जनकपुरधाम- सशस्त्र प्रहरी असई थमन विक हत्याको आरोप लागेका थप दुईजना साधारण तारेखमा रिहा भएका छन्।
थमन हत्याको आरोप लागेका जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र (शंकर शाही) र राजपाका सहमहासचिव सुरेश पाण्डेय साधारण तारेखमा मंगलबार रिहा भएका हुन्। यसअघि सोमबार प्रदेश २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका थिए।
राज्यमन्त्री शर्मा हाजिर भएको भोलीपल्ट जिल्ला अदालत महोत्तरीमा उपस्थित भएका नगर प्रमुख मिश्र र सहमहासचिव पाण्डेयलाई न्यायधीश ब्रजेश प्याकुरेलको एकल इजलासले साधार तारेखमा रिहा गर्न आदेश सुनाएको छ।
थमन हत्याको अभियोग लागेका मिश्र र पाण्डेयको करिब तीन घण्टा बयान लिइएको थियो। बयान सकिए लगत्तै न्यायधीश प्याकुरेलको इजलासमा थुनछेक बहस भएको थियो।
मिश्र र पाण्डेयका तर्फबाट कानून व्यवसायी ज्ञानेन्द्रलाल कर्ण, रमेश पाण्डेय, देवेन्द्र ठाकुर र घनश्याम शर्माले बहस गरेका थिए भने उनीहरुको विपक्षमा सरकारी वकिल सुदिप दंगालले आफ्नो पक्ष राखेका थिए।
उच्च अदालत जनकपुरले १५ साउनमा असई थमन हत्याक अभियुक्तहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीको नाउँमा परमादेश जारी गरेको थियो । परमादेश जारी भएको १४ दिनपछि मिश्र र पाण्डेय अदालतमा हाजिर भएका हुन्।
पछिल्लो मधेश आन्दोलनको क्रममा आन्दोलनकारीको आक्रमणबाट घाइते भएका असई थमन विकलाई उपचारको लागि जनकपुर ल्याउँदै गर्दा तत्कालीन महोत्तरी गाविसको सोनुषडा भन्ने ठाउँमा गाडीबाट थुतेर हत्या गरिएको थियो।
विककी पत्नी शोभा गहतराजले हत्यामा संलग्नहरुलाई कारबाहीको सजायको माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेकी छिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४