धनगढी- प्रदेश-७ को स्थायी राजधानी र नामांकनका लागि गठित विशेष सुझाव समितिले २२ दिनपछि सभामुखलाई प्रतिवेदन बुझाएको छ।
विशेष सुझाव समितिले मंगलबार सभामुख अर्जुनबहादुर थापालाई स्थायी राजधानी र नामका विषयमा सुझावसहितको प्रतिवेदन पेश गरेको हो। समितिका संयोजक तथा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले सबैको अपनत्व हुने गरी विशेष सुझावसहितको प्रतिवेदन पेश गरिएको बताए। प्रतिवेदन बुझ्दै सभामुख थापाले छलफलका लागि छिट्टै प्रदेशसभा बैठकमा पेश गरी राजधानी र नामांकनको विषय टुंग्याइने बताए।
समितिका एक सदस्यले तराई, पहाड र हिमाल सबैलाई पायक पर्ने गरी प्रदेश राजधानी सिफारिस गरिएको बताए। नामाकरण पनि सबैलाई स्वीकार्य हुने गरी प्रस्ताव गरेको उनले जानकारी दिए। प्रदेशको राजधानी कैलालीको अत्तरियामा तोकिने धेरैको आशंका छ।
समितिले प्रस्ताव गरेको नाम र स्थानको बारेमा भने जानकारी दिइएको छैन। सुझाव संकलनका क्रममा डोटीबाहेकका अधिकांशले धनगढी क्षेत्रलाई राजधानी राख्न सुझाव दिएको बताइएको छ भने सेतीमा राजधानी हुने र मुख्यमन्त्री पनि सेतीकै भएकाले नाम महाकाली राख्ने सुझाव पनि दिइएको छ।
स्रोतका अनुसार अधिकांशले नाममा खप्तड राख्न सुझाव दिएका छन् भने पश्चिम प्रदेश र सुन्दरपश्चिम प्रदेश पनि राख्न कतिपयले सुझाव दिएका छन्। विशेष सुझाव समितिले प्रतिवेदन बुझाउन तेस्रो पटक थप गरिएको समयमा मात्र सभामुखलाई प्रतिवेदन बुझाएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४