जनकपुरधाम-संघीय संरचना अनुसार प्रदेशको अस्थायी राजधानी भइसकेपछि जनकपुरमा विशिष्ठ व्यक्तिका साथै सर्वसाधारणको चाप व्हात्तै बढेको छ। दैनिक ठुलो संख्यामा काम विशेष लिएर पुग्नेहरुको संख्या बढ्दो छ ।
तर, सरोकारबाला निकायले सार्वजनिक शौचालय बनाउनतर्फ चासो नदिँदा फोहोर र दुर्गन्धित बन्दै गएको । सार्वजनिक शौचालय नहुँदा सडक छेउमा शौच गर्न बाध्य छन् सर्वसाधारण ।
असोजमा स्थानीय तह निर्वाचनको परिणाम आए लगत्तै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह हातमा झाडु बाकेर सरसफाइ गर्न सडकमा उत्रिए । र, उनलाई साथ दिएका निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुले। उपमहानगरपालिकाले स्वच्छ जनकपुरको परिकल्पना गर्दै तामझामका साथ जानकी मन्दिर प्रांङ्गणबाट हालै अभियानको शुरुवात समेत गरेको छ ।
नगर प्रमुख झैँ प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि झाडु बाकेर सडकमा हिँड्ने मौका गुमाएनन् । मुख्यमन्त्री राउतले पनि हातमा झाडु समाएर सरसफाइको सन्देश दिन खोजे । र, सञ्चारमाध्यमहरुले ग्राहयतामा राख्यो उक्त कार्यलाई ।
तर, अभियानको घोषणा र दुई दिन झाडु बोक्दैमा केहि नहुने यसका लागि समस्याको जडसम्म पुग्नुपर्ने आवश्यक्ता रहेको स्थानीयहरुले बताउन थालेका छन्, अहिले ।
व्यस्त र मानिसको अत्याधिक चाप रहने जनकपुरमा औँलामा गन्ती हुने संख्यामा सार्वजनिक शौचालय रहेको छ। यहाँ रहेका सार्वजनिक शौचालयको समेत सहि प्रयोग हुन नसक्दा फोहोर र दुर्गन्धका कारण नाक थुनेर हिँड्न बाध्य छन् सर्वसाधारण।
जनकपुर उपमहानगरपालिकाको जनक चोक पूर्व धनुषसागरको उत्तरी डिल र रामानन्द चोक गरी दुईटा मात्र सार्वजनिक शौचालय केहि हदसम्म प्रयोगमा छन् । उपमहानगरपालिका क्षेत्र भित्र कुल दशवटा सार्वजनिक शौचालय रहेको बताइएपनि अधिकांश काम नलाग्ने अवस्थामा छन् ।
धनुषसागरको डिलमा निर्माण गरिएको सार्वजनिक शौचालय निर्माण भएको करिब तीन वर्षपछि मात्र सञ्चालनमा आउन सकेको छ । त्यसअघि त्यो सार्वजनिक शौचालय वासस्थानको रुपमा प्रयोग हुँदै आएको थियो ।
सार्वजनिक शौचालयको अभाव र सरसफाइप्रति उपमहानगरपालिकाले प्रभावकारी रणनीति बनाउन नसक्दा मन्दिरकै पर्खाल छेउमा पिसाब गर्नेहरुको लामसमेत देखिने गरिएको छ । रामन्दिरको उत्तरतर्फको ‘पर्खालमा दिसापिसाब गर्न मनाही, यसो गरे जरिवाना हुने’ भनेर बोर्ड नै झुण्ड्याइएको छ । तर कसैले वास्ता गरेका छैनन् । र, उपमहानगरपालिकाले कारबाही नै गर्न सकेको छ, त्यस्ता व्यक्तिलाई ।
यसरी खुल्लास्थानमा पिसाब फेर्नु रहर नभएर बाध्यता रहेको बताउँछन् स्थानीय चन्दन मण्डल । सम्बन्धीत निकायले दिसापिसाब गर्न स्थान उपलब्ध नगराएपछि आफूहरुले के गर्ने उनको प्रश्न थियो ।
यहाँको सर्वसाधारणको चापको तुलनमा अहिले भएको सार्वजनिक शौचालय पर्याप्त नहरेको उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरु नै बताउँछन् । सरसफाइका लागि उपमहानगरपालिकाले रणनीतिक योजना तर्जुमा गर्न लागेको एक वडा अध्यक्षले बताए । ठोस र रणनीतिक योजना अनुसार अगाडी नबढे जनकपुरलाई सफा बनाउन समस्या हुने उनको भनाइ छ । उनका अनुसार उपमहानगरपालिकाले चाँडै नगर क्षेत्रमा आधुनिक सार्वजनिक शौचालय निर्माणको तयारीमा गरिरहेको छ ।
२०१७ डिसेम्बर सम्म धनुषालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिइएको थियो । जिल्लाका अधिकांश गाउँहरु खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसके पनि प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाले यो सौभाग्य प्राप्त गर्न सकेको छैन् । हाल सम्म यहाँको तीनवटा वडा मात्र खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुन सकेको छ, त्यो पनि उपमहानगरपालिकामा समावेश हुनु पूर्व ।
पहिलो चरणमा एक घर एक शौचालयको उद्देश्यका साथ शुरु गरिएको खुल्ला दिसामुक्त घोषणा अभियान जनकपुर उपमहानगरपालिकामा प्रभावकारी हुन नसकेको अभियानका तत्कालीन फोकल पर्सन विजय यादवले बताए । नयाँ संरचना अनुसार स्थानीय तहहरुले चासो नदिँदा अभियान सफल हुन नसकेको उनको भनाइ छ । एक तथ्यांक अनुसार जनकपुर उपमहानगरपालिका भित्र १३ प्रतिशत घरमा शौचालय प्रयोग भएको छैन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४