयुक्त अभ्यास नाम दिइएको छ । बिमस्टेक सदस्य राष्ट्रहरूबीच विगतमा दुई पक्षीय सैन्य अभ्यास मात्र हुने गरेको थियो । कुनै संगठनको जगमा टेकेर गर्न लागिएको यो सैन्य अभ्यास दक्षिण एसिया र दक्षिणपूर्वी एसियामै पहिलो रहेको जानकारहरूको भनाइ छ ।

बिमस्टेक सदस्य राष्ट्रहरूका राष्ट्रिय सुरक्षा सल्लाहकार तथा सैन्य सहचरीहरूको बैठकले केही समयअघि भारतमा सैन्य अभ्यासको निर्णय गरेका थिए । विदेश सचिवस्तरीय बैठकले त्यसलाई औपचारिक रूप दिएको हो ।

बिमस्टेकको चौथो शिखर सम्मेलनमा संयुक्त सैन्य अभ्यासको विषय एजेन्डा बन्ने वा नबन्ने भन्नेबारे औपचारिक धारणा सार्वजनिक भएको छैन । तर, भारतको विशेष पहलमा हुन लागेको सैन्य अभ्यासले यस क्षेत्रको भूराजनीतिमा ठूलै महत्व पाउने अनुमान गरिएको छ ।

यसलाई भारतले रणनीतिक रूपमा बिमस्टेक इतर पक्ष, भारतका प्रतिस्पर्धी सैन्यशक्तिहरू चीन र पाकिस्तानलाई चिढ्याउन सक्ने शंका पनि उत्पन्न भएको छ । सार्क शिखर सम्मेलन तथा बिमस्टेक प्रतिआतंकवादविरुद्धको एजेन्डाले प्राथमिकता पाउँदै आएको भए पनि यस्तो सैन्य अभ्यासको विगतमा प्रसंगसमेत उठेको थिएन।
 

‘२१ औं शताब्दीमा यस्ता सैन्य अभ्यासलाई सामान्य रूपमै लिनुपर्छ तर भारतको विगतको इतिहासले यसलाई शंकाको सुविधा दिएको हो । नेपाल सरकारले आफ्ना नागरिक र बिमस्टेक बाहिरका मुलुकहरूलाई अन्य देशविरुद्ध प्रयोग हुन दिँदैनौं भनेर विश्वस्त पार्नुपर्छ ।’


नेपालले विगतमा द्विपक्षीय सैन्य अभ्यास गरेको भए पनि सामूहिक सैन्य अभ्यासमा भने अहिलेसम्म भाग लिएको छैन । भारतकै पहलमा भएको यस्तो सैन्य अभ्यासले भविष्यमा नेपालको छविमा समेत असर पार्न सक्ने सुरक्षा विषयका जानकारहरूको चिन्ता देखिन्छ ।

बिमस्टेक सदस्य राष्ट्रबीचको सैन्य अभ्यासको विशेष पहल भारतले गरेको र भारतको विगतको चरित्रका कारण शंका गर्ने अवस्था सिर्जना भएको  सुरक्षाविद् विष्णुराज उप्रेती बताउँछन् । ‘२१ औं शताब्दीमा यस्ता सैन्य अभ्यासलाई सामान्य रूपमै लिनुपर्छ तर भारतको विगतको इतिहासले यसलाई शंकाको सुविधा दिएको हो,’ उनी भन्छन्, ‘नेपाल सरकारले आफ्ना नागरिक र बिमस्टेक बाहिरका मुलुकहरूलाई अन्य देशविरुद्ध प्रयोग हुन दिँदैनौं भनेर विश्वस्त पार्नुपर्छ ।’

पछिल्लो समय सार्कलाई निश्क्रिय पार्ने र बिमस्टेकलगायत अन्य फोरमलाई विशेष प्राथमिकतामा राख्ने भारतको कार्यशैली पाकिस्तानलाई तर्साउनेतर्फ लक्षित भएकाले भारतको नियत स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।

बिमस्टेक सदस्य राष्ट्रबीचको सैन्य अभ्यासलाई कनेक्टिभिटीअन्तर्गत्को ‘सपोर्टिङ’ तत्वका रूपमा बुझ्नुपर्ने नेपाली सेनाका पूर्वरथी नेपालभुषण चन्द बताउँछन् । ‘नेपाल भूपरिवेष्ठित भएकाले हामीले भारततर्फ बढी झुकाव राखेका छौं र यो यथार्थ पनि हो,’ चन्द भन्छन्, ‘बिमस्टेक सम्मेलन अगावै तय भएको सैन्य अभ्यासप्रति प्रश्न उठ्नु एउटा पाटो होला तर यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’ 

यसबाट नेपाल–चीन तथा नेपाल–पाकिस्तान सम्बन्धलाई कुनै असर पार्लाजस्तो नलागेको पूर्वरथी चन्द बताउँछन् । भन्छन्, ‘किनभने, चीनले ओबीओआरमार्फत् छिमेकी देशहरूसँगको सम्पर्कलाई नजिक ल्याएको छ ।’

बिमस्टेकमा दक्षिण एसियाका पाँच मुलुक मात्र नभई दक्षिण–पूर्वी एसियाका थाइल्यान्ड र म्यानमार पनि सदस्य छन् । थाइल्यान्ड र म्यानमार भौगोलिकलगायत कोणबाट भारतभन्दा चीनसँग निकट छन् । त्यसैले थाइल्यान्ड र म्यानमारले सहभागिता जनाएको सैन्य अभ्यासमा नेपालले भाग लिँदा फरक नपर्ने चन्दको बुझाइ छ ।

जसरी चीनले आफ्ना छिमेकीसँगको सम्बन्धलाई ओबीओआरको फराकिलो व्यवस्थामा जोड्न खोजेको छ, त्यसरी नै भारतले पनि छिमेकीहरूसँग नजिकिने प्रयास गरिरहेको छ । बिमस्टेक मुलुकको सैन्य अभ्यासबाट भारतले चीन र पाकिस्तानलाई आफ्नो सैनिक शक्ति देखाउन खोजेको हुन सक्ने विश्लेषण पनि गरिन थालेको छ ।

अन्तर्राष्ट्रियस्तरका ६ वटा सैन्य अभ्यासमा नेपाल

अन्तर्राष्ट्रिय तथा द्विपक्षीय सैन्य अभ्यासमा नेपालले सहभागिता जनाउन लागेको यो पहिलो पटक होइन । यस्ता अन्य पाँच वटा सैन्य अभ्यासमा नेपाली सेना सहभागी हुँदै आएको छ ।

यस्ता सैन्य अभ्यासबाट नेपाली सेनाको समय अनुकुल व्यावसायिक विकास तथा मित्रराष्ट्रका सेनासँगको सम्बन्धलाई थप सुदृढ सहयोग पुगेको सैनिक मुख्यालयको भनाइ छ । विगतका संयुक्त सैन्य अभ्याससँगै नेपाली सेनाले विभिन्न तालिम आदानप्रदानसमेत गरिरहेको छ ।

तीमध्ये सबैभन्दा लामो शृंखला चलेको सैन्य अभ्यास हो, भारतीय सेनासँगको ‘अपरेसन सूर्य किरण’ । दुई मुलुकका सेनाले यसको दशौं शृंखला सम्पन्न गरिसकेका छन् । उक्त अभ्यासका १, ३, ५, ७ र ९ भारतमा चलेका थिए । २, ४, ६, ८ र १० नेपाली भूमिमा सञ्चालन गरिएको थियो । यसमा नेपालको तर्फबाट १७ सय ३९ र भारतीय सेनाको तर्फबाट १८ सय ५६ जना सैनिकले सहभागिता जनाइसकेका छन् ।

यस्तै, बेलायती सेनाको आयोजना रहने सैन्य अभ्यासमा पनि नेपाली सेनाले भाग लिइसकेको छ । ‘क्यारेबियन पट्रोल’ नाम दिइएको उक्त अभ्यास ५० वर्षअघि शुरु भएको हो, जसमा एक सय १९ देशका सेनाले संयुक्त अभ्यास गर्दै आएका छन् । यो सैन्य अभ्यासमा नेपालले ३१ असोज ०७१ र १७ असोज ०७२ गरी दुई पटक सहभागिता जनाइसकेको छ ।

यसैगरी, नेपाली सेना आफैंले सञ्चालन गर्दै आएको छ, ‘एक्स शान्ति प्रयास’ । नेपाली सेनाको विशेष निमन्त्रणामा यस सैन्य अभ्यासका तीन वटा शृंखला चलिसकेका छन् । सन् २००० देखि शुरु भएको ‘एक्स शान्ति प्रयास’ सन् २०१३ र २०१७ मा पनि सञ्चालन भइसकेको छ । तीन वटै शृंखलामा गरी ३४ मुलुकका करिब १४ सय सैनिकले सहभागिता जनाइसकेको छ ।

यस्तै, नेपाली र अमेरिकी सेनाबीच सन् २००३ देखि शुरु भएको अभ्यासलाई ‘ब्यालेन्स नेल’ नाम दिइएको छ । त्यसअन्तर्गत् हालसम्म २८ वटा तालिम र सैन्य अभ्यास भइसकेका छन् । ‘ब्यालेन्स नेल’को उद्देश्य प्रतिआतंकवाद, प्रतिविद्रोह, उद्धार, विपत व्यवस्थापन र दक्ष जनशक्ति उत्पादन गर्ने भन्ने छ ।

सार्क र बिमस्टेक दुवैको सदस्य रहेको श्रीलंकाको सेनासँग पनि नेपाली सेनाले अभ्यास गर्दै आएको छ । त्यसको नाम दिएको छ, ‘एक्स कर्मोरेन्ड स्ट्राइक’ । उक्त अभ्यास श्रीलंकाली सेनाले हरेक वर्ष आयोजना गर्छ । र, नेपालले त्यसमा सन् २०१४ देखि सहभागिता जनाउँदै आएको छ ।

१६ अप्रिल २०१७ देखि नेपाल र चीनबीच पनि संयुक्त सैन्य अभ्यास शुरु भएको छ । त्यसको दोस्रो शृंखला १२ जुलाई २०१८ मा शुरु भएको छ । उत्तरी छिमेकीसँग नेपाली सेनाको अभ्यासलाई ‘सगरमाथा फ्रेन्डसिप’ नाम दिइएको छ । आतंकवादविरुद्धको अभ्यासका रूपमा यसलाई दुई मुलुकले अथ्र्याएका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।