भैरहवा-अर्कैको घरमा कोठा भाडा लिएर बसेकी ४३ वर्षीया इन्द्रमाया भुजेललाई यतिबेला मर्नु न बाँच्नु भएको छ। आर्थिक अभावका कारण क्यान्सरको औषधी गराउन नसकेर थलिएकी उनलाई रोगको उपचारभन्दा नौ महिनादेखि घरबेटीलाई भाडा तिर्न नसक्दाको पीडाले सताएको छ ।
पति दीर्घबहादुरसँगै सिद्धार्थनगर-८ बसडिलवामा बस्दै आएकी उनका चार छोरी छन् । पत्नी विरामी भएपछि सानोतिनो कुकको पेशा गर्ने उनका पति पनि जागिर छाडेर हेरविचारमा लागेका छन् । सोही कारण उनीहरूलाई साँझबिहान हातमुख जोर्नसमेत धौ धौ भएको छ ।
एक वर्षदेखि थला परेकी उनी मर्नु न बाँच्नुको अवस्थामा छिन् । उनलाई स्तन क्यान्सर भएको चिकित्सकले बताएका छन् । पैसा नहुँदा उपचार गराउन नगएको दीर्घबहादुरले बताए । उनको दायाँ स्तनमा गिर्खा देखिएपछि माइतीले पोखरास्थित मणिपाल अस्पताल पुर्याए । शुरुमा रोग पत्ता लागेन । उनलाई रोगले झनै पीडित बनाउँदै गयो, शरिर कमजोर हुँदै गयो ।
थप जाँच गराउँदा दायाँ स्तनमा पलाएको गिर्खा स्तन क्यान्सर भएको ठहरियो । अलि-अलि भएको पैसा त्यतिबेलै सकियो । दीर्घबहादुरले भने, ‘रोग पत्ता लाग्यो, थप उपचार गराउने पैसा छैन ।’ इन्द्रमाया राम्रोसँग बोल्न पनि सक्दिनन् । हेर्न मान्छेहरू देख्दा आँखाभरि आँशु हुन्छ ।
शरीर दुखेर कराउँछिन्, रुन्छिन् । खानेकुरा चपाउन सक्दिनन् किनकि उनको शरीरमा ताकत नै छैन । पानी र जाउलो खाएर बाँचेकी छन् ।
पाँच जनाको परिवार एउटै कोठामा कोचिएर बसेको छ । बिहे भएकी एक छोरीबाहेक उनीहरूलाई हेर्ने कोही छैन । चल–अचल सम्पतिको नाममा त्यही कोठामा रहेका भाँडाकुँडा र कपडाबाहेक केही छैनन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४