काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मौरीसँगै उडेमात्र फूलसम्म पुग्न सकिने टिप्पणी गरेका छन्। उनले नेकपा मौरी जस्तै भएको र उसँग उड्दा लक्ष्यमा पुगिने बताए।
‘तपाईहरु ठीक समयमा नेकपासँगको यात्रामा आउनु भएको छ, मौरीसंग उडे फूलमा पुगिन्छ झिंगासँग उडेर फोहोरमा पुगिन्छ’ बिहीबार नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै ओलीले भने।
उनले गणेशमान र कृष्णप्रसाद जस्ता नेता नअटाएको कांग्रेसलाई त्यागेर राम्रो काम गरेको पनि बताए। ओलीले नव प्रवेशीहरुको आशा र विश्वासलाई ओईलाउन नदिने प्रतिबद्धता जनाए ।
नेकपाका अध्यक्ष प्रचण्डले अबको उडान शुसासन र समृद्धिको भएको बताए। उनले अब सरकारको कामलाई प्रभावकारी बनाएर लैजानेमा जोड दिए।
कार्यक्रममा ओखलढुंगा र काठमाडौका झण्डै दुई सयभन्दा बढी नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गराएका थिए। यसरी प्रवेश गर्नेमा नेपाली कांग्रेस ओखलढुंगा जिल्ला कार्यसमितिका पूर्वसचिव रामबहादुर खत्री, जिल्ला कार्यसमितिका सदस्य सुरेशकुमार सुनुवार, रगनी गाविसका पूर्ब अध्यक्ष लालप्रसाद नेपाल, रावादोलु गाविसका पूर्व अध्यक्ष गजेन्द्रबहादुर बस्नेत लगायत छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४