धनगढी- १३ वर्षिय बालिका निर्मला पन्तका वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै शुरु भएको शान्तिपुर्ण आन्दोलना गोली प्रहार गरेको भन्दै एसपी डिल्ली बिष्टको पुतला बनार्इ बजार परिक्रमा गरिएको छ।
प्रहरीले आन्दोलनकारीमाथि गोली हानी ४ जना घाइते बनाएको भन्दै आक्रोशित भिड जिल्ला प्रहरी कार्यलयतिर जाँदै गर्दा प्रहरीले रोकेको छ। यसरी रोकेपछि प्रदर्शनकारीहरु निकै आक्रोशित बनेका छन्। बिष्टको पुतला बोकेर भासी चोकबाट सुरु भएको जुलुस बजार परिक्रमा गरिरहेको हो।
थप अप्रिय घट्ना हुननदिन विवादित प्रहरी उपरीक्षक विष्टलाई तत्काल काठमान्डौं झिकाउनु पर्ने सबैले माग गरेका छन्। सामाजिक सञ्जालमा पनि एसपी विष्टको चर्को आलोचना भइरहेको छ।
यसैबीच गोली लागि घाइते चारै जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको तर त्यहाँ पनि उपचार सम्भन नहुने भएपछि कोहलपुर लगिएको महाकाली अंचल अस्पतालले जानकारी दिएको छ। आन्दोलनकारीको नेतृत्व गरिरहेका नेविसंघ कंचनपुरका सह अध्यक्ष केशव जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
पानी परेकाले बिष्टको पुतला परिक्रमा गराउने प्रदर्शनकारीहरु तितरवितर भएका छन्। अहिले जिल्ला सुरक्षा समितिको बैठक चलिरहेको छ। कर्फ्यू लाग्न सक्ने सम्भावना रहेको बुझिएको छ।
यसअघि प्रहरीले बलात्कारपछि हत्यामा संलग्न भएको भन्दै सोही ठाउँका दिलिप सिंह विष्टलार्इ पक्राउ गरेको थियो। मानसिक सन्तुलन बिग्रिएका विष्टलार्इ पक्राउ गरी प्रहरीले अपराधीलार्इ जोगाउन खोजेको भन्दै स्थानीयहरु आन्दोलित बनेका थिए। प्रहरीले अहिले पनि हवार्इ फायर गरिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४