बिहीबार, वैशाख १३, २०८१

‘सुशीलाले अचानक मसँग विवाह प्रस्ताव राखिन्’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सुशीला कार्कीलाई चिन्दाखेरी म विराटनगरमा जनता प्राथमिक पाठशालाको प्रधानाध्यापक थिएँ। काठमाडौंमा मावलीमा बसेर पढेपछि पाँच कक्षामा भर्ना हुन त्यही स्कुलमा पुग्दा पहिलो पटक देखेको थिएँ। पछि जनता स्कुल प्राथमिक र माध्यमिक भनेर छुट्टियो। मोरङ कलेजमा पढ्दा पनि स्ववियु निर्वाचनमा प्रजातान्त्रिक पक्षको चुनावी अभियानमा उनी संलग्न थिइन्।

त्यसपछि म हवाई अपहरणमा संलग्न भई भारतमा भूमिगत बसें, जेल परेर मुद्दा खेप्दै थुप्रै वर्ष बिते। भारतीय जेलबाट जमानतमा छुटेर नेपाल फर्किंदा सुशीला वकालत पेशामा स्थापित भई व्यस्त थिइन्।

म मानवअधिकार संगठन, एमनेस्टी इन्टरनेसनलजस्ता संस्थामा सक्रिय भएँ। मेरै सक्रियतामा कृष्ण पहाडी, प्रदीप पोखरेल, शम्भु कार्की र सुशीलाहरू पनि संस्थामा संलग्न भए। यिनै संस्थाका कार्यक्रममा मेरो सुशीलासँग भेट भइरहन्थ्यो।

एक दिन अचानक सुशीलाले नै मसँग विवाहको प्रस्ताव राखिन्। त्यस दिन मैले केही जवाफ दिन सकिनँ। वैवाहिक जीवनमा बाँधिएर घरपरिवार चलाउने मेरो अवस्था थिएन। उनको प्रस्तावले म तरंगित भएँ। विवाहपछिको जीवन कस्तो होला, के गर्ने, के नगर्ने भन्ने कुरा मनमा खेलाउँदै एक साता बित्यो।

यस्तो कुरामा कसैसँग सल्लाह लिनु उचित पनि थिएन। त्यसैले उनीसँगै बसेर खुला विचार-विमर्श गर्ने निधो गरें। धरानस्थित उनको ल फर्म पुगेर छलफल गर्दा ज्यादै सरल रूपमा प्रस्तुत भइन्।

‘मैले सबै कुरा सोच-विचार गरेर प्रस्ताव राखेको हो। वकालतको आयबाट परिवार चलाउन सजिलै सम्भव छ। तपाईंको सादगीपूर्ण जीवन र स्वभाव मसँग मिल्छ। हामी मिलेपछि कसले के गर्ने, के भन्ने? म विवाह गरेर विलासी जीवनयापन गर्ने पक्षमा भएको भए उहिल्यै बिहे भइसक्ने थियो,’ उनले भनिन्।

खुला र हार्दिक छलफलपछि हामी विवाह गर्ने टुंगोमा पुग्यौं। १३ साउन ०४६ मा विराटनगरमा बिहे गर्ने निर्णय भयो। त्यसबेलाको विराटनगरको महेन्द्र चोकमा मेरो अनन्य मित्र टीकाप्रसाद उप्रेतीको एउटा रेस्टुराँ थियो। त्यसकै छतमा विवाह समारोह गर्ने कुरा भयो। जलपानको प्रबन्ध टीकाजीले आफ्नैतर्फबाट गरिदिनुभयो।

हाम्रो विवाह समारोहमा उपस्थित हुन गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, नोना कोइराला, शैलजा आचार्य, मञ्जु कोइराला (मातृकाप्रसाद कोइरालाकी पत्नी) विराटनगर पञ्चायतकी शान्ता पोखरेल आदिलाई मौखिक आमन्त्रण गरेको थिएँ।

सुशीलाजीले पनि भरतमोहन अधिकारी, देवी घिमिरे, माधव भट्टराई, शान्तिराम भण्डारीसहित ६० जना आफ्ना वकिल मित्रलाई बोलाउनुभएको थियो। पत्रकार मोहन भण्डारी, सुवास ढकाल र रामरिझन यादव पनि विवाह समारोहमा आएका थिए।

विवाहमा हाम्रा दुवै परिवारका कोही पनि उपस्थित नभएकाले कसैले अभिभावकत्व लिनुपर्ने कुरा उठ्यो। त्यसपछि गिरिजाप्रसाद कोइराला मेरो र मनमोहन अधिकारी सुशीलाको अभिभावक बन्नुभयो।

विवाहमा कुनै धार्मिक रीतिरिवाज भएन। माला लगाउने र सिन्दुर लगाइदिने मात्र काम भयो। सुशीलाले एउटा सानो तिलहरी बनाएर ल्याएकी थिइन्, त्यो मैले उनलाई लगाइदिएँ। मैले मेरोतर्फबाट केही पनि लगेको थिइनँ।

सुशीला कार्की र मैले रोजी विवाह गरेका हौं। यस्तो विवाहमा मात्र मनको मिलन जरुरी हुन्छ। सुशीला सम्पन्न क्षत्री परिवारकी उच्च शिक्षा प्राप्त नारी, म ब्राम्हण कुलको पुरुष। त्यसमा पनि राजनीतिक विद्रोहमा सामेल हुँदा सर्वस्वहरणमा परेको। भारतमा जेलनेल र यातना भोगेर आएको। विमान अपहरणको मुद्दामा तारेखमा छुटेको। विवाह हुँदा मुद्दा फिर्ता भइसकेको थिएन। 

कांग्रेस पार्टी छोडिसकेको र कुनै पेशा, व्यवसाय नभएको। हामीबीच यस्तो विजातीय विवाह हुँदा उनको परिवारले स्वीकार्ने कुरै थिएन। सुशीलाका मातापिताले आफ्नी शिक्षित छोरीको बिहे धन-सम्पत्तिले परिपूर्ण पुरुषसँग होस् भन्ने इच्छा राखेका थिए होलान्। तर, उनीहरूले सोचेभन्दा विपरित सम्बन्ध छोरीले स्थापित गर्दा परिवारबाट उनले तिरस्कारको पीडा भोग्नुपर्‍यो।

नेपाली समाज जात-भात र उँच-नीचको कुरालाई लिएर अहिले त उदार छैन, त्यो त पञ्चायतकालको कुरा थियो। मसँग विवाह गरेपछि माइती पक्षले सुशीलासँग सम्बन्ध नै तोड्यो। बिहेपछि सुशीला माइती गएकी छैनन्। प्रधानन्यायाधीश भएपछि बल्ल उनका भाइ भेट्न आए।

मेरो परिवारमा पनि त्यस्तो सोच अझै छ। मेरा दुवै भाइले सुशीलालाई भाउजूको रूपमा स्वीकार गरे। तर, उनीहरूका कट्टर ब्राम्हणी पत्नीहरूले अझै स्वीकार गर्न सकेका छैनन्। उनीहरू अहिले पनि सुशीलाले पकाएको खाँदैनन्।

नेपालको पहिलो महिला प्रधानन्यायाधीशका रूपमा इतिहास बनाएकी, सम्पूर्ण नारीका लागि प्रेरणाकी स्रोत भए पनि घरभित्रै उनको कदर भएन। नेपाली समाज कति पछौटे छ र नारीहरूले कस्तोसम्म सहनुपर्छ भन्ने कुराको यो एउटा उदाहरण हो।

बिहे भएको भोलिपल्टैदेखि सुशीला अदालतमा बहस गर्न जान थालिन्। म भने घरको काम लागें। मैले जेल बस्दा नै खाना पकाउन सिकेको थिएँ। सुशीलालाई भान्साको काममा फुर्सद पनि हुँदैनथ्यो। र, उनलाई यसबारे त्यति ज्ञान पनि थिएन।

त्यसबेला उनको ल फर्म धरान अञ्चल अदालतछेउमा थियो। वकालतको आयबाट उनले त्यहाँ एकतले पक्की घर बनाएकी थिइन्। मोरङको मझारे गाउँको एक सन्थाल युवकलाई घरमा राखेर पढाएकी थिइन्। उसैले भान्सा पनि चलाउँथ्यो। विराटनगरमा सानो दुई कोठाको टिनको छानो भएको मेरा घर थियो। विवाहपछि हाम्रो बसाइ कहिले धरान त कहिले विराटनगरमा हुन थाल्यो।

विराटनगरको घर बनाउँदाको पनि कथा छ। भारतीय जेलबाट जमानतमा छुटेपछि जब म विराटनगर आएँ, मलाई कसैले डेरा दिएनन्। एक त पञ्चायतको बेलाको कांग्रेस, त्यसमाथि विमान अपहरणको मुद्दा लागेको। मानिसहरू प्रशासनको त्रासले मलाई डेरा दिन डराउँथे। पञ्चायत कालमै विराटनगरको मेयर भएका ठाकुर कोइराला र म सँगै विराटनगर जेलमा बसेका थियौं। 



नगरपालिकामा भएको भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेकाले म पक्राउ परेको थिएँ, उहाँ हाम्रै आन्दोलनले गर्दा पक्राउ पर्नुभएको थियो। पछि मैले डेरा नपाएको कुरा गरेपछि उहाँले भन्नुभयो, ‘किन डेरा खोज्दै हिँड्नुहुन्छ। यहाँ मेरा जति पनि जग्गा छ। म तपाईंलाई जमिन दिन्छु, घरै बनाउनूस्।’

त्यसबेला म भारतका पत्रपत्रिकामा निकै धेरै लेख लेख्थें। एउटा लेखको दुई सयजति भारु आउँथ्यो। त्यसबेला मेरो बैंकमा १५ सयजति भारु थियो। मैले त्यति पैसामा खरले छाएको काठेघर बनाउने योजना बनाएँ। तर, मित्र टीका उप्रेतिले भने ‘किन त्यस्तो घर बनाउने, इँटाको दिवाल उठाएर टिनले छाउनूस्। हामी सहयोग गर्छौं।’

मेरो कलेजका गुरु इन्द्रमणि न्यौपानेको इँटाभट्टा थियो। उहाँले भन्नुभयो, ‘इँटालाई पैसा हाल्नु पर्दैन। मेरोमा बिग्रेका इँटा टन्नै छन्, लैजाऊ।’ मैले तिनै इँटा ल्याएँ। भारतीय पत्रिकाले दिएको पैसाले टिन किनें।

बाबुराम भट्टराई र हिसिला यमीसँग मेरो दोस्ती थियो। माओवादी नेता हुनुभन्दा पहिले हिसिला ‘आर्किटेक्ट इन्जिनियर’ हुनुहुन्थ्यो। उहाँले नै कटेज बनाउनूस् भनेर घरको नक्सा बनाइदिनुभयो। हिसिलाले बनाएको नक्साअनुसार नै मैले घर बनाएको हुँ। विवाहको एक वर्षपछि धरानको घर बेचेर हामी विराटनगर बस्न थाल्यौं।

हाम्रो विवाह भएको सात महिनापछि ०४६ सालमा प्रजातन्त्र पुनर्बहालीका लागि कांग्रेस र वाममोर्चा मिलेर संयुक्त जनआन्दोलन प्रारम्भ गरे। त्यसको पक्षमा देशभरका वकिलहरूले प्रदर्शन गर्न थाले। विराटनगरमा भएको वकिलको प्रदर्शनमा सुशीला पनि सहभागी हुँदा उनलाई पक्राउ गरेर जेल चलान गरियो। म भने भारततर्फ लागेर दिल्लीमा आन्दोलनको प्रवक्ता भई काम गर्न ऋषिकेश शाह र प्रदीप गिरीको टिममा सामेल भएँ। आन्दोलन सफल भएर सुशीला जेलमुक्त भएकै दिन म विराटनगर आइपुगेको थिएँ।

त्यसपछिका दिन धेरै नै अविश्मरणीय रहे। सुशीला कार्की आफ्नो परिवारजनले सोचेजस्तो धन-सम्पति सम्पन्न हुन नसके पनि न्यायाधीश हुँदै प्रथम महिला प्रधानन्यायाधीश भएर इमानदार न्यायमूर्तिका रूपमा स्थापित हुन सफल भइन्। मसँग भएको विजातीय रोजी विवाह सुखद रह्यो। मलाई पनि यसमा गौरव छ।

सुशीलाले आफ्नो वैवाहिक जीवनमा बुहारीको भूमिका निर्वाह गर्नुपरेन। हाम्रो विवाह हुँदा मेरा माता-पिताको मुत्यु भइसकेको थियो। मेरा दुई भाइ कालीदास र सीताराम सुवेदी आ-आफ्नो तरिकाले जीवनयापन गरिरहेका थिए, जसले गर्दा उनी वकिल, न्यायाधीश, प्रधानन्यायाधीश, पत्नी र आमाको भूमिका निर्वाह गर्न अत्यन्तै सफल भइन्।

नारीको रूपमा जन्मिएपछि हाम्रो समाजमा आदिकालदेखि नै छोरी, बुहारी र आमा हुँदै सासूसम्मको दायित्व निर्वाह गर्नुपर्छ। सुशीलाले आमासम्मको भूमिका निर्वाह गर्न सफल भइन्। अब सासूको भूमिका बाँकी छ। त्यो पनि सुखद र सफलै हुनेमा म विश्वस्त छु।

(गत साता मात्र बजारमा आएको दुर्गा सुवेदीद्वारा लिखित पुस्तक ‘विमान विद्रोह : एउटा राजनीतिक अपहरणको बयान’बाट साभार गरिएको हो।)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।