जाजरकोट- अपडेट : जाजरकोटको भेरी नगरपालिका-३ मा गएको पहिरोमा परी ज्यान गुमाएका आठमध्ये सात जनाको सनाखत भएको छ। पहिरोमा परी एकै घरका तीन छोरी र श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।
पहिरोमा परी ज्यान गुमाउनेमा भेरी नगरपालिका-६ गंगटियाका शितला लुहार उनका छोरीहरु भावना, रञ्जना र मनिषा छन् । उनका श्रीमान खड्गबहादुर लुहारको भने जीवितै उद्धार गरिएको छ । मजदुरी गर्दै आएका उनीहरु सबै तिर्थराज बोहोराको घरमा डेरागरी बसेका थिए ।
त्यस्तै भेरीनगरपालिका-३ घरमूली तिर्थराज बोहोराकी छोरी नग्मा बोहरा र सोही ठाउँका नरेन्द्र परियार र नविन परियारको पहिरोमा परेर ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुने एकजनाको परिचय खुल्न सकेको छैन ।
बेपत्ता रहेका गोविन्द परियारको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले खोजी जारी राखेका छन् । अहिले पनि अविरल वर्षा जारी रहेकाले केही बेर खोजीकार्य स्थगित गरिएको छ । सोमबार बिहानैदेखि पुनः खोजी कार्य गर्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक रवीन्द्र बहादुर सिंहले नेपाल समयलाई जानकारी दिए ।
मृत आठै जनाको शव जिल्ला अस्पताल जाजरकोट पुर्याइएको छ।