वासिङ्टन– अमेरिकाको सियाटल विमानस्थलमा एक यात्रीविहीन जहाज बिनाअनुमति उड्यो । त्यसको केही समयपछि स्थानीय एक टापुनजिक दुर्घटनामा पर्यो ।
जहाज बिनाअनुमति उडाउने व्यक्ति विमानस्थलमा पनि गलत तरिकाबाट प्रवेश गरेका थिए । बिनाअनुमति जहाज उड्नासाथ एफ–१५ लडाकु जहाजले त्यसको पिछा गरेको थियो । जहाजसहित दुर्घटनामा परेका व्यक्तिको अवस्था अज्ञात छ ।
अधिकारीहरूले उक्त घटना कुनै आतंककारी गतिविधि भने नभएको बताएका छन् । जहाज उडाएर भाग्ने व्यक्ति सियाटलकै २९ वर्षका युवक हुन् ।
सामाजिक सञ्जालहरूमा पोस्ट गरिएको भिडियोअनुसार उक्त जहाज खतरनाक ढंगबाट उडिरहेको देखिन्छ । सियाटल टाइम्सका अनुसार एयर ट्राफिक कन्ट्रोलरले जहाजलाई विमानस्थलमै फर्काउने प्रयास गरेको थियो ।
उक्त जहाज होराइजन एयरको क्यू-४०० रहेको त्यसको साझेदार अलास्का एयरलाइन्सले जनाएको छ । दुर्घटनामा परेको स्थल केट्रोन टापुस्थित सैन्य अखाडा नजिक हो । उक्त जहाज ७८ सिट क्षमताको हो ।
जहाज उडिरहेको र दुर्घटनामा परेको भिडियो खिचेका स्थानीय लेह मोरिसका अनुसार जहाजको उडान शैली हेर्दा एकदमै डर लागेको थियो । किनभने, त्यो जहाँसुकै खस्न सक्थ्यो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४