शुक्रबार, वैशाख ७, २०८१

कर्णाली राजमार्ग : मृत्यु कि जीवन मार्ग ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत- लोक गायक मिलन लामाको एउटा गीत एक समयमा निकै चर्चित थियो । 

कर्णालीमा बाटो खुल्दा, भुईंमै खुट्टा छैन
मायालुलाई भेट्न जाँदा, कुनै चिन्ता भैन
झल्को लाली ओठको
बाटो खुल्यो मोटर चल्यो जुम्ला कालिकोटको


कर्णालीमा पहिलो पटक गाडी पुगेका बेला गायक लामाको यो गीत जनजिब्रोमा झुण्डिएको थियो । त्यतिबेला लोकगीतका पारखीभन्दा बढी कर्णालीका बासिन्दा खुशी थिए । विकट पहाडी भूगोलमा आँगनसम्मै गाडी पुग्नु कम्ति ठूलो कुरा थिएन । 

२०६३ सालपछि शान्ति प्रक्रिया शुरु भएसँगै कर्णाली राजमार्गको ट्रयाक खुल्यो । एकातिर १० वर्षे सशस्त्र संघर्षको अन्त्य, अर्काेतिर घरआँगनमै गाडी । त्यसभन्दा खुशीको क्षण अर्काे थिएन कर्णालीवासीका लागि ।

तर, उनीहरूको खुशी लामो समय टिकेन । नागरिकको आशाविपरित दुर्घटनामा ज्यान गुमाउनेहरूको संख्यात्मक ग्राफ उकालो लाग्यो । सयौंको मृत्यु, हजारौं घाइते र अंगभग भए । ट्रयाक खुलेको वर्षदिन नबित्दै कर्णाली राजमार्गले नाम पायो, मृत्यु मार्ग ।

मुलुककै पिछडिएको क्षेत्रको आर्थिक समृद्धिसँग जोडिएको यो राजमार्ग अन्ततः कर्णालीवासीका लागि सधैं पीडाको विषय बन्यो । एक दशक बितिसक्दा पनि सडक स्तरोन्नती हुन सकेको छैन । साँघुरो बाटो त्यसमाथि वर्षायाममा खस्ने पहिरोले जोखिम मोलेर यात्रा गर्न बाध्य छन् कर्णालीवासी । 

दर्जनभन्दा बढी खोलामा पुल बन्न सकेका छैनन् । वर्षाको बाढी उर्लिएको समयमा खोला किनारमा अलपत्र पर्नुको विकल्प हुँदैन । सुर्खेतदेखि जुम्लासम्म एक दिनको बाटो हो । तर, वर्षायाममा त्यो एक सातामा पनि पार गर्न मुस्किल पर्छ ।
 

साँघुरो सडक त्यसमाथि वर्षायाममा खस्ने पहिरो । जीवनकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् कर्णालीवासी ।


कर्णालीको यात्रा, भगवान् भरोसा

कर्णाली राजमार्गको यात्रा सबैका लागि भगवान् भरोसाजस्तै भएको छ । वर्षामा दैनिक खस्ने पहिरो र ढुंगाका कारण जहाँसुकै दुर्घटनामा पर्ने जोखिम हुन्छ । साँघुरो र जीर्ण त्यसमाथि एकर्फी गाडी गुड्न पनि मुस्किल पर्ने सडक । 

२ भदौमा रारा पुगेर फर्किएका राजेश कुमाल भन्छन्, 'कर्णालीको यात्रा साँच्चै भगवान् भरोसा नै हो । छेउतिर हे¥यो कर्णाली नदी, माथिबाट खस्ने पहिरोले कतिबेला मरिन्छजस्तो लाग्ने ।' 

उनीसँगै एक वृत्तचित्र निर्माण गर्न रारा पुगेका लक्ष्मण सुनारले तल्लो डुंगेश्वर कटेपछि मात्रै शान्तिको सास फेरे । 'बाँच्ने मर्ने ठेगानै थिएन, बालबाल बचियो,' उनी भन्छन् । 

राजमार्गमा आवश्यक मर्मतसम्भार नहुँदा गाडीले यात्रु बोक्ने होइन, यात्रुले गाडी धकेल्दै गन्तव्यसम्म पु¥याउने गरेका छन् । राजमार्गमा जबरजस्ती सवारी साधन सञ्चालन गरिएको छ । 

विकट भूगोल र बजेट अभाव यो राजमार्गका मुख्य समस्या रहेको सरोकारवालाहरूको भनाइ छ । सुर्खेतस्थित डिभिजन सडकका इन्जिनियर धीरज ढकालका अनुसार भूबनोटकै कारण कर्णाली राजमार्गमा बर्सेनि पहिरो खस्ने गरेको हो । 'राजमार्गको भूबनोट नै पहिरो आउने खालको छ,' ढकाल भन्छन्, 'कमजोर चट्टान र भिरालो जमिनकै कारण राजमार्गमा सधैं पहिरो खस्छ ।'

पहिरो रोकथामका लागि सडकको स्तरोन्नती गर्नुपर्ने उनी बताउँछन् । उनका अनुसार भिरालो र कमजोर भूभागमा सिमेन्टेड आडहरू राख्न सकिन्छ तर त्यसका लागि पर्याप्त बजेट आवश्यक हुन्छ ।
 

'सयौं ठाउँमा घण्टैपिच्छे पहिरो झर्छ । यात्रु बाटोमा अलपत्र नपरून् भन्ने हाम्रो प्रयास हो ।'


स्थानीय सरकारका मनपरी काम

कर्णाली राजमार्गमा सहज यात्राका लागि स्थानीय सरकार नै बाधक बनेका छन् । राजमार्गसँग सडक जोड्नका लागि स्थानीय तहहरूले मनपरी ढंगले ट्रयाक खोलेका कारण पहिरोको जोखिम निम्तिएको जानकारहरूको भनाइ छ ।

दैलेख र कालिकोटका स्थानीय सरकारहरूले खनेको सडककै कारण राजमार्गका एक दर्जनभन्दा बढी ठाउँमै पहिरो आएको सडक इन्जिनियरहरू बताउँछन् । 'राजमार्गमा सडक जोड्न हामीसँग अनुमति लिनुपर्छ,' डिभिजन सडक सुर्खेतका सूचना अधिकारी दीपेन्द्र बिष्ट भन्छन्, 'अनुमति त टाढाको कुरा समन्वय गर्नाेस् भन्दा पनि वास्ता गर्दैनन् ।' 

दैलेखको चामुण्डा विन्द्रसैनी नगरपालिकालाई आधिकारिक रूपमै पत्राचार गर्दा पनि वास्ता नगरेको उनी बताउँछन् । बिष्टका अनुसार कर्णाली राजमार्गमा सडक जोड्न कुनै पनि स्थानीय तहले समन्वय गरेका छैनन् ।

यो राजमार्ग राजनीतिक दल र तिनका नेताहरूका गतिलो चुनावी मसला बन्दै आएको छ । राजमार्गको स्तरोन्नतीलाई नेताहरूले चुनावमा प्रमुख एजेन्डा बनाउँदै आएका छन् । तर, चुनाव सकिएपछि राजमार्गको स्तरोन्नती र बजेट प्राथमिकतामा कहिल्यै पर्दैन ।

खासगरी, दैलेखको दही खोला र कालिकोटको गगने खोला यो राजमार्गका मुख्य महासंकट हुन् । पानी पर्नासाथ दुवै ठाउँमा यातायात अवरुद्ध हुने गर्छ । 

कालेखोला, सेरीघाट, सुनारखोला, मान्म ताडीको डाँडा, सिम्लेगाड, पिली, खल्लागाड, राचुलीलगायत दर्जनभन्दा बढी ठाउँमा पहिरोले सास्ती दिँदै आएको छ । खोलानालामा पुल नबन्दा यात्रुले ज्यानको बाजी थापेर खोला पार गर्नुपर्ने बाध्यता छ ।

मर्मतमै बर्सेनि करोडौं खर्च

राजमार्गमा आउने बाढी र पहिरो पन्छाउन मात्रै बर्सेनि करौडौं खर्च हुने गरेको छ । दुई सय ३२ किलोमिटर सुर्खेत-जुम्ला सडकमा पहिरो पन्छाउने र ममर्त सुधारमा मात्रै ठूलो परिमाणमा लगानी भइसकेको छ ।

सडक डिभिजन सुर्खेतका इन्जिनियर वीरेन्द्र रावलका अनुसार सुर्खेतदेखि दहीखोलासम्म गत वर्ष साढे चार करोड खर्च भएको छ । त्यो पनि पहिरो पन्छाउन मात्र भएको खर्च हो । त्यसमा आवश्यक इन्धनका लागि मात्र आठ लाख रुपैयाँ खर्च भएको थियो ।

सडक कर्मचारीहरू जेठदेखि असोजसम्म २४ घण्टे डिउटीमा बस्छन् । छिन-छिनमा खस्ने पहिरो र ढुंगा पन्छाउने ड्युटी हो त्यो । सडक डिभिजनका सूचना अधिकारी बिष्ट भन्छन्, 'सयौं ठाउँमा घण्टैपिच्छे पहिरो झर्छ । यात्रु बाटोमा अलपत्र नपरून् भन्ने हाम्रो प्रयास हो ।'

उनका अनुसार पहिरो पन्छाउन दुई वटा डोजर, स्काभेटर र लोडर तयारी अवस्थामा राखिँदै आएको छ । सुर्खेतले हेर्ने सडक खण्डमा दैलेखको तल्लो डुंगेश्वर र राकममा सबैभन्दा बढी पहिरो जान्छ ।

यस्तै, दहीखोलादेखि जुम्लासम्मको एक सय किमि सडक खण्डमा पनि डिभिजन सडक जुम्लाले डोजर र स्काभेटर तयारी अवस्थामा राख्दै आएको छ । डिभिजन सडक जुम्लाका निमित्त प्रमुख श्रवणकुमार महताराका अनुसार जेठ पहिलो सातादेखि ६ जना कर्मचारी सडकमै रात बिताउँछन् । जुम्ला डिभिजनले हेर्ने सडक खण्डमा गगनेखोला र मान्मानजिक सबैभन्दा बढी समस्या छ ।

१२ पुल एउटैको कब्जामा

कर्णाली राजमार्गमा यात्रुले दुःख पाउनुको अर्काे  कारण समयमा पुल बन्न नसक्नु पनि हो । राजमार्गमा २१ वटा ठाउँमा पुल निर्माण शुरु भए पनि कुनै सम्पन्न भएका छैनन् । तीमध्ये आठ वटा पुलको निर्माण अवधि समाप्त भइसकेको छ ।

खल्लागाड खोलाको पुल २७ असोज ०७० मै निर्माण सकिनुपर्ने हो । तर, म्याद सकिएको पाँच वर्ष बितिसक्दा पनि पुल बनेको छैन । घट्टेखोला पुलको पनि म्याद सकिएको पाँच वर्ष बितिसकेको छ । दुवैको निर्माण अन्तिम चरणमा छ । तर, सकिने सुरसार छैन । 

सडक डिभिजन जुम्लाका निमित्त प्रमुख महताराका अनुसार भौगोलिक विकटता र वर्षामा आउने भेलका कारण तोकिएको समयमा पुल निर्माण नभएको हो । दहीखोलादेखि जुम्लासम्मको एक सय किमिमा पाँच वटा पुलको निर्माण अन्तिम चरणमा रहेको महताराले जानकारी दिए । 

सुर्खेतदेखि कालिकोटको दहीखोलासम्म १६ वटा पुल निर्माणाधीन छन् । तीमध्ये चार वटा पुलको निर्माण अन्तिम चरणमा छ । 

सुर्खेत-जुम्ला सडकका १२ वटा पुलको निर्माण एउटै कम्पनीको जिम्मामा छ । 'हामीले कामको अनुगमन र समन्वय मात्रै गर्छाैं,' सडक डिभिजन सुर्खेतका इन्जिनियर देवेन्द्र भट्टराई भन्छन्, '१२ वटा पुलको निर्माण सम्झौता माथिबाटै भएर आएको हो ।'

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।