कञ्चनपुर- कञ्चनपुरका तीन वटा नगरपालिका क्षेत्रबाट आव ०७४-७५ को असार मसान्तसम्म ७८ जना महिला वेपत्ता भएका छन्।
बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका विभिन्न स्थानबाट महिला हराएको भन्दै खोजतलासका लागि निवेदन परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।
हराएका ७८ महिलामध्ये २४ जना महिलामात्रै फेला परेका छन्। इप्रका झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने, “अझै ५४ जना महिला फेला पर्न सकेका छैनन्।” सबैभन्दा बढी वैदेशिक रोजगारमा गएका व्यक्तिका श्रीमती हराएका छन्।
अर्कैसँग भागी विवाह गर्ने तथा रोजगारीको प्रलोभनमा परेर हराउने गरेको पाइएको छ। हराएका महिला बेचबिखनमा परेको भने पाइएको छैन प्रहरी निरीक्षक अवस्थीले भने, 'बीस वर्षदेखि ४० वर्ष उमेरका महिला बढी हराएका छन्।' हराउनेमा ५० वर्षसम्मका महिला पनि रहेको उनको भनाइ छ।
सोही अवधिमा तीनवटै नगरपालिका क्षेत्रका ११ जना बालबालिका हराएकामा जसमध्ये नौ जना फेला परेका छन्। दुई जना अझै फेला परेका छैनन्।
हराउने बालबालिका १४ वर्षदेखि २० वर्ष उमेर समूहका बढी रहेका छन्। हराएका महिला र बालबालिका परिवारको सम्पर्कमा पुगे पनि प्रहरीलाई खबर नगर्दा सङ्ख्य धेरै देखिएको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४