काठमाडौं- सेतो सर्ट, कालो कपाल चिटिक्क पर्ने गरी पछाडि 'बन' र कालो स्कर्टमा निकै स्मार्ट देखिएकी थिइन्, कनक बस्नेत।
'फ्लाइटेक इन्स्टिच्युट'मा एयर होस्टेसको तालिम लिँदै गरेकी उनी खुशी र 'कन्फिडेन्ट' देखिन्थिन्। र, मिठो मुस्कानसँगै साँच्चै एयर होस्टेस नै बनिसकेकीजस्तो देखिन्थिन्।
कक्षा-१२ को परीक्षा सकाउनेबित्तिकै उनलाई निकै हतार भएको थियो, तालिम लिन। परिवारको पूर्ण सहमति भएका कारण पनि उनलाई केही समस्या भएन। विराटनगरकी उनी हाल मैतीदेवीको एक होस्टेलमा बसेर आकाशमा उड्ने सपना पूरा गर्नमा लागिपरेकी छन्।
एयर होस्टेस र प्लेन उडेको देख्दा उनको मनमा हर्ष र उत्साह जाग्छ रे। र, आफूलाई पनि उडौं-उडौं लाग्ने बताउँछिन्। यसबाहेक एयर होस्टेसको व्यक्तित्व, ड्रेसअप सेन्स र आफूलाई तयार गर्ने तरिकाले उनलाई प्रभावित पारेको छ। 'एयर होस्टेसको मेकअप र ड्रेस सम्हाल्न गाह्रो हुन्छ तर आफूलाई मन परेपछि जसरी पनि आई क्यान म्यानेज,' उनी भन्छिन्।
एयर होस्टेसलाई पहिलो प्राथमिकता दिएकी उनी भाग्यले साथ दिए एभिएसन क्षेत्रमै लाग्ने सोचमा छिन्। भाग्यले साथ नदिए मात्र 'फेसन डिजाइनिङ' वा 'ट्राभल एन्ड टुरिजम' मा करिअर बनाउने सोचमा छिन्।
जोखिम र खतराको काममा रमाउने सरिना क्षत्रीलाई हवाई दुर्घटना सुने पनि डर लाग्दैन। स्कुटी हाँक्दा हात छाडेर हाँक्ने र युट्युबमा पनि 'प्लेन क्रयास'को भिडियो हेर्नु उनको सोख हो। त्यसो गर्दा 'कन्फिडेन्ट लेवल' बढ्ने सोच राख्छिन्। उनलाई डरभन्दा ठूलो लाग्छ, आकाशमा उड्ने सपना। अनुहारमा बेग्लै चमक र 'सफ्ट लिपस्टिक'मा उनी अझै बढी प्यारी देखिएकी थिइन्।
धरानकी उनी हाल दाइसँग काठमाडौं पेप्सिकोलामा बसेर एयर होस्टेस तालिम लिँदैछिन्। काठमाडौं आएर एयर होस्टेस तालिम लिनु उनका लागि ठूलो युद्ध जितेसरह हो। आकाशमा उड्ने उनको सपनामा परिवारको सहमति थिएन। 'प्लेन क्रयास'का समाचारहरूबाट उनको परिवार धेरै डराउँछ।
उनका बाबुले उनलाई नर्सिङ पढाउने इच्छा गरेका थिए। तर, सरिनाकोे सपना हस्पिटल र नर्समा नभई आकाशमा उड्ने थियो। बुबाको कुरामा आफूलाई भुल्न नदिई परिवारलाई सम्झाउँदै उनी तालिम लिँदैछिन्। डेढ महिना बितिसकेको छ, उनले तालिम लिन थालेको।
आकाशमा उड्ने सपना उनको अनमोल लाग्छ, उनलाई। एयर होस्टेस पेशालाई उनलाई उच्चस्तरको लाग्छ। 'आफू यसै पनि राम्री, त्यसमाथि म्याडमले मेकअप गर्न सिकारु बनाइदिनुभयो,' उनी भन्छिन्।
फरक व्यवहार गर्न जान्नुपर्छ। नम्र र हाँसेर हरेक समस्यासँग जुध्ने क्षमता हुनु नै एयर होस्टेसको खुबी हो। असभ्य व्यवहार उनीहरूको शब्दकोषमै हुँदैन।
गोंगबु बानियाँटार बस्ने कञ्चन निरौलालाई चिटिक्क पर्न, राम्री बन्न मन पर्छ। सानैदेखि एयर होस्टेस बनेर आकाशमा उड्ने सपना सजाउँदै उनी ठूली भइन्। उनकी छिमेकी दिदी पनि एयर होस्टेस हुन्। सानैदेखि दिदीलाई एयर होस्टेसको लुगामा चिटिक्क परेर हिँडेको र एयरलाइन्सको गाडी लिन र पुर्याउन आउने गरेको देखेकी थिइन्। दिदीले शानदार जागिर खाइरहेको लाग्थ्यो, उनलाई।
सैनिक विद्यालयमा पढेकी उनी समस्यासँग डराएर कराउने र भाग्ने सोच दिमागमा आउन पनि दिँदिनन्। विद्यालयमा फायरिङदेखि 'एनसीसी क्याडेट'को तालिम पनि लिएकी छन्। सोही कारण 'प्लेन क्रयास' हुने कुराले उनको मन चस्स हुँदैन। दुर्घटनालाई उनी आकस्मिक घटनाकै कोटीमा राख्छिन्।
उनी भन्छिन्, 'नयाँ कुराहरू सिक्दैछु र धेरै रमाइलो लागेको छ।' क्लासमा सरहरूले पढाइरहँदा पनि उनी आफू आकाशमा उडेको सपना देख्छिन् र रमाउने गर्छिन्।
उनी अध्ययनरत इन्स्टिच्युटले एयर होस्टेसको कक्षाबाहेक रक्तदानलगायत अतिरिक्त क्रियाकलाप पनि गराउँछ। उनका अन्य सपना हुन्, समाज सेवा र ब्युटिसियन बन्नु।
सुहाना लम्सालले भने तीन महिनाको एयर होस्टेस तालिम सकाएर विभिन्न एयरलाइन्सका लागि आफूलाई तयार गर्दैछिन्। साथमा बीबीए पनि पढ्दैछिन्।
उनी भन्छिन्, 'सानैदेखि साथीहरू, आदरणीय गुरुहरू र आफन्तले भन्नुहुन्थ्यो- तिमी भविष्यमा कि सेना, प्रहरी कि एयर होस्टेस बन्छौ। तर, मैले एयर होस्टेसमै आफ्नो भविष्य देखें।'
हरेक यात्रुका आ-आफ्नै स्वभाव हुन्छन्। ती सबै स्वभावबीच घुलमिल हुनु चानचुने कुरा होइन। 'सबै यात्रुलाई एउटै व्यवहार गरेर सकिन्नँ। स्वाभाविकै हो, एक जनालाई मन पर्ने व्यवहार अर्कोलाई पनि मनपर्छ भन्ने हुँदैन,' उनी भन्छिन्, 'सोही कारण फरक व्यवहार गर्न जान्नुपर्छ। नम्र र हाँसेर हरेक समस्यासँग लड्ने क्षमता हुनु नै एयर होस्टेसको खुबी हो।'
उनको बुझाइमा सबै युवतीले जीवनको कुनै समयमा आकाशमा उड्ने सपना देखेकै हुन्छन्। कतिको पूरा हुन्छ भने कतिको सपनामै सीमित रहन्छ।
नेपालको राम्रो एयर होस्टेस तालिम केन्द्रमा गनिन्छ, फ्लाइटेक। संस्थापक नाजेर हुसैन भन्छन्, 'एयर होस्टेस बन्न राम्री हुन अत्यन्त जरुरी छ।'
एयर होस्टेस बन्न राम्रो व्यक्तित्व हुन निकै जरुरी रहेको उनी बताउँछन्। भन्छन्, 'प्रतिभा र अनुशासन हुन आवश्यक छ तर पहिलो प्राथमिकतामा नम्र, राम्री र चम्किलो अनुहार र राम्रो पहिरन लगाउने सोच हुन अति जरुरी छ।' असभ्य व्यवहार एयर होस्टेसको शब्दकोषमै हुनु हुँदैन।
तीन महिना राम्रो मिहिनेत गर्दा बाँकी ३० वर्षलाई रमाइलो बनाउन सकिने उनको भनाइ छ।
एयर होस्टेस बन्न कक्षा-१२ उत्तीर्ण, कम्तिमा ५.२ इन्च उचाइ, जिउडाल मिलेको, आँखाको पावर धेरै कम हुन हुँदैन। त्यसमा पनि राम्री र नम्र हुन आवश्यक छ।
'आकर्षक' एयरहोस्टेसएयर होस्टेसको सेवासुविधा र तलब राम्रो हुने जानकारहरू बताउँछन्। नागरिक उड्डयन प्राधिकरणले तयार पारेको पाठ्यक्रम अनुसरण गर्छन्, इन्स्टिच्युटहरूले।
नेपालमा एयर होस्टेसको माग नराम्रो छैन। तर, पाठ्यक्रममा छुट्याइएका सबै विधा नेपाली एयर होस्टेसहरूले सिक्न पाएका छैनन्। 'वाटर सर्भाइभल तालिम', 'फुड सर्भिस', 'ड्रिंक सर्भिस'जस्ता धेरै तालिम उनीहरूले लिन पाएका छैनन्। किनभने, नेपालमा समुद्र नै छैन र आन्तरिक सेवाका एयरलाइन्समा फुड र ड्रिंक सर्भिस उपलब्ध छैन। ती तालिम अन्तर्राष्ट्रिय उडानका लागि भने अनिवार्य हुन्छ।
नेपालमा मात्र १० वटा एयरलाइन्स छन्। त्यसैले स्वदेशमा ठूलो संख्यामा एयर होस्टेस आवश्यक पर्दैनन्। करिब सय जनाले नेपाली आकाशको माग पूरा गर्न सक्छन्।
तथापि, अधिकांश एयर होस्टेसको लक्ष्य अन्तर्राष्ट्रिय उडान हुने गर्छ। अन्य मुलुकका एयरलाइन्सहरूले पनि नेपाली एयर होस्टेल लिन थालेका छन्।
एयर होस्टेसको सपना पाइलट बन्ने हुँदैन। किनभने, त्यो विधा नै फरक हो। एयर होस्टेस 'सिनियर क्याबिन क्रु' र 'जुनियर क्याबिन 'क्रु', 'सुपरभाइजर', 'क्याबिन क्रु म्यानेजर' बन्छन्। काठमाडौं उपत्यकाका भन्दा बाहिरका युवतीहरूमा एयर होस्टेस बन्ने सपना देखिन्छ।
नेपालमा भारत, पेरु र बंगलादेशबाट पनि एयर होस्टेस तालिम लिन आउँछन्। ती मुलुकमा एक लाखदेखि दुई लाख पर्ने तालिम नेपालमा ३० हजार रुपैयाँमै पाइन्छ। र, अरू देशको तुलनामा नेपालमा प्रतिस्पर्धा पनि कम हुने गर्छ।
आन्तरिक उडानमा मासिक २५ हजारदेखि ६० हजार रुपैयाँसम्म तलब पाउँछन्। अन्तर्राष्ट्रिय उडानमा एक लाख रुपैयाँभन्दा बढी तलब हुन्छ। अझ, 'लक्जरियस' एयरलाइन्समा मासिक डेढ लाख रुपैयाँभन्दा बढी तलब पाउँछन्।
शुरुवाती तालिम शुल्क तीन महिनाको २८ हजार रुपैयाँ लिने गरेका छन्, इन्स्टिच्युटहरूले। त्यसभन्दा 'एडभान्स' तालिम एयरलाइन्सहरूले नै दिन्छन्, जुन जहाजअनुसार फरक हुन्छ।
एयर होस्टेस भन्नासाथ सबैको दिमागमा राम्री, पातली, गोरी, मिठो मुस्कान र चिटिक्क मिलेको जिउको प्रतिमा आउँछ। एयर होस्टेस तालिम लिन १८ वर्ष पुगेको हुनु पर्छ। कक्षा-१२ उत्तीर्ण, कम्तिमा ५.२ इन्च उचाइ, जिउडाल मिलेको, आँखाको पावर धेरै कम हुन नहुने नियम छन्। त्यसमा पनि राम्री र नम्र हुन आवश्यक छ।
हुसैन भन्छन्, 'सबै एयरलाइन्सको आ-आफ्नै नियम हुन्छ, नेपाल वायु सेवा निगममा ५० वर्षसम्म पनि क्याबिन क्रु बनेर काम गर्न पाउने नियम छ।' तर, त्यसका लागि मोटाउने, अनुहार बिग्रिनेजस्ता समस्या आउन दिनु हुँदैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४