जनकपुरधाम-बिजनेस नपाएर सुस्त गतिमा चलि रहेको प्रदेश २ को प्रदेशसभालाई पेपरलेस बनाउने तयारी थालिएको छ । प्रदेश सांसदहरुलाई ल्यापटप वितरण गरेर प्रदेशसभालाई पेपरलेस बनाउन प्रदेशसभा सचिवालयले तयारी शुरु गरेको हो । प्रदेश २ मा जम्मा १ सय ७ सांसद छन् ।
प्रदेशसभा सचिवालयका उपसचिव रञ्जीत यादवले प्रदेश सांसदहरुलाई ल्यापटप वितरण गर्नेबारे छलफल शुरु भएको जनाएका छन् । 'यहाँका सबै माननियज्यूहरुलाई ल्यापटप वितरण गर्नेबारे छलफल शुरु भएको छ,' नेपाल समयसँग कुरा गर्दै उपसचिव यादवले भने,'योजनाको सफलता बजेटमा निर्भर छ । आवश्यक बजेट आयो भने उहाँहरुलाई ल्यापट वितरण गर्ने योजना छ ।'
'सांसदज्यूहरुलाई विधेयक, संसदको कार्य सूचिलगायतका सामग्री कागजमा प्रिन्ट गरेर वितरण गरिरहेका छौँ,' यादवले भने,'यी सामग्री वितरण गर्दा कागजको खर्चमात्रै वर्षमा तीन चार करोड पुग्छ । खर्च न्यूनिकरण गर्नपनि यस्तो सोच अगाडी सारिएको हो ।'
विधेयक, कार्यसूची लगायतका सामग्री पिजन हलमा राख्ने गरिन्छ उनले भने,'म आफै उहाँहरुको पिजन हलमा सामग्रीहरु राख्ने गरेको छु । तर, त्यहाँबाट हराउने, सांसदज्यूहरुले नपाउने गुनासा गर्नु भएको छ । ल्यापटप वितरण गरेर यी सम्पूर्ण सामग्री मेल गरेर उहाँहरुलाई एकदिन अगावै पठाउन सकिन्छ । र, उहाँहरुले अध्ययन समेत गर्न सक्नु हुनेछ ।' सचिवालयबाट पठाइएको सामग्री उहाँहरुसँग सँधैको लागि सुरक्षित समेत हुने उनको भनाइ छ ।
ल्यापटप बाँड्ने खर्चको विषयमा तत्काल यकिन नभएको बताउँदै उपसचिव यादवले कमसेकम एक कार्यकाल चल्ने ल्यापटप दिनुपर्ने आफ्नो सोच रहेको बताए । सबै सांसदलाई ल्यापटप वितरण गर्दा न्यूनतम एक करोडसम्म खर्च लाग्ने उनको अनुमान छ ।
ल्यापटप वितरण गरेर प्रदेशसभालाई 'पेपरलेस' बनाउने तयारी गरिएपनि सबै सांसदहरुका लागि यसको प्रयोग भने सहज देखिएको छैन् । कतिपय सांसदहरु ल्यापटप र इन्टरनेट प्रयोगबारे जानकार छैनन् ।
कम्युटर र इन्टरनेट चलाउन नजान्ने सांसदहरुलाई उनका स्वकीय सचिवले सहयोग गर्ने यादवको भनाइ छ । अधिकांश सांसदहरुले स्वकीय सचिव राखेको भन्दै यादवले भने,'प्रायः सबै सांसदज्यूहरुले स्वीकय सचिव राख्नु भएको छ । उहाँहरुले सहयोग गर्नु हुन्छ ।'
सांसदहरुलाई दिइने ल्यापटप पाँच वर्षपछि फिर्ता लिइन्छ कि भन्ने प्रश्नमा यादवले पाँच वर्ष प्रयोग भइसकेको इलेक्ट्रोनिक्स समान फिर्ता नलिँदा नै बेस हुने प्रतिक्रिया दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४