काठमाडौं- नेपालको पुरानो ग्यास कम्पनी नेपाल ग्यास उद्योगले नयाँ प्रविधिको कम्पोजिट सिलिण्डर बजारमा ल्याएको छ। कम्पनीले राजधानीमा एक कार्यक्रमको आयोजना गरी उक्त सिलिण्डर सार्वजनिक गरेको हो।
कार्यक्रमको उद्घाटन वाणिज्य तथा आपूर्तीमन्त्री मात्रिकाप्रसाद यादवले गरेका थिए। कम्पनीको अनुसार नयाँ कम्पोजिट सिलिण्डरको विशेषतामा पूर्ण-सुरक्षित र विस्फोटन नहुने रहेको छ । सिलिण्डरलाई आगोले विष्फोट गर्न सक्दैन। हरेक कम्पोजिट सिलिण्डरलाई प्रयोगशालामा परीक्षण गरिएको हुन्छ।
सिलिण्डर पारदर्शी भएकोले उपभोक्ताहरुले सिलिण्डरमा ग्यासको लेभल सजिलै जाच्न सक्दछन्। अल्ट्राभ्वाइलेट किरणबाट सुरक्षित र इकोफ्रेण्डली मानिएको कम्पोजिट सिलिण्डर सबै मौसममा उपयुक्त हुने कम्पनीको दावी छ।
सिलिण्डर फाइबरले बनेको हुनाले बोक्दा हलुका हुन्छ। यसमा ग्याँस चुहावट पत्ता लगाउने, भल्भ निभाउने र सुरक्षित राख्ने प्रविधि जडित छ । हाल विक्री वितरणका लागि कम्पोजिट सिलिण्डर १४.२ केजी र ५ केजीमा उपलब्ध छन्।
नेपाल ग्यास उद्योग विस २०२६ सालमा स्थापना भएमा गरिएको हो। नेपाल ग्यास उद्योगले प्रारम्भिक अवस्था देखि नै सुरक्षित सिलिण्डर उपलब्ध गराउँदै आएको जानकारी दिएको छ।
कार्यक्रममा उद्योगका कार्यकारी निर्देशक-गोकुल भण्डारीले आफ्नो संस्थाले पूर्ण गुण्स्तरीय सिलिण्डर उपलब्ध गराउँदै आएको जनाउदै कम्पोजिट सिलिण्डर अझ भरपर्दो हुने बताएका छन्।
सो समारोहमा, मेरो किरानालाई नेपाल ग्यास कम्पोजिट सिलिण्डरको काठमाडौँ उपत्यका भित्र अनलाइन डेलिभरी पार्टनरको रुपमा पनि घोषणा गरिएको कम्पनीको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४