महेन्द्रनगर–सत्तारुढ दल नेकपा नेता भीम रावलले निर्मला पन्त हत्या प्रकरण बारे जारी आन्दोलनका बारेमा दिएको अभिव्यक्तिप्रति चर्को बिरोध भइरहेको छ ।
निर्मला हत्या काण्डमा वास्तविक हत्यारालाई जोगाउन खोजेर प्रहरीले मानसिक सन्तुलन ठिक नभएको मानिसलाई दोषि देखाएपछि चर्केको आन्दोलनप्रति लक्ष्ति गर्दै नेता रावलले कांग्रेसले हिंसा भड्काएको अभिव्यक्ति दिएका छन् । उनको अभिव्यक्तिको सामाजिक संजालमा चर्को बिरोध भइरहेको छ । नेता रावलले शुक्रबार बिहान एकटा एफएम रेडियोसँगको कुराकानीमा कांग्रेसका स्थानीय नेता कार्यकर्ताले अनुसन्धानमा असहयोग गरेको आरोप लगाएका थिए ।
काँग्रेसका केहि नेताहरु अराजकता फैलाउन लागेको उनको आरोप थियो । रावललको अभिव्यक्तिको बिरोध गर्दै कतै घट्नाको सत्यतथ्यता लुकाउन उनकै संलग्नतासमेत रहेको छ कि ? भन्ने आशंका सामाजिक संजालमा धेरैले उव्जाएका छन् । पत्रकार जी भट्ट आफ्नो फेसबुकमा लेख्छन् ‘स्व. निर्मला पन्त हत्या घटनाका विषयमा काठमाडौं पुगेर गृहमन्त्री र राजनीतिक नेतृत्वलाई भेट्ने नेताहरूले हत्यारालाई बचाउन भूमिका खेलिरहेको भीम रावलको अभिव्यक्तिले प्रष्ट पारिसकेको छ ।’ साथै उनले थप लेखेका छन् ‘महेन्द्रनगरको जनआक्रोश र वास्तविकतालाई लुकाएर कांग्रेसले आन्दोलन गरेको र भड्काएको भनेर काठमाडौंलाई बताउँदा रहेछन् जनविरोधीहरू । दुई तिहाईको सरकार त पूरै अपराधी बचाउन पो लागेको हो कि जस्तो देखियो ।’
बालिका बलात्कृत भई हत्या भएको घट्नामा शान्तिपूर्ण आन्दोलनमार्फत न्याय माग्दा प्रहरीले गोली हान्ने सम्मको काम गर्दा केहि नबोल्ने भीम रावलले उल्टै काँग्रेसले हिंसा भड्कायो भन्ने जवाफ दिनु भनेको घटिया काम भएको धेरैले फेसबुकामा लेखेका छन् । रावलका बारेमा निकै तल्लोस्तरको गालीसमेत दिएर धेरैले सामाजिक संजालमा उनको अभिव्यक्तिप्रति आक्रोस पोखेका छन् ।
आन्दोलनमा एमालेकै थुप्रै नेता कार्यकर्ता अग्रपंतिमा रहेको औँल्याउदै भीम रावललाई भ्रममा परेको आरोपसमेत लगाईएको छ । अन्याय अत्याचार र न्यायका पक्षमा बोल्ने पार्टी नै काँग्रेस भएकाले भीम रावलले आन्दोलनकारी सबै काँग्रेस देख्नु कुनै नौलो कुरा नभएको पनि सामाजिक संजालमा उल्लेख गरेका छन् । उनको अभिव्यक्ति विवादमा तानिएको छ ।
करिव एक महिना देखि आम मान्छे आन्दोलनमा होमिएको बेला रावलले सामाजिक मुद्दालाई राजनीतिक रंग दिन खोजेको आरोप लागेको छ । उनलाई निर्मला हत्या काण्डमा सत्यतथ्य छानविनका लागि लाग्नुको साटो मुद्दालाई राजनीतिकरण गर्न खोजेको आरोप धेरैको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४