बिहीबार, वैशाख ६, २०८१

'बुर्का' भन्दा धेरैमाथि उठेकी मोहना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- संवैधानिक परिषदले राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरू सिफारिस गर्‍यो । संसदीय सुनुवाई पनि सकियो । तर, सिफारिस केही समय रोकियो । त्यसको कारण थियो, आयोग समावेशी नभएको संसदीय समितिको प्रश्न । संवैधानिक परिषदले जवाफ पठायो- ‘आयोग एकदमै समावेशी छ । यसमा मोहना अन्सारी हुनुहन्छ । उहाँ महिला, मुस्लिम समुदायको र अल्पसंख्यक पनि हुनुहुन्छ ।’

संसदीय समितिमा अन्सारीविरुद्ध संसदीय सुनुवाइमा उजुरी परेका थिएनन् । र, उनी आयोगको सदस्य छनोट भइन् ।

उनी आफ्नो रोल मोडेल ठान्छिन्, शैलजा आचार्य र डा. शान्ता थपलियालाई । कुनै समय उनीहरू सामुन्ने उभिएर भाषण दिन पाएकी थिइन् । करिब आठ मिनटको त्यो समय उनलाई निकै महत्वपूर्ण र विशेष लाग्छ रे, अझै पनि । त्यतिबेलाका तस्बिर र आफूले गरेको नोट उनी अझै खोजिरहेकी छन्, भेटेकी छैनन् ।

बाल्यकालकी मोहना निकै चुलबुले, चञ्चले र चकचके थिइन् रे । बाल्यकालको सम्झना गर्दा उनको मुहारमा चमक र मुस्कान फैलिएको थियो ।

वर्षायाममा माछा मार्न जानु उनको सबैभन्दा ठूलो सोख । गाली खाए पनि त्यो इच्छाले उनलाई बल्छी लिई पोखरीतिर तानिहाल्थ्यो । पिताको आज्ञा अवज्ञा गर्दै उनी पोखरीको डिलमा पुगिछाड्थिन् । गर्मीका बेला उनका पिताले स्कुलबाट फर्केपछि एक घण्टा सुत्ने नियम लगाएका थिए, घरमा । भाइ र उनी नटेरी पोखरीतिर दगुर्थे । कहिलेकाहीं त खाटमा डोरीले बाँधेर राख्थे रे । तर, डोरी छुटाएर भाग्न उनीहरू अभ्यस्त भइसकेका थिए ।

पिताले स्कुलबाट फर्केपछि एक घण्टा सुत्ने नियम लगाएका थिए, घरमा । गर्मीका बेला उनका भाइ र उनी नटेरी माछा मार्न पोखरीतिर दगुर्थे । कहिलेकाहीं खाटमा डोरीले बाँधेर राख्थे । तर, डोरी छुटाएर भाग्न उनीहरू अभ्यस्त थिए ।

हरेक गल्ती र समाजलाई अपाच्य हुने कामबारे बाबु-आमाले सम्झाउँथे । मानिसका अगाडि उनीहरूलाई गिज्याउँदैथे । बिहान चार बजे उठेर पढ्नुपथ्र्यो । खाजा र खाना खानुअघि हात खुट्टा नधोई बसे बाबुको थप्पड सहनुपथ्र्यो । साँच्चै घरमा कडा अनुशासन थियो । तर, त्यसमा मायाको सन्तुलन पनि थियो । ‘पिता निकै कडा स्वभावको हुनुहुन्थ्यो, हामीलाई भने निकै चकचक गर्नुपर्ने,’ उनी सम्झिन्छिन् ।
 
दुई भाइ, तीन दिदी-बहिनी र बाबु-आमासहितको परिवारमा आर्थिक समस्या उस्तै थियो । परिवारमा हरेक समस्या मिलेर सामना गर्ने बानी बसेको थियो । आपसी समझदारीको उदाहरण थियो, उनको परिवार । फर्निचर पसल आर्थिक उपार्जनको एक मात्र स्रोत थियो । घरका सबै मिलेर पसल राम्रोसँग चलाएका थिए ।

अनुशासित मिजाज

मानिसहरूसँग छिटो घुलमिल हुन सक्छिन्, मोहना । र, अनुशासित मिजाजकी छन् । बाल्यकालमा उपद्रो धेरै गरिन् रे । उनलाई बाइक सिक्न मन पथ्र्यो । बाबुको वर्कसपमा बाइक सिकिसकेपछि पहिलो पटक एक्लै चलाउँदै गेटसम्म पुगिन् । गेटमा एक जना उभिएका थिए । उनले ती व्यक्तिलाई बचाउन जानीजानी बाइक लडाइन् । ‘त्यो मेरो जीवनको शायद गम्भीर र स्टुपिड मिस्टेक थियो,’ उनी भन्छिन्, ‘अहिले पनि ती व्यक्तिसँग भेट हुँदा आफूलाई बचाएका धन्यवाद दिन्छन् ।’

विद्यालयमा केटाहरू सोझी केटी देख्यो कि जिस्क्याउने, बेन्चमा बस्न जाने गर्थे । त्यस्ता केटाहरूलाई बेस्मारी भकुर्थिन् उनी । 

समाजभन्दा पृथक मोहना

उनी आफैंले रोजेकी हुन्, जीवन साथी । जुन कुरा समाजलाई अपाच्य थियो, उनले त्यही गरिन् । विवाह र पढाइमा एक रोज्नुपर्ने थियो । उनले विवाह रोजिन् । उनका जीवन साथीले भने विवाहपछि पढाइ र सार्वजनिक जीवनका लागि भरमग्दुर साथ दिए ।

बाल्यकालमा केटाहरूको संगतमा गुच्चा र डण्डीबियो खेल्ने अनि साइकल कुदाउने गर्थिन् । बाबुलाई टोल छिमेककाले सुनाउँथे, ‘तिम्री छोरी आज रूख चढ्दै थिई, जामुन झार्दै थिई ।’ उनी भने त्यसको कुनै परवाह नगरी खोलामा नुहाउन जान्थिन्, त्यो पनि स्कुल डे«स नै नफेरी । 

उनी भन्छिन्, ‘म यस्तो समाजबाट आएकी हुँ, जहाँ महिलाको स्थान निकै संकुचित थियो । त्यहाँ केटीको सानो व्यवहारले पनि निकै फरक पथ्र्यो ।’



व्यक्तिगत र सार्वजनिक जीवनको फ्युजन

सार्वजनिक र व्यक्तिगत जीवन एकसाथ चलाउनु निकै ग्राहो कुरा हो । उनको समुदायका लागि त झनै ग्राहो थियो । विवाहपछि उनलाई निकै ग्राहो भयो । तर, श्रीमान्को सहयोगबाट उनी अगाडि बढिरहिन् । उनका अनुसार मुसलमान समुदायमा अहिलेजति पनि खुला हुन असामान्य कुरा थियो ।

विवाहअघि उनले स्नातक पढ्न बाँकी थियो । श्रीमान्को सहयोगका कारण उनले पढाइमा लाग्न पाइन् । ‘श्रीमान्, परिवार र साथीभाइको निरन्तर सहयोगको कारण आज यो स्थानमा छु,’ उनी भन्छिन् ।

बीच-बीचमा ‘बे्रक’ भए पनि मोहनामा पढाइप्रतिको लगाव कायमै रह्यो । त्यही लगावले पढाइका लागि ऊर्जा दिएको उनी बताउँछिन् । 

पृथ्वीनारायण शाहले भनेजस्तै नेपाल चार जात ३६ वर्णको फूलबारी हो । तर, यहाँ  गुलाफ र सूर्यमुखी फूल दुवैको विविधतालाई समान रूपमा लिने परिपाटी छैन । गुलाफ नै सबै रोजाइ हुन्छ । त्यसरी नै पिछडिएका र  त्यसमा पनि मुसलमान महिलामा नैराश्यता बढी झल्किन्छ । उनलाई भने सबै सीमा भत्काउने अनौठो ऊर्जा प्राप्त भएको छ ।

बेला-बेलामा उनलाई आफ्नै जातिप्रति पूर्वाग्रही भएको आरोप पनि नलाग्ने होइन । तर, उनलाई त्यस्तो पटक्कै लाग्दैन । आफूलाई आवाजविहीनहरूको आवाज ठान्छिन् । त्यसै पनि उनी आवाजविहीन समाजकी सदस्य हुन् ।

पत्रकारितादेखि परामर्शदातासम्म

उनले विभिन्न मुलुकको यात्रा गर्ने अवसर पाएकी छन् । पत्रकारिता उनको करिअरको शुरूवात थियो । स्थानीयदेखि राष्ट्रियस्तरका पत्रपत्रिकासम्ममा उनले काम गरेकी थिइन् । समाज सेवामा पनि उनको रुचि छ । साढे चार वर्ष वकालत पेशा अपनाइन् । साढे चार वर्ष जागिर पनि खाइन् । र, जनजातिसम्बन्धि अनुसन्धानका काममा पनि संलग्न भइन् ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) मा पनि काम गर्ने अवसर पाइन् । ‘म भाग्यमा भन्दा कर्ममा विश्वास राख्थें तर महिला आयोगबाट आएको अफर भाग्य पनि होजस्तो लाग्छ,’ उनी भन्छिन्, ‘किनकि, मलाई नीति निर्माणको तहमा पनि काम गर्छुजस्तो लागेको थिएन । सामान्य जागिर वा अनुसन्धानमा लाग्छु होला भन्ने लाग्थ्यो ।’
 

आफूलाई आवाजविहीनहरूको आवाज ठान्छिन् । त्यसै पनि उनी आवाजविहीन समाजकी सदस्य हुन् ।

महिला आयोगकी एक सदस्य संविधानसभा सदस्य बनेपछि पद खाली भएको थियो । जानु कि नजानु भन्ने द्विविधामा परिन्, मोहना । करिब दुई साता लगाएर महिला आयोगको सदस्य बन्ने निर्णय लिइन् । त्यसबाट उनको जीवनले अर्कै मोड लियो । र, उनी सञ्चारमाध्यममा छाइन् ।

महिला आयोगको कार्यकाल सकिँदै गर्दा पुनः जागिरको ‘अफर’ आयो । आइडिया इन्टरनेसनल नामको संस्थामा ‘सिनियर एडभाइजर’को पदमा नियुक्ति पाइन् ।

उक्त संस्थाले संसदीय नीति नियमबारे काम गथ्र्यो । त्यहाँ रहेर पनि उनले महिला तथा संविधान निर्माणको क्षेत्रमा अनुभव हासिल गरिन् । जागिरकै क्रममा राष्ट्रिय मानव अधिकार आयोगको सदस्य बन्ने ‘अफर’ पाइन् । एकै व्यक्तिले दुई वटा सार्वजनिक पद पाउन नहुने बताउँदै आलोचना पनि भयो । तर, उनी प्रतिस्पर्धाबाट आइन्, कसैले रोक्न सक्ने कुरा थिएन ।

अन्तर्राष्ट्रिय संस्थाहरूले व्यावसायिक मानिस खोज्छन् । स्पष्ट वक्ता र व्यावसायिक हुनु जरूरी छ, त्यसका लागि । व्यावसायिक क्षमताकै कारण उनले अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने मौका पाइन् ।

गणतन्त्रपछि मुसलमान समुदायले पनि आफ्ना चाडपर्वमा सार्वजनिक बिदा पाउन थाले । त्यो समावेशिताको उदाहरण भएको मोहना बताउँछिन् । ‘म खुशी छु, आफ्नो समुदायलाई चिनाउन पाएकी छु,’ उनी भन्छिन्, ‘तर, दुःख लाग्छ, मेरो समुदायबाट अपेक्षाकृत सहभागिता बढ्न सकेको छैन ।’

मुस्लिम महिला त्यो पनि अल्पसंख्यक । ‘म मोहना अन्सारी’ भन्न सक्ने पहिचान त्यसैले दिएको छ । उनी भन्छिन्, ‘यदि, म यो समुदाय नभएको भए मान्छेले चिन्दैनथे होला ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।