काठमाडौं- १६ साउनमा मकवानपुर मनहरी-९ बाट हेटौंडातर्फ जाँदै गरेको बीआर-आईपी २३४५ भारतीय नम्बरको गाडीको सिलिङमा ‘फल्स बटन’ बनाई तस्करी गर्दै गरिएको ८७ किलो प्रशोधित गाँजा (चिप्पड) बरामद भयो ।
त्यसको भोलिपल्टै मकवानपुरकै सरस्वती बजारबाट एक सय १५ किलो प्रशोधित गाँजा बरामद भयो । भारतीय प्लेटकै बोलेरो गाडीमा विशेष रूपमा बनाइएको फ्लोरमा लुकाई उक्त गाँजा सीमापार गराउने प्रयास थियो ।
यी पछिल्ला घटना मात्र हुन् । नेपालमा अवैध रूपमा उत्पादित गाँजा भारतीय बजारमै बढी पुर्याइने गरेको छ । जानकारहरूका अनुसार नेपाली उत्पादन अर्गानिक हुने गरेकाले अमेरिका, युरोपेली मुलुक, जापान र दक्षिणकोरियाका दुर्व्यसनीको रोजाइमा पर्ने गरेको छ ।
नेपालमा उत्पादित अवैध गाँजा भारत हुँदै तेस्रो मुलुकसमेत पुग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । नेपालबाट चुरेमुनिको गोरेटो हुँदै झापाको उत्तरी क्षेत्रबाट भारततर्फ गाँजा तस्करी हुने गरेको प्रहरीले पत्ता लगाएको छ ।
त्यसबाहेक हेटौंडा हुँदै ठोरी नाकाबाट पनि अवैध गाँजा भारत पुर्याइने गरेको छ । आर्थिक प्रलोभनमा सहजै पर्ने प्रहरी अधिकृतहरूलाई समेत तस्कर समूहले वशमा पार्ने गरेका छन् ।
१४ साउनमा प्रहरीले ‘एम्फेटाइमन’ (यावा र आइस) नामक लागूऔषध सात हजार एक सय २० थान बरामद गर्यो ।
प्रहरीको विशेष सुराकीका आधारमा काठमाडौं महाराजगञ्जबाट बरामद भएको ‘यावा’ र ‘आइस’ नेपालमा बन्दैनन् । प्रहरी अनुसन्धानबाट त्यो म्यानमारबाट नेपाल भित्र्याइएको खुलेको छ । रासायनिक पदार्थ मिश्रण गरी बनाइने ‘यावा’ र ‘आइस’ नेपाली लागूऔषध दुर्व्यसनीले पछिल्लो समय बढी प्रयोग गर्ने गरेको पाइएको छ । अन्य लागूऔषधको तुलनामा केही सस्तो तर बढी नसालुयुक्त ‘यावा’ र ‘आइस’ले स्वास्थ्यमा छिटो गम्भीर असर पार्ने जानकारहरूको भनाइ छ ।
बढे दुर्व्यसनीकाठमाडौंमा मात्र आर्थिक वर्ष ०७४/७५ मा लागूऔषधको कारोबार ५३.९७ प्रतिशतले बढेको छ । ललितपुरमा कारोबार र प्रयोग सोही अवधिमा ७३.६९ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ ।
नेपालमा करिब १० लाख लागूऔषध प्रयोगकर्ता हुनसक्ने यसविरुद्ध क्रियाशील नार्कोनन नेपालका प्रमुख वसन्तराज कुँवर बताउँछन् । उक्त संस्थाको सर्वेक्षणमा नेपालमा दुई लाख २५ हजारभन्दा बढी लागूऔषध प्रयोगको जटिल अवस्थामा छन् । त्यसमा महिलाको संख्या १६ प्रतिशत अर्थात् ३६ हजारभन्दा बढी रहेको अनुमान छ ।
लागूऔषधको प्रयोग र ओसारपसार मात्र होइन, उत्पादनसमेत बढेको सरोकारवाला निकायहरूको दाबी छ । नेपालमा सबैभन्दा बढी गाँजा, चरेस र अफिम उत्पादन र प्रयोग हुने देखिएको छ । कर्णाली अञ्चलका विकट पहाडी क्षेत्रमा अफिम खेती हुने गरेको प्रहरीको भनाइ छ ।
खासगरी, तराई भेगमा उत्पादन हुँदै आएको अफिम प्रहरीको निगरानी बढेपछि दुर्गम तथा मध्यपहाडी भेगतिर ‘सिफ्ट’ भएको लागूऔषध नियन्त्रण ब्युरोका डीआईजी ठूले राई बताउँछन् । धादिङ र मकवानपुरमा गाँजा-चरेसको उत्पादन परिमाण ठूलो भएको बारम्बार पक्राउ र बरामद भएका घटनाबाट देखिन्छ ।
राजधानीबाट नजिक पर्ने दुवै जिल्लामा भइरहेको अवैध खेती नियन्त्रण हुन नसक्नुलाई तस्करीको बलियो संगठन रहेको रूपमा प्रहरी अधिकारीहरूले लिने गरेका छन् । दुवै जिल्लामा पटक-पटक गाँजा खेती फँडानी गर्दै आएको छ, प्रहरीले ।
नार्कोनन प्रमुख कुँवर भने लागूऔषध नियन्त्रणको सरकारी प्रयास प्रभावकारी नहुनुको परिणाम मान्छन्, त्यसलाई । यसमा संलग्न गिरोहले कृषकलाई आर्थिक प्रलोभनमा पारी गाँजा र अफिम खेती गराउने गरेको खुल्दै आएको छ । धान, मकैजस्ता खाद्यान्नभन्दा दोब्बर मूल्य दिएर गिरोहले अवैध खेतीका लागि उक्साउने गर्दै आएको छ ।
मनोरञ्जन, जिज्ञासा, स्वभाव र संगतनेपालमा लागूऔषध प्रयोगकर्ता किशोर-किशोरी र युवा-युवती मात्र छैनन् । गृहिणी, सरकारी कर्मचारी, चिकित्सक, पाइलट र राजनीतिकर्मीलाई सम्म गिरोहले कुलतमा पार्ने गरेको छ । नार्कोननको अध्ययनमा मुख्य चार वटा कारणबाट दुर्व्यसनमा पर्ने गरेको पाइएको छ ।
पार्टी र भोजमा रमाइलो गरेपछिको चरम आनन्द लिन दुर्व्यसन सहाराको रूपमा देखिने गरेको छ । लागूऔषधप्रतिको जिज्ञासा र परीक्षण गर्ने क्रममा करिब १० प्रतिशत मानिस दुर्व्यसनतिर लाग्ने गरेका छन् ।
लागूऔषध कारोबारीको चंगुलमा कक्षा-८ देखि १२ अध्ययनरत छात्रछात्रा बढी पर्ने गरेका छन् । परिवारको एक्लो सन्तान पनि दुर्व्यसनको शिकार बन्ने गरेको पाइएको छ ।
गाँजा र सस्तो खालको लागूऔषध केही दिन सित्तैंमा खुवाउने र लत लागेपछि त्यही व्यक्तिमार्फत् कारोबार गराउने गरेको अनुसन्धानबाट खुलेको छ । कारोबारीले रणनीतिक रूपमा फसाउनेको संख्या सबैभन्दा बढी ७० प्रतिशत रहेको अनुसन्धानबाट खुलेको छ ।
औषधीजन्य प्रयोजनगलत सूचना प्रवाह गरी विभिन्न औषधीजन्य पदार्थको गलत प्रयोग उस्तै छ । विभिन्न रोग निको पार्ने बहानामा औषधीलाई नसाका रूपमा प्रयोग गर्ने गरेको पाइएको छ ।
औषधीजन्य वस्तुको मिश्रणबाट लागूऔषध तयार गरी अस्पताल कर्मचारी मात्र होइन, चिकित्सकले पनि प्रयोग गर्ने गरेको प्रहरीको दाबी छ । यस्तो लागूऔषध प्रयोगकर्ताको संख्या नेपालमा करिब १० प्रतिशत रहेको प्रहरीको भनाइ छ ।
गाँजा, चरेस, अफिमलगायत लागूपदार्थको तुलनामा औषधीको सहज उपलब्धता भएकाले पनि कारोबारी र प्रयोगकर्ताका लागि सजिलो देखिएको प्रहरीको भनाइ छ ।
कमजोर नियन्त्रण प्रयाससरकारी आँकडा केलाउँदा नेपालमा करिब एक लाख ६० हजार मात्र दुर्व्यसनी देखिन्छन् । तर, त्यो आँकडा उपचार र पुनःस्थापनाका लागि आएका दुर्व्यसनीहरूको मात्र रहेको सरोकारवालाहरूको दाबी छ ।
नार्कोनन प्रमुख कुँवर भने १० मा एक जना मात्र उपचार र पुनःस्थापनाका लागि आउने गरेको बताउँछन् । नियन्त्रण र जनचेतना कार्यक्रम शुन्यप्रायः रहेकाले दुर्व्यसनी संख्या डरलाग्दो रूपमा वृद्धि भएको उनको दाबी छ ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो २५ जेठ ०४९ मा स्थापना भएको हो । ब्युरोको नेतृत्व डीआईजीले गर्छन् । भारतसँगका ६ वटा नाका तथा पोखरा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्युरोका केन्द्रहरू छन् ।
तर, त्यो पर्याप्त नभएकै कारण नियन्त्रण प्रयास कमजोर देखिएको सरोकारवालाहरूको दाबी छ । नेपालमा अन्तर्राष्ट्रिय गिरोह पनि सक्रिय देखिँदै आएको छ, यस अपराधमा ।
करिब १४ वर्ष ब्युरोमा काम गरेका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीका अनुसार प्रयोग र ओसारपसार नियन्त्रणमा प्रभावकारी हुन नसक्दा आपराधिक समूहको गतिविधि बढ्ने गर्छ । ठकुरी भन्छन्, ‘कारोबार र प्रयोगलाई निरुत्साहित गर्न उत्पादन, ओसारपसार र माग नियन्त्रण तथा पुनःस्थापना गरी चार वटा कामलाई एकैचोटी प्रभावकारी रूपमा अगाडि बढाउनुपर्छ ।’
उनका अनुसार नेपाल सरकारले अहिले गरिरहेको क्रियाकलाप पर्याप्त छैन । नेपाल आफैंले प्रभावकारी कदम चाल्ने र अन्तर्राष्ट्रिय समुदायको सहकार्यमा समस्या हल गर्न सकिने ठकुरी बताउँछन् ।