डा श्रीराम भगत माथे लो-प्रोफाइलमा रहेर काम गर्न रुचाउने शिक्षा क्षेत्रमा समर्पित प्राज्ञिक व्यक्तित्व हुन्। त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानका पूर्वडिन उनी नेपालमा विश्वस्तरीय सगरमाथा विश्वविद्यालय स्थापनाको प्रयासमा थिए। तर, सरकारी अकर्मण्यताको शिकार बनेर उनी निराश बन्दै पुनः कम्बोडिया फर्केका छन्, जहाँ उनले यसअघि पनि जीवनका अमूल्य १८ वर्ष बिताएका थिए।
चर्को निराशाबीच देश छाड्दै गर्दा डा माथेले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटस यसअघि नेपाल समयले प्रकाशित गरेको थियो ‘मैले हारें, म गएँ’ शीर्षकमा। त्यसमा आएका प्रतिक्रियाहरूबाट प्रभावित भएर उनले कम्बोडियाबाट अर्को मार्मिक स्ट्याटस लेखेका छन्, शनिबार राति। पछिल्लो स्ट्याटसको अनुवाद जस्ताको तस्तै प्रस्तुत गरेका छौं। (सम्पादक)
म यो सन्देश कम्बोडियाबाट प्रेषित गर्दैछु, जहाँ एक करोड ६० लाख जनसंख्या छ। जहाँ ५० लाखभन्दा बढी विदेशी पर्यटकले गत वर्ष भ्रमण गरेको तथ्यांक छ, जसले कम्बोडियाली अर्थतन्त्रलाई ३.८ अर्ब (तीन अर्ब ८० करोड) अमेरिकी डलरको योगदान दियो।
यस वर्ष कम्बोडियाले ७० लाख पर्यटक भित्र्याउने सम्पूर्ण तयारीका साथ लय समातेको छ भने सन् २०२० भित्र ८० लाख पर्यटक भित्र्याउने रणनीतिक लक्ष्य तय गरेको छ। त्यस कदमले कम्बोडियाली अर्थतन्त्रमा आठ अर्ब अमेरिकी डलरभन्दा बढी योगदानको अपेक्षा गरिएको छ। ‘खमेर रुज’ शासनकालताका आफ्नो करिब २० लाख नागरिक गुमाएको मुलुकका निमित्त गत दशकमा भएको विकासको गति वास्तवमै अभूतपूर्व र अकल्पनीय सावित भएको छ।
यसले मलाई नेपालको राज्य सञ्चालनको परिपाटीप्रति थप चिन्तित तुल्याउँछ। कम्बोडियाको तुलनामा नेपाल अनन्य सम्पदाहरूबाट विभुषित छ। तर, नेपाल दूरदर्शी नेतृत्वको अभावका कारण आक्रान्त भएर छटपटाइरहेको छ। भावी दिनहरूमा नेपाल र कम्बोडियाबारे तुलानात्मक तथ्यहरू प्रेषित गर्दै जानेछु।
बहसको आँधी मेरा उपर होइन कि निवृत्त भएर बस्नुपर्ने तर मुलुकका भलाइका निमित्त रुचिपूर्वक अरू सेवा गर्न चाहने मजस्ता व्यक्ति उपर केन्द्रित हुनुपर्छ।
ठ्याक्कै एक साताअघि मैले मेरो फेसबुकमा प्रेषित गरेका नेपाली राजनेता तथा कर्मचारीतन्त्रबारे मेरा भावनाहरू स्थानीय सञ्चारमाध्यममा भाइरल भएको देख्दा मलाई के लाग्छ भने नेपालमा समस्या कस्तो छ भन्ने कुरा सबैलाई अवगत त रहेछ। तर, हाम्रा मेधावी छात्रछात्राहरू विगत दुई दशकको अन्तरालमा एकोहोरो रूपमा विकराल ढंगले विदेश पलायन भइरहेका छन् भन्ने कुराको भेउ पाएका रहेनछन् भन्ने थाहा भयो।
केही वर्ष अघिसम्म ३० हजारदेखि ५० हजार छात्रछात्रा अध्ययनको सिलसिलामा विदेशिने गर्थे। तर, हालसालैको तथ्यांकले यो संख्या लाखको हाराहारीमा पुगेको देखाउँछ।
यदि हाम्रा नेतृत्वले यसलाई एक समस्याका रूपमा देख्दैनन् भने तिनले भयंकर ठूलो भूल गर्दैछन्। मलगायत अन्य धेरै यत्रो मानवीय पुँजी पलायनका कारण मुलुकको समग्र अर्थतन्त्रको विकास र प्रविधिमा नकारात्मक प्रतिध्वनि देखिने कुराप्रति जायज रूपले चिन्तित छौं।
राष्ट्रले यो समस्याको निकास खोज्ने मात्रै होइन, मुलुकभित्रै खुम्चिएर रहेका ज्ञान, सीप र अनुभवबाट सुसज्जित अब्बल नागरिकहरू तथा विदेशिएका सुयोग्य नेपालीहरूलाई समेत सम्बोधन गर्ने एक कामयावी मार्गचित्र अवलम्बन गर्नुपर्ने हुन्छ। शायद सोही कारणले हुन सक्छ, मेरो सामाजिक सञ्जालमा प्रेषित सन्देश मुलुकभित्र मात्रै नभई परदेशमा पनि हाम्रा नेपालीहरू माझ फराकिलो ढंगले प्रसारित हुन पुग्यो।
मेरो फेसबुकको सन्देश किन भाइरल हुन पुग्यो यसैबाट प्रष्टिन्छ। मलाई मेरा पारिवारिक सदस्यहरू तथा देश-विदेशमा रहेका इष्टमित्र, शुभेच्छुक र अन्य धेरै अञ्जान व्यक्तिहरूले मित्रता गाँस्ने अनुरोध मात्रै होइन, आवश्यक सहयोगको हातसमेत बढाएका छन्। धेरै मित्र, शुभचिन्तक र मेरा पूर्वविद्यार्थीहरूले मलाई मेरो भावना र अभिलाषालाई अटल बनाइराख्न अनुपम ढाडस दिएका छन्।
म उहाँहरूप्रति अत्यन्त कृतज्ञ छु किनकि मैले जे हासिल गरेको छु, उत्कृष्टता र खोजप्रतिको मेरो अविच्छिन्न लगाव छ। यसबारे उहाँहरू पूर्ण रूपेण सचेत हुनुहुन्छ। त्यसै कारण पनि यदि अनुकुल परिवेश उपलब्ध भएमा म विश्वस्तरीय एक विश्वविद्यालय खोल्न सक्षम हुनेछु भन्ने कुराप्रति मेरो विश्वास अझै मजबुत भएको महशुस गरेको छु। साथै, मेरा सोचबारे भिन्न मतसहित टिप्पणी र सुझाव पेश गर्ने सम्पूर्णमा म यथोचित धन्यवाद ज्ञापन गर्न चाहन्छु।
मेरो बचाउमा भन्नु पर्दा मैले सदाको लागि मुलुक त्यागेको होइन र बारम्बार नेपाल फर्किएर सम्भावनाका द्वार घचघच्याउने भगीरथ प्रयत्न गरेको छु। जब जब नेपालमा हुन्छु, मेरा सपनाहरूले मेरो अन्तरहृदयमा भतभति पोलिरहेका हुन्छन्। तिनलाई पुनर्जीवित तुल्याउन अथक प्रयत्न गरिरहेको हुन्छु। अखबारका टाउके अक्षरहरूद्वारा शायद सदाका निमित्त म विदेश पलायन भएको भन्ने भाव कुनै प्रसंगवस प्रेषित भए होलान्। तर, त्यो साँचो होइन।
अखबारका शीर्ष हरफहरू सामान्यतया पाठकका चित्त आकर्षित गर्ने खालका तथा नाटकीय ढंगका हुन्छन्। तथापि, सत्य के हो भने मैले एउटा मोर्चा हारें होला तर समग्र युद्ध हारेको होइन। मैले त केवल संघर्षको मैदानमा पुनर्ताजगीका निमित्त, मेरा रणनीतिलाई पुनर्मूल्यांकन गर्न र भविष्यमा आउने अझ भिषण युद्धका निमित्त आवश्यक तयारी गर्न एकछिन लामो सास फेरेको हुँ। हाम्रा राजनेता, नीतिनिर्माता र कर्मचारीहरूको मन-मुटु जित्न अनि मेरा सपनालाई यथार्थमा जीवन्त तुल्याउन मैले यो कदम चालेको हुँ।
यदि नेपालमा विश्वस्तरीय सगरमाथा विश्वविद्यालय स्थापना गर्न सकियो भने उच्च शिक्षाका खातिर विदेश जान नसक्ने जेहेनदार छात्रछात्राहरूका लागि आकर्षक तथा नवीन कार्यक्रमहरू प्रस्ताव गर्न सकिन्छ। यो प्रस्तावित विद्यालयले आफ्नै खर्चमा उच्च शिक्षाका लागि विदेश जानेहरूलाई पनि मुलुक छाड्नुअघि २÷३ चोटी सोच्न बाध्य पार्नेछ। मेरा उमेरका धेरैले निवृत्त भएर बस्ने सोच गर्छन्। साँच्चै भन्नु पर्दा एक मित्रले मलाई मेरा यस्ता सपनाहरूलाई तिलाञ्जली दिएर आरामको एउटा बुढेसकाल बिताउन सुझाव दिएका छन्।
महान चित्रकार वाल्ट डिज्नेलाई म अक्सर उद्धृत गर्ने गर्थें, ‘यदि तिमी सपना देख्न सक्छौ भने त्यसलाई हासिल गर्न सक्छौं। ती सपना होइनन्, जो राति सुतेर बिहान उठ्दा बिर्सिइन्छन्, ती सपना हुन्, जसले व्यूँझाउँछन्।’
यदि हाम्रा नेतृत्वले यसलाई एक समस्याका रूपमा देख्दैनन् भने तिनले भयंकर ठूलो भूल गर्दैछन्। मलगायत अन्य धेरै यत्रो मानवीय पुँजी पलायनका कारण मुलुकको समग्र अर्थतन्त्रको विकास र प्रविधिमा नकारात्मक प्रतिध्वनि देखिने कुराप्रति जायज रूपले चिन्तित छौं।
मेरो वर्तमान उमेरको यो परिवेशमा आइपुग्दा पनि म आफूलाई २४ वर्षीय भर्भराउँदो जोशिलो युवक ठान्छु। ईश्वरको बरदहस्त प्राप्त भएमा म मेरो मुलुकलाई धेरै नभए पनि अरू १० वर्ष सेवा गर्न सक्छु भन्ने इच्छा जाहेर गर्छु।
मेरो यो जीवनको आखिरी अभिलाषा प्राप्त होस् भन्ने आशा एवं भरोसा राख्छु। मलाई कुनै पदक या पहिचानको अपेक्षा छैन। विभिन्न बहानामा राजनीतिक दलका नेता÷कार्यकर्तालाई बाँड्ने जमिन या नगद मेरो माग होइन। हामीले सालिन्दा कर बढाइरहेका छौं तर उक्त करलाई रोजगार वृद्धि तथा जीवनको गुणस्तर बढाउनका निमित्त उपयोग गर्न सकिरहेका छैनौं।
तातो मरुभूमि (मध्यपूर्व)को ज्यान पिर्सोलिने गर्मीमा कठिन श्रम गरी कमाएर पठाएको विप्रेषण (रेमिट्यान्स) कुनै औद्योगिक विकासमा नभएर फजुल खर्चमा, महँगा सवारी साधनको खरिदमा, वैदेशिक भ्रमणहरूमा अनि अनावश्यक झिनामसिना टुक्रे खर्चमा व्यय भई खेर गइरहेको छ। मलाई गरिब नेपालीले तिरो तिरेर जम्मा भएको रकम चाहिएको होइन। म त फगत रोजगारी सिर्जना र जनशक्ति उत्पादन गर्न सक्ने पाठ्यक्रम एवं नवीनतम कार्यक्रम प्रदान गर्ने एउटा विश्वस्तरीय विश्वविद्यालय स्थापना गर्न सत्प्रयास गरिरहेको छु। नेपालमा हालसालै निकै राम्रा संघसंस्थाहरू जन्मेका पनि छन्।
यदि हामी तेजिला छात्रछात्रालाई विदेशिनबाट बचाउन चाहन्छौं भने आवश्यक परे अझै धेरै राम्रा-राम्रा संघसंस्था अस्तित्वमा ल्याउनुपर्छ। मैले मेरो जीवनभरि योगदान गरिरहेको क्षेत्र शिक्षा नै हो। शिक्षा मेरो प्राणमा छ। मेरा उपलब्धीहरू सबै अभिलेखमा सुरक्षित छन्, जुन कुरा जोसुकैले चाहेमा हेर्न सक्छ। मेरो एउटै सपना बाँकी छ, जसले जागरुक बनाइरहेको छ।
मुलुक छाडेर मैले सही गरें या गलत भन्ने कुरो गत साताअघिको मेरो सन्देशमा केन्द्रित थियो। म पुनः प्रष्ट्याउन चाहन्छु कि म छोटो अवधीका निमित्त मेरा सेवा र सीपलाई मेरो मुलुकले भन्दा पनि कदर गर्ने अर्को मुलुकमा मेरो पेशागत सेवा प्रदान गर्न गएको छु। म अझ थप जीवन्त र जागरुक भएर फर्किनेछु।
बहसको आँधी मेरा उपर होइन कि निवृत्त भएर बस्नुपर्ने तर मुलुकका भलाइका निमित्त रुचिपूर्वक अरू सेवा गर्न चाहने मजस्ता व्यक्ति उपर केन्द्रित हुनुपर्छ।
बहस गुणस्तरीय शिक्षा तथा नवीनतम, खोजमुलक, अनुसन्धानात्मक कार्यक्रमका लागि विदेशिने छात्रछात्राहरूको भयावह संख्यामाथि होस्। धेरै विदेशिने त उच्चतर रोजगार र अब्बल जीवनका लागि नै हो। मेरो एउटा सवाल छ, ‘के हामी त्यस्ता मौका मुलुकभित्रै प्रदान गर्न सक्दैनौं ?’ हामीमाझ त्यस्ता धेरै सक्षम व्यक्ति छन्, जसले मौका मिलेको खण्डमा शिक्षा क्षेत्रमा साँच्चै चमत्कारिक कार्य गरेर देखाउन सक्नेछन्।
पुनश्चः म हाम्रा प्रधानमन्त्री, मन्त्रीगण, राजनेताहरू, तमाम राष्ट्रसेवक कर्मचारीहरू सबैमा उत्कृष्ट मानव संशाधन गर्न सक्ने विश्वस्तरीय विश्वविद्यालय स्थापना गर्ने मौका प्रदान गरियोस् भनी अनुरोध गर्न चाहन्छु। यसो गरे मात्रै हामी असल तथा समृद्ध नेपाल निर्माण गर्न सक्छौं। यदि यहाँहरू पनि मसँग सहमत हुनुहुन्छ भने कृपया यसलाई धेरैभन्दा धेरै प्रसारित गरिदिनुहोला ताकि मुलुकका कार्यकारी जिम्मेवारीमा रहेका व्यक्ति र संस्थाहरूसम्म पुगोस्।
यो पनि पढ्नूस्देश छोड्नुअघि श्रीरामले लेखे : मैले हारें, म गएँप्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४