जनकपुरधाम- महोत्तरी बर्दिवास-७ की बुद्धमाया विश्वकर्मामाथि केही व्यक्तिले हातपात गरे। बुद्धमायाको साथै उनकी छोरी मनिषा पनि कुटपिटको शिकार बनिन्।
ती दुईजनामाथि कुटपिट गर्ने धेरै ठूलो कारण पनि केहि थिएन्। र, उनीहरुले कुनै अपराध पनि गरेका थिएनन्। तर आफ्नै गाउँठाउँका केहि व्यक्तिले आमा छोरीलाई कुटपिट गरेका थिए। कारण थियो उनीहरुले सार्वजनिक धाराको पानी छोएका थिए।
बुद्धमाया र उनकी छोरी दलित रहेकोले सार्वजनिक धाराको पानी छोएको निहुँमा स्थानीय कमला गिरी र उनका नातेदार रामबाबु दहालले कुटपिट गरेका थिए।
कुटपिटबाट घाइते भएकी बुद्धमाया र मनिषा दुवैजना न्याय माग्न अदालतमा पुगिन। र, अदालतले उनीहरुलाई न्याय दियो पनि । कुटपिट गर्ने दुबैजनलाई महोत्तरी जिल्ला अदालतले ५ महिना कैद सजाय, १० हजार जरिवाना र पीडितलाई ५० हजार क्षतिपूर्ति दिनुपर्ने फैसला सुनायो । यद्यपी, वर्गीय विभेदकै कारण आमा–छोरी गाउँबाट विस्थापित भएकी छिन्, अहिले।
ढिलै भएपनि बुद्धमाया र मनिषाको घटना प्रदेशसभा बैठकमा प्रवेश पाएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकमा बोल्दै नेकपा सांसद सुन्दर विश्वकर्माले छुवाछुत तथा उत्पीडनको शिकार भएकी बुद्धमाया र मनिषालाई समाजमा पुन:स्थापना गराउन माग गरे। जातीय विभेदका कारण गाउँ छोड्न बाध्य भएको पीडा सह्न नसकेर बुद्धमायाले विष सेवन गरेको भन्दै उनको उपचार खर्च सरकारले उपलब्ध गराउनु पर्ने सांसद विश्वकर्माको कथन थियो।
२१ औँ शताब्दीमा समाजिक परिवेश बदलिरहेको अवस्थामा पनि भएको यस्तो घटनाले प्रदेशकै बदनामी गराएको भन्दै विस्थापित भएकी बुद्धमायालाई पुर्नस्थापित गराउनतर्फ प्रदेश सरकारले भूमिका खेल्नुपर्ने सांसद विश्वकर्माले बताए।
नेकपाकै अर्का सांसद शत्रुध्न महतोले धनुषा जिल्लासहित प्रदेशमा बढ्दो आपराधिक घटनाप्रति प्रदेश सरकारको ध्यानाकर्षण गराए। विहिबार राती धनुषाको मिथिला नगरपालिकामा डकैती भएको प्रसंग कोट्याउँदै सांसद महतोले शान्ति सुरक्षा सुदृढ गर्नतर्फ सरकारले चासो नदेखाएको आरोप समेत लगाए।
यसैबीच प्रदेशसभा बैठकले प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिबाट स्वीकृत गरेको छ। आर्थिक तथा योजनामन्त्री विजय यादवले प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४