शनिबार, वैशाख ८, २०८१

सुर्खेतमा थानीको ‘पकड’ भत्काउने खड्का समूहको दाउ

 |  सोमबार, साउन ११, २०७८

देव राना

देव राना

सोमबार, साउन ११, २०७८

सुर्खेतमा पनि नेपाली कांग्रेसमा संस्थापन समूह र इतर समूह स्पष्ट रूपमा दुई धारमा छ। यद्यपि जिल्लामा नेतृत्वका लागि केन्द्रीय सदस्य हृदयराम थानी र महामन्त्री पूर्णबहादुर खड्का पक्षबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

triton college

सुर्खेत– देशभरझैं सुर्खेतमा पनि नेपाली कांग्रेस आसन्न महाधिवेशनमा होमिएको छ। कांग्रेस केन्द्रमा जस्तै सुर्खेतमा पनि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा पार्टी विभाजित छ।  पौडेल समूहको नेतृत्व कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानी र देउवाको पक्षको नेतृत्व बहालवाला महामन्त्री पूर्णबहादुर खड्काले गर्दै आएका छन्। 

२०५२ सालदेखि चल्दै आएको थानी र खड्का समूहको टकराव यसपालि पनि दोहोरिने निश्चित छ। केन्द्रमा बलियो पहुँच राख्ने नेताहरु भएका कारण कर्णालीका अन्य जिल्लाभन्दा सुर्खेतमा कांग्रेसको आगामी महाधिवेशनलाई चासोका साथ हेरिएको छ। प्रदेशको राजधानी र प्रभावशाली नेताका कारण नेतृत्वमा पुग्नुलाई महत्त्वपूर्ण मानिन्छ।

सुर्खेतको नेतृत्वमा लामो समयदेखि थानी समूहको वर्चस्व छ। केन्द्रीय राजनीतिमा बलियो पहुँच राख्ने खड्का समूहलाई थानी समूहले जिल्लामा काउन्टर दिँदै आएको छ। कांग्रेसभित्र कर्णालीका ‘आइडल पर्सन’ का रुपमा चिनिने खड्का सहमहामन्त्री, महामन्त्री हुँदै पार्टी नेतृत्व दाबी गर्ने स्थान बनाइरहँदा थानी समूहले जिल्ला नेतृत्वमा कब्जा जमाउँदै आएको छ। जिल्लामा थानी र खड्का समूहको टकरावको फाइदा स्वर्गीय नेता तप्तबहादुर विष्टले लिएका थिए। 

corrent noodles
Metro Mart

महामन्त्री पूर्णबहादुर खड्का समूहले टोलमा आयोजना गरेको भेला।

२०५२ सालदेखि २०७२ सालसम्म (२० वर्ष) नेतृत्व सम्हालेका उनी कहिले खड्का त कहिले थानी क्याम्पमा पुग्थे। पछिल्लो कार्यकालमा थानी समूहलाई साथ दिएका विष्टको निधन हुनुअघि खड्का समूह पुगेका थिए। विष्टको सुर्खेतको पश्चिम क्षेत्रमा बलियो प्रभाव थियो। २६ वर्षदेखि आमने/सामने हुँदै आएको थानी र खड्का समूहबीच आगामी जिल्ला नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने देखिन्छ। नेतृत्व हत्याउन दुवै समूह मैदानमा उत्रिएका छन्। थानी समूहले आगामी नेतृत्वका लागि उम्मेदवार टुंगाइसकेको दाबी गरेको छ। खड्का समूह भने मध्यमार्गी नेतालाई अगाडि सार्ने दाउमा छ। 

जिल्ला नेतृत्वमा थानीको पकडलाई खड्का समूहले यसपालि भत्काउन चाहन्छ। तर थानी समूह नेतृत्व फुत्कन नदिन वर्तमान नेतृत्वलाई दोहोर्‍याउने रणनीतिमा छ।

जिल्ला नेतृत्वमा थानीको पकडलाई खड्का समूहले यसपालि भत्काउन चाहन्छ। तर थानी समूह नेतृत्व फुत्कन नदिन वर्तमान नेतृत्वलाई दोहोर्‍याउने रणनीतिमा छ। समूहमा विवाद बाहिरिन नदिन थानी समूहका नेताहरू बहालवाला पार्टी सभापति कमलराज रेग्मीलाई नै नेतृत्वमा लैजाने बताउन थालेका छन्।

को–को छन् आकांक्षी?

सुर्खेतमा आगामी जिल्ला नेतृत्वका लागि कमलराज रेग्मी, यज्ञबहादुर बीसी (बुढाक्षेत्री) र उपेन्द्रबहादुर थापाको नाम चर्चामा छ। रेग्मी बहालवाला सभापति हुन्। उनी थानी समूहको नेतृत्व गर्दछन्। बीसी कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री हुन् भने थापा पञ्चपुरी नगरपालिकाका मेयर हुन्। बीसी र थापा खड्का समूहका हुन्।

१३ औं महाधिवेशनमा रेग्मीले बीसीलाई ३ मतले हराएका थिए। अहिले मतदाता प्रतिनिधिमा दुई तिहाइले वृद्धि भएको छ। १३ औं महाधिवेशनमा झण्डै साढे पाँच सय मतदाता प्रतिनिधि रहेको सुर्खेतमा अहिले १७ सय पुग्ने अनुमान छ।

घरदैलोमा पुगेका केन्द्रीय सदस्य हृदयराम थानी समूहका कार्यकर्ता।

यसपालि पनि बीसी र रेग्मी सभापतिमा भिड्ने बलियो सम्भावना छ। बीसी सभापतिको दौडबाट पछि हटेमा खड्का समूहले थापालाई अघि सार्नेछ। अघिल्लो कार्यकालमा उपसभापति भइसकेकाका थापाले चार वर्ष कार्यवहाक सभापतिको जिम्मेवारी निर्वाह गरिसकेका छन्। 

जिल्ला नेतृत्वका लागि अन्य नेताहरु पनि आकांक्षी छन् तर रेग्मी, बीसी र थापा नै सभापतिका सबैभन्दा बलिया उम्मेदवार हुन्। खड्का समूहबाट जिल्ला सभापतिका लागि वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी र टोपबहादुर रावत पनि आंकाक्षी छन्। वीरेन्द्रनगर नगरपालिकाका मेयर सुवेदी सभापतिको दौडका लागि थानी समूहबाट खड्का समूहमा पुगेका छन्। रावत बहालवाला पार्टी सचिव हुन्। यस कारण नेतृत्वका लागि चर्चामा आएका दुई जनाको सम्भावना कमजोर देखिन्छ।

कुन समूह कति बलियो?

जिल्ला तहको नेतृत्वमा पछिल्लो समय थानी समूहको पकड छ। यसपालि पकड कायमै राख्ने थानी समूहको जोडबल छ। पकड भत्कन नदिन उसले बहालवाला सभापतिलाई दोहोर्‍याउने घोषणा गरिसकेको हो। नेतृत्व हत्याउन थानी समूह गाउँगाउँ छिरेको छ। तर यसपालि थानी समूहलाई त्यति सहज छैन। जिल्ला नेतृत्वमा थानी समूहका पकड भत्काउने खड्का समूहले साविकका निर्वाचन क्षेत्र नं. ३ र १ का नेताहरुलाई एउटै ठाउँमा ल्याउने कसरत गरिरहेको छ। 

साविक तीन क्षेत्र रहेको सुर्खेतमा कुनै समय क्षेत्र नं. १ मा खड्का, क्षेत्र नं. २ मा थानी समूहको बाहुल्य थियो। क्षेत्र नं. ३ ले जसलाई सहयोग गर्‍यो नेतृत्व उसकै पक्षमा पर्थ्याे। अहिले संरचना बदलिएको छ। हाल सुर्खेतमा प्रतिनिधितर्फ दुई र प्रदेशतर्फ चार निर्वाचन क्षेत्र छन्। तर संघीयतापछि महाधिवेशन नभएका कारण साविक कमिटी सक्रिय छन्। साविक ३ निर्वाचन क्षेत्रलाई आधार मान्दा खड्का समूहको पकड देखिन्छ। खड्का समूहमा क्षेत्र नम्बर नं. १ का सभापति खड्क पोखरेल, क्षेत्र नं. ३ का सभापति लालवीर खड्का छन् भने थानी समूहमा क्षेत्र नं. २ का सभापति नारायण कोइराला छन्।

प्रदेशतर्फ चार निर्वाचनमा दुवै समूह बराबर छ। दुबै समूहमा दुई–दुई जना बहालवाला सभापति छन्। थानी समूहमा प्रदेश निर्वाचन क्षेत्र नं. १ (क) का सभापति उमलाल पाण्डेय र प्रदेश क्षेत्र नं. १ (ख) का सभापति केशर वली छन्। प्रदेश क्षेत्र नं. २ (क) का सभापति कर्ण बुढा र प्रदेश क्षेत्र नं. २ (ख) का सभापति कृपा थापा भने खड्का समूहमा छन्।

स्थानीय तहको नेतृत्वमा खड्का समूहको वर्चस्व

नौ वटा स्थानीय तह रहेको सुर्खेतमा स्थानीय तहको नेतृत्वमा खड्का समूहको वर्चस्व छ। चौकुने गाउँपालिकाका मोहनसिंह थापा, पञ्चपुरी नगरपालिकाका नरेन्द्रबहादुर शाही, बराहताल गाउँपालिकाका तेजबहादुर बस्नेत, वीरेन्द्रनगर नगरपालिकाका देवकुमार सुवेदी, लेकबेसी गाउँपालिकाका प्रतिमान बाकवल मगर, गुर्भाकोट नगरपालिकाका हस्त पुन र सिम्ता गाउँपालिकाका राजेन्द्रकुमार सिंह खड्का पक्षका हुन्। भेरीगंगा नगरपालिकाका दिवंगत बेदु गिरी पनि खड्का पक्षकै मानिन्थे। 

चिङ्गाड गाउँपालिकाका सभापति कर्सिङ रानामात्रै थानी समूहमा छन्। स्थानीय तहको नेतृत्व हेर्दा खड्का समूहले सहजै जित हात पार्ने धेरैको अनुमान छ। तर थानी समूह त्यति कमजोर छैन। मतदाता (भोटर वा जनप्रतितिधि) चुनिने वडामा ७० प्रतिशत आफ्नो कब्जामा रहेको थानी समूहको दाबी छ।

कसले कब्जा गर्ला जिल्ला नेतृत्व?

कांग्रेस महाधिवशनको जित–हारका लागि वडा तहको नतिजा कुर्नुपर्छ। यस हिसाबले साउन १२ गतेअघि जितहारको आँकलन गर्न गाह्रो हुन्छ। तर हालका वडा तहको नेतृत्वमा पनि भर पर्दछ। ९९ वडा रहेको सुर्खेतमा अहिलेसम्म कुन समूहमा कति वडा तहका नेतृत्व छन् भन्ने खुलेको छैन। दुवै समूहले वडा तहको नेतृत्व खुलाउन चाहेका छैनन्। यसले निर्वाचन जित्नेमा दुवै पक्ष ढुक्क छैनन् भन्ने प्रस्ट्याउँछ।

चुनाव कसले जित्ने भनेर आँकलन गर्न सकिने दुईवटा मुख्य आधार छन्। पहिलो, समूहभित्र पनि सहमतिका आधारमा नेतृत्व छनोट, दोस्रो सबैभन्दा बढी मतदाता रहेको वीरेन्द्रनगर नगरपालिकाको प्रभार र दुवै क्षेत्रबाट पदाधिकारीको छनोट। पहिलो कार्य थानी समूहले सल्ट्याइ सकेको छ। थानी समूहबाट बहालवाला सभापति रेग्मी बाहेकको नाम चर्चामा छैन। तर खड्का समूहले नेतृत्वको एकजुट छैन।

कमलराज रेग्मी, उपेन्द्रबहादुर थापा र यज्ञबहादुर बुढाक्षेत्री।

सभापतिका आकांक्षीमा धेरैको नाम सार्वजनिक हुँदा नेतृत्वमा भिड्नेलाई केही असर पार्न सक्छ। तर १३ औं अधिवेशनमा निर्वाचनमा होमिएका बीसी नै अगाडि सरेमा व्यवस्थापनलाई सहज बनाउनेछ। खड्का समूहबाट अन्य आकांक्षीमध्ये बीसी नै सबैभन्दा पुराना नेता हुन्।

वीरेन्द्रनगरबाट मात्रै झण्डै ३०० सय मतदाता चुनिनेछन्। यो क्षेत्र थानी र रेग्मीको गृहनगर हो। थानी समूहले वीरेन्द्रनगरमा ९० प्रतिशत मतदाता आफ्नो कब्जामा रहेको दाबी गर्दछ

अर्काे चुनाव जित्ने आधार वीरेन्द्रनगर नगरपालिका हो। वीरेन्द्रनगरबाट मात्रै झण्डै ३०० सय मतदाता चुनिनेछन्। यो क्षेत्र थानी र रेग्मीको गृहनगर हो। थानी समूहले वीरेन्द्रनगरमा ९० प्रतिशत मतदाता आफ्नो कब्जामा रहेको दाबी गर्दछ। यही क्षेत्रबाट वीरेन्द्रनगर नगरपालिकाका मेयर एवम् दुई कार्यकाल नगरसभापति भइसकेका सुवेदीले खेमा परिवर्तन गरेका छन्। सुवेदीका मतदाताले पनि जितहारलाई धेरै प्रभाव पार्नेछन्। 

त्यस्तै संघतर्फ दुई र प्रदेशतर्फ चार निर्वाचन क्षेत्र रहेको सुर्खेतमा दुवै निर्वाचन क्षेत्रबाट जिल्ला पदाधिकारी समावेशी छनोटले पनि निर्वाचनमा जित–हारलाई सहयोग पुग्छ। यही बुझेर खड्का समूहले थानी समूह बलियो पकड रहेको क्षेत्र नं. २ बाट सभापतिको उम्मेदवार बनाउने तयारी गरेको छ। क्षेत्र नं. १ मा खड्का समूह थानी समूहभन्दा बलियो रहेको दाबी गर्छ। थानी समूह भने क्षेत्र नं. २ मा आफ्नो समूह बलियो रहेको बताउँछ। सबैभन्दा बढी मतदाता छनोट हुने वीरेन्द्रनगर क्षेत्र नं. २ मै पर्छ। 

यसकारण एउटा क्षेत्रबाट सभापति र अर्को क्षेत्रबाट सचिव लगायतका उम्मेद्वार छनोट गर्नुले पनि जितहारलाई सहयोग पुर्‍याउँछ। जुन समूहले पदाधिकारीको शक्तिबाँडफाँडलाई न्याय गर्न सक्यो उही समूह जित नजिक पुग्नेछ।

दुवै समूहको आ–आफ्नै दाबी

महाधिवेशन नजिकिँदै गर्दा थानी र खड्का दुवै समूहले आधारसहित जिल्ला नेतृत्व आफ्नो हात पार्ने दाबी गरेका छन्। थानी समूहले ७० प्रतिशत मतदाता आफ्नो कम्जामा रहेको दाबी गरेको छ। उसले चिङगाड गाउँपालिका, लेकबेसी र वीरेन्द्रनगर नगरपालिका पकेट क्षेत्र भएको दाबी गर्दछ।

उसो त अघिल्लो महाधिवेशनमा यी तीनवटै क्षेत्रबाट खड्का समूहका एक जना पनि प्रतिनिधिले निर्वाचित जितेका थिएनन्। खड्का समूहले एकछत्र कब्जा गर्ने क्षेत्र नं. १ मा थानी समूहले जालो फैलाइसकेको बताउँछ। ‘हामी कुनै समय क्षेत्र नं. १ मा कमजोर थियौं। अहिले अवस्था फेरिएको छ’, पार्टी सभापति रेग्मी भन्छन्, ‘वडा–वडामा हाम्रो पकड छ, प्रतिनिधि आउने वडाबाटै हो।’ त्यस्तै खड्का समूहले उम्मेदवार उठ्ने पश्चिमका क्षेत्रबाटै कांग्रेसका पुराना नेता पूर्वमन्त्री शिवराज जोशीको साथ आफ्नो समूहमा रहेका जितका लागि सहज हुने थानी समूहको दाबी छ।

‘एउटाबाहेक सबै स्थानीय तहको नेतृत्व हाम्रो पक्षमा छ’, खड्का समूहका नेता एवम् सामाजिक विकासमन्त्री बीसी भन्छन्, ‘७० प्रतिशत कार्यकर्ताले परिपक्व र जिम्मेवार नेतृत्व खोजेका कारण बहुमत हाम्रो पक्षमा छ।’ 

तर खड्का समूहले भने यसपालि जिल्ला नेतृत्व आफ्नो पक्षमा पर्ने बताउँछ। ‘एउटाबाहेक सबै स्थानीय तहको नेतृत्व हाम्रो पक्षमा छ’, खड्का समूहका नेता एवम् सामाजिक विकासमन्त्री बीसी भन्छन्, ‘७० प्रतिशत कार्यकर्ताले परिपक्व र जिम्मेवार नेतृत्व खोजेका कारण बहुमत हाम्रो पक्षमा छ।’ 

जिल्ला नेतृत्वका लागि आफू परिपक्व र सबैको साझा उम्मेद्वार हुने उनको दाबी छ। पश्चिम क्षेत्रको विकास निर्माणका लागि प्रभावकारी भूमिका निर्वाह नगरेका कारण पूर्वमन्त्री जोशीसँग कार्यकर्ता रुष्ट भएको खड्का समूहको आरोप छ। १३ औं महाधिवेशनसम्म थानी समूहलाई साथ दिँदै आएका पश्चिमका कार्यकर्ता आफ्नो समूहमा आइसकेको खड्का समूह बताउँछ। सुर्खेतका पूर्व, पश्चिम र वीरेन्द्रनगरका नेता तथा कार्यकर्तालाई सम्मानजनक स्थान दिएका कारण आफ्नो जित आफ्नो पक्षमा पर्ने खड्का समूहको दाबी छ। सुर्खेतमा कांग्रेसले ११ हजार ८६० जना सक्रिय सदस्यका केन्द्रमा सिफारिस गरेको छ। तर सक्रिय सदस्यको संख्या टुंगिन बाँकी छ। 

प्रकाशित: Jul 26, 2021| 23:32 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।