जनकपुरधाम- प्राचिन मिथिलाको राजधानी जनकपुर अहिले झुलनोत्सवको रमाइलोमा झुलेको छ। जनकपुरमात्र होइन सम्पूर्ण मिथिलाञ्चल क्षेत्रका मठ मन्दिरहरुमा झुलनोत्सवले भक्तिभावको माहौल बढाएको छ, श्रद्धालुहरुमा।
हरेक साँझ मठ मन्दिरहरुमा बज्ने भक्तिभावले भरिएका गीत संगीतले मन्त्र मुग्ध बनाउने गरेको छ, भक्तजनहरुलाई। र, यसै कारण होला साँझको समय श्रद्धालुहरुले भरिभराउ हुने गरेको छ। झुलनोत्सवलाई मैथिली संस्कृतिको मौलिक सम्पत्ति समेत मान्ने गरिएको छ। मिथिलावासीले यस महोत्सवलाई गौरवका साथ मनाउने गरेका छन्।
भक्तिभावले भरिपूर्ण लोकोत्सव रहेकोले भक्तजनहरु रातभर किर्तन र नाचगान गरेर रमाउने गरेका हुन्छन्। झुलनोत्सवमा गाइने लोकगीतको ललित स्वरलहरीले सम्पूर्ण वातावरणलाई तरंगित बनाएको हुन्छ।
झुलनोत्सव पर्व मिथिलाञ्चल क्षेत्रका भारतको विहार राज्यको तिरहुत, जनकपुर, मटिहानीको लक्ष्मीनारायण मठलगायत धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी जिल्लाको विभिन्न मठ मन्दिरहरुमा दुई सप्ताह धुमधामका साथ मनाइने गरिन्छ।
मिथिलाको सांस्कृतिक पर्वको रुपमा चिनिने झुलनोत्सव हरेक वर्ष साउन तृतियादेखि पूर्णिमासम्म मनाइने गरिन्छ। मठ मन्दिरहरुमा सिंहासन निर्माण गरी भगवान रामसीताको प्रतिमा राखेर झुलाइने गरिएकोले झुलनोत्सव भन्ने गरिएको हो।
जनकपुरसहित यस क्षेत्रका मठ मन्दिरमा झुलाको लागि सिंहासन निर्माण गरी सजाइएको गद्दीमा भगवान रामसीताके मूर्ति झुलाउने परम्परा रहेको जानकी मन्दिरका छोटे महन्त रामरोशन दासले बताए। झुलनोत्सवको शुरुवात सन्त परम्पराको प्रारम्भदेखि नै भएको उनको भनाइ छ। दासले त्रेतायुगमा भगवान राम र सीता सिंहासनमा बसेर झुलेको जनविश्वास अनुसार झुलनोत्सव मनाइने गरिएको जानकारी दिए।
जनश्रुति अनुसार सीताको माइतीमा दाइजोको रुपमा प्राप्त मणिहरु महलमा राख्ने ठाउँ नहुँदा बाहिर राख्दा पहाड नै निर्माण भएको थियो। त्यसैको स्मृति स्वरुप झुला उत्सवको प्रारम्भमा जनकपुरस्थित रंगभूमि मैदानमा मणिपर्वत मनाउने परम्परा अझै कायम छ। मणिपर्वत झुला सकिए साँझबाट झुलनोत्सव शुरु हुने गरेको जानकी मन्दिरका छोटे महन्त दासले बताए।
यता, संस्कृतिविद् प्राध्यापक डा राजेन्द्र विमलले पौराणिक कालमा सन्तहरुले खुल्ला चौर वा रुखको छाहरीमा बास बसी झोलामा ल्याएको शालीग्रामलाई आसनमा राखी झुलाउने गरेको जनविश्वासको आधारमा हालसम्म झुलनोत्सव मनाउने गरिएको बताउँछन्। झुलनोत्सव मिथिलाञ्चल क्षेत्रको प्रसिद्ध लोक संस्कृति तथा धर्मसँग जोडिएको पर्व भएको उनको भनाइ छ।
केहि वर्ष अघिसम्म झुलन महोत्सवमा सहभागी हुन भारत तथा नेपालका विभिन्न जिल्लाहरुबाट श्रद्धालुहरु जनकपुर पुग्ने गरेपनि अहिले यो संख्यामा कमी आएको छ । बढ्दो आधुनिकता र मानिसहरुको व्यस्तताका कारण झुलनोत्सवमा सहभागी हुन आउनेको संख्या घट्दै गएको प्राध्यापक विमलले बताए । यद्यपी लोक आस्थासँग जुडेको पर्व रहेकोले यसलाई जोगाउनतर्फ सबैको ध्यान जानुपर्नेमा उनको जोड छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४