काठमाडौं- बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन बिहीबारदेखि काठमाडौंमा हुँदैछ।
सम्मेलनमा सहभागी हुन ६ वटा सदस्य राष्ट्रका पाहुना नेपाल आउने क्रम जारी छ। सन् १९९७ मा स्थापना भएको यो क्षेत्रीय संगठनमा नेपालसहित भारत, भुटान, श्रीलंका, बंगलादेश, म्यानमार र थाइल्यान्ड सदस्य छन्।
बिमस्टेकका मुख्य एजेन्डाबिमस्टेक सम्मेलनलाई प्रभावकारी बनाउन सदस्य राष्ट्रबीचको साझेदारी बढाउन बढी केन्द्रित हुने एजेन्डा तय गरिएको छ। सम्मेलनका क्रममा बिमस्टेक राष्ट्रबीच स्थल, जल र हवाई 'कनेक्टिभिटी'का लागि गुरुयोजना बनाउने, आतकंवादविरुद्ध साझा रणनीति बनार्इ अगाडि बढ्ने, संयुक्त लगानी कोषको स्थापना गर्ने, भन्सारलाई व्यवस्थित बनाउँदै सहकार्य बढाउने तथा भूपरिबेष्ठित राष्ट्रलाई समुद्र सतहसँग जोड्न परिवहन सम्झौता गर्ने मुख्य एजेन्डा रहेको परराष्ट्र मन्त्रालयको दाबी छ।
नेपालमा पहिलो पटक हुन लागेको सम्मेलनमा दक्षिण एसिया र दक्षिण पूर्वी एसियालाई जोड्न व्यापार, ऊर्जा, यातायातलगायत विषयमा क्षेत्रीय सम्झौता र प्रतिबद्धता जाहेर गर्ने, कनेक्टिभिटी, व्यापार, पर्यटन, ऊर्जा र कृषिलाई नेपालले विशेष प्राथमिकताका साथ उठाउनेलगायत विषयमा बुधबार बसेको मन्त्रीस्तरीय बैठकमा पनि छलफल भएको छ। बैठकले बिमस्टेक ऊर्जा ग्रिड निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने विषय अनुमोदन भएको छ।
सम्मेलनको कार्यतालिकाबिमस्टेक सम्मेलन बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै शुरु हुँदैछ। परराष्ट्र मन्त्रालयले तय गरेको कार्यतालिकाअनुसार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले २२ मिनट सम्मेलनमा सम्बोधन गर्नेछन्।
त्यसपछि सदस्य राष्ट्रका राष्ट्र र सरकार प्रमुखलाई १५/१५ मिनट सम्बोधन गर्न समय दिइनेछ। सदस्य राष्ट्रका प्रमुखले वर्णानुक्रमअनुसार सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएकोछ।
सम्मेलन उद्घाटन सत्र साँझ पौने ६ बजे सम्पन्न हुनेछ। त्यसपछि सदस्य राष्ट्रका पाहुनाहरू प्रधानमन्त्रीले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन्। प्रधानमन्त्रीले सोल्टी होटेलको पुलसाइडमा रात्रिभोज दिने कार्यक्रम तय भएको छ।
सम्मेलनअन्तर्गत् शुक्रबार बिहान ११ बजेदेखि दोस्रो सत्रको छलफल शुरु हुनेछ।
यो पनि पढ्नुहोस्, बिमस्टेक महिला सांसदको विशेष फोरम स्थापना गर्न मोदीको प्रस्ताव