काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले ५६ लाख घरधुरी नेपालीलाई मालिक बनाउने गरी आकर्षक जलविद्युत आयोजनाको निर्माण गरिने बताएका छन्।
नेपाल विद्युत प्राधिकरणको ३३ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पुनले प्राधिकरणको अगुवाईमा हरेक नेपालीको लगानी सुनिश्चित हुने गरी निर्माण हुने त्यस्ता आयोजना राजनीतिक प्रभाव र दवावमा छनोट नगरिने प्रष्ट पारे।
‘आकर्षक आयोजनाको छनोट गरी ५६ लाख घरधुरीको सेयर लगानी सुनिश्चित हुने गरी राम्रो प्रतिफल दिने आयोजना निर्माण गर्नेछौं, त्यसले अहिले बृद्ध भक्ता पाएजस्तै राज्यको अगुवाइमा निर्माण हुने आयोजनामा सेयर लगानी गरी जनताले प्रतिफल पाउँछन्’, उनले भने ‘विगतमा मनसुन, राजनीतिक प्रभाव र दवावमा गलत आयोजना छनोट गर्दा आयोजनाको लागत दोब्बर-तेब्बर भएको छ । निर्धारित समयमा सकिएको छैन ।’ अब त्यस्तो नहुने प्रतिस्पर्धी र आकर्षक आयोजना छनोट गरी निर्माण गरिने उनको भनाइ छ।
उनको अनुसा प्राधिकरण र निजी क्षेत्रले आयोजनाको विद्युतको जडित क्षमता बराबर भइसकेको छ। ‘एउटा ठेकेदार कम्पनीले ७४ वटा आयोजनाको ठेक्का लिएको जानकारी पाएका छौं। यस्तो अवस्थामा ती आयोजनाको निर्माण कसरी हुन्छ?, उनको प्रश्न छ। लोडसेडिङ अन्त्य भएसँगै प्राधिकरणले प्रवाह गर्ने विद्युत सेवाको गुणस्तर सम्बन्धमा धेरै गुनासाहरु आइरहेका भन्दै उनले लोडसेडिङ अन्त्य गर्न जेजस्ता कदम चालिएका थिए अब प्रणालीलाई सुधार गरी विद्युत आपूर्तिलाई भरपर्दो र विश्वसनीय बनाउन अघि बढ्नु पर्ने उनको सुझाव छ।
उनले १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको निर्माण सम्पन्न ठेकेदार कम्पनीलाई दवाव दिन चिनियाँ राजदूतलाई समेत आग्रह गरिएको जानकारी दिए।
कार्यक्रममा ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्यायले उत्पादित विद्युत खपत बढाउने गरी सरकारले अगाडि बढाएका नीति कार्यान्वयनमा सहजीकरण गर्ने गरी अघि बढ्न निर्देशन दिए।
कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको वार्षिक प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष संस्था १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न र विद्युत चुहावट २०.४५ प्रतिशतमा झार्न सफल भएको बताए।
‘तराईका औद्योगिक कोरिडोर र काठमाडौं लगायतका मुख्य सहरहरुमा आगामी दश वर्षभित्रमा १० हजार मेगावाट विद्युत आपूर्ति गर्न सक्ने बितरण प्रणाली विस्तार गरिने छ’, उनले भने ‘सहरी सुन्दरता अभिवृद्धि गर्न एवं विद्युत सेवा भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन काठमाडौं उपत्यका लगायत देशक प्रमुख सहरमा भूमिगत वितरण प्रणालीलाई विस्तार गरिने छ।’
उनले नेपालको एकीकृत विद्युत प्रणालीमा मागको तुलनामा वर्षाता अधिक र हिउँदमा कम उत्पादन हुने भएकाले ऊर्जा व्यवस्थापनका लागि भारतसँग ऊर्जा बैकिङ गर्न आवश्यक कार्यविधि तय गरिने बताए।
कार्यक्रममा प्राधिकरणका प्रथम कार्यकारी निर्देशक हर्षमान श्रेष्ठ र गत आवमा उत्कृष्ट कार्य गर्ने १५ कर्मचारी तथा ९ कार्यालयलाई सम्मान गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४