इटहरी- समय फेरिएसँगै युवा पुस्ताका सोच र सवालहरू पनि फेरिन्छन् । कतिसम्म भने सामान्य ग्रहदशा हेर्न ज्योतिषीकोमा जानेहरूका प्राथमिकता र प्रश्नहरू पनि समयसँगै फेरिन थालेका छन् ।
पेशा, व्यवसाय, पढाइ र धनदौलतबारे बढी चासो राख्ने युवा पुस्ताले पछिल्लो समयमा आफ्ना निक्कै निजी कुराहरू पनि ज्योतिषीलाई सोध्न थालेका छन् ।
इटहरीमा ज्योतिषसाथी नामक परामर्श सेवा सञ्चालन गर्दै आएका कृष्णप्रसाद कोइरालाका अनुसार युवा-युवती आफ्ना व्यक्तिगत सवालहरू बोकेर आउने क्रम बढेको छ । धरानको पिण्डेश्वर विद्यापीठमा प्राध्यापन गर्ने उनी भन्छन्, ‘पहिले बयस्क व्यक्ति मात्र आउँथे, अहिले युवा पुस्ताको आउजाउ बाक्लिएको छ ।’
इटहरीकै ज्योतिष परामर्शदाता कमलप्रसाद दाहाल पनि नयाँ पुस्ताले आजकाल आफ्ना निजी प्रश्नहरू बढी राख्ने गरेको बताउँछन् । सूचना प्रविधिको सहज पहुँच तथा खुलस्त स्वभाव बढ्दै गएपछि युवा पुस्तामा आफूलाई लागेको जिज्ञासा निर्धक्क सोध्ने बानीको विकास भएको दाहालको अनुभव छ । दक्षिण एसियाली ज्योतिष महासंघका उपमहासचिवसमेत रहेका दाहालका अनुसार ज्योतिषशास्त्रको बढ्दो लोकप्रियताले गर्दा युवा तथा किशोर–किशोरीहरू पनि आफ्ना व्यक्तिगत कुरा सोध्न उत्साहित देखिन्छन् ।
बाह्र भावहरूमध्ये सातौंबाट सन्तान र विपरित लिंगीप्रतिको आशक्ति अनि छैटौं भावबाट यौनशक्ति आदिका बारेमा जानकारी हुने ज्योतिषका जानकारहरू बताउँछन् ।
सबैभन्दा धेरै सोधिन्छन्- प्रेम, यौन र विवाहचलिआएका तिथिमिति तथा साइत, लगन अनि विभिन्न धार्मिक/सांस्कृतिक पर्व विशेषबारे पुराना पुस्ताको जिज्ञासा बढी पाइन्थ्यो । नयाँ पुस्ताले भने सबैभन्दा बढी सोध्ने गर्छन्– प्रेम, यौन र विवाह । प्रेम टिक्छ कि टिक्दैन, प्रेम वान साइडेड हुन्छ कि दुईतर्फी तथा चलेको प्रेम सम्बन्धले विवाहको रूप धारण गर्छ कि गर्दैनजस्ता जिज्ञासा युवा–युवती र किशोर-किशोरीको हुने गर्छ ।
‘फेसबुकबाटै जन्मदिन, बार, समय भनेर आफ्नो र साथीको सम्बन्धबारे जिज्ञासा राख्नेहरू धेरै छन्,’ काठमाडौंका ज्योतिषी दीपक पौडेल भन्छन्, ‘कतिपय त आफूले कति जनासम्म प्रेमी बनाउने योग छ भन्दै प्रश्न गर्छन् ।’ प्रेम र विवाहबारे हाकाहाकी प्रश्न राख्ने नयाँ पुस्ता यौनका विषयमा पनि घुमाउरो तरिकाले जिज्ञासा राख्न थालेको ज्योतिषी पौडेल बताउँछन् । भन्छन्, ‘कतिपय नव जोडीहरू त कुन आसनमा यौन सम्बन्ध राख्दा छोरा र कुन आसनमा बस्दा छोरी जन्मन्छ भनेर समेत जिज्ञासा राख्छन् ।’
ज्योतिषशास्त्रमा बढ्दो विश्वास
कुनै बेला प्रौढ र विशुद्ध धार्मिक आस्था राख्नेहरूले मात्रै पत्याउने गर्थे, ज्योतिषशास्त्रलाई । पछिल्लो समय ठूलो माग रहेको संस्कृतका विद्यार्थी सम्राट गौतम बताउँछन् । ‘ज्योतिषशास्त्र भनेको विल्कुल वैज्ञानिक पद्धतिमा आधारित प्राचीन प्रचलन हो तर यसलाई खाली कर्मकाण्ड र पुरोहितले मात्रै गर्ने सामान्य कामको रूपमा बुझिएको थियो,’ भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा ज्योतिष पढ्दै आएका गौतम भन्छन्, ‘नयाँ पुस्ताको ज्योतिषीय जानकारीको खोज र यसलाई विज्ञानसम्मत तरिकाले गरेको व्याख्याका कारण लोकप्रियता बढेको छ ।’
ज्योतिषबारे धेरै ज्ञान नभएका तर धेरै विश्वास राख्ने विराटनगरका विपुल ढकाल भने टीभी र रेडियोका ज्योतिष कार्यक्रम हेरेपछि विश्वास बढेको बताउँछन् । ढकाल भन्छन्, ‘सबै कुराहरू तर्कसहित भनेकाले ज्योतिष विद्यामा पनि दम छ भन्ने बुझेर पत्यार लाग्न थालेको हो ।’
ढकालजस्तै टीभी र रेडियोमा ज्योतिषशास्त्रबारेका कार्यक्रमहरू आएपछि धेरैले यसप्रति ध्यान दिन थालेको ज्योतिष परामर्शदाता कृष्णप्रसाद कोइराला बताउँछन् । ‘पहिले–पहिले ज्योतिषको सामान्य जानकारी गाउँघरमा हुने पण्डित र पुरोहितले भन्ने फलादेश मात्रै थियो,’ कोइराला भन्छन्, ‘आजकाल भने विभिन्न धर्म र सम्प्रदायका मानिससमेत पढेर, बुझेर आएका कारण ज्योतिषशास्त्रको विश्वसनीयता बढेर गएको छ ।’
हरेक दिन सबैजसो पत्रपत्रिकामा आउने राशिफलका कारण पनि ज्योतिषशास्त्रमा आम सर्वसाधारणको समेत लगाव बढेर गएको देखिन्छ । फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालको विकास तथा ज्योतिषशास्त्रका सफ्टवेयरहरूको निर्माणले पनि यसप्रतिको आकर्षण बढेर गएको जानकारहरू बताउँछन् ।
‘पहिले–पहिले घर–घर धाएर मात्रै पाउने जानकारी आजकाल फोन कल, फेसबुक च्याट र एसएमएसबाटै सम्भव हुन थालेको छ,’ ज्योतिषका विद्यार्थी गौतम भन्छन्, ‘अझ महिला ज्योतिषीहरूको संख्यामा समेत व्यापक वृद्धि भएकाले महिलाले पनि आफ्ना निक्कै निजी कुराहरू सहजै सोध्ने अवस्था आएको छ ।’
‘कसैको ग्रह पूरा विपरित लिंगीप्रति आशक्त मात्रैको देखिएमा ग्रह मिलेन, प्रेम वा विवाहलाई गाह्रो छ पनि भन्नुपर्छ किनभने पढ्ने उमेरका युवा–युवतीलाई राम्रो छ भनेमा सबै बिर्सेर त्यतै अल्झिने भय हुन्छ ।’
प्रेम र यौनबारे ज्योतिषशास्त्र
ज्योतिष परामर्शदाताहरूका अनुसार ज्योतिषशास्त्रले व्यक्तिको जीवनका राम्रा र नराम्रा समयका अतिरिक्त विवाहबारे पनि जानकारी दिन्छ । दक्षिण एसियाली ज्योतिष महासंघका उपमहासचिव दाहालका अनुसार ज्योतिषशास्त्रले समय र तिथिमिति मिलेका व्यक्तिका सबैजसो कुराको फलादेश देखाउँछ । उनी भन्छन्, ‘व्यापार, पढाइ, वैदेशिक यात्रा र कमाइ गणित गरेर निकाल्न सकिन्छ । साथै, व्यक्तिको आचरण र व्यवहार पनि ज्योतिषशास्त्रले देख्छ ।’
दाहालका अनुसार मान्छेले पृथ्वीमा जन्मँदाको समयका चलायमान ग्रह, नक्षत्र र तिनले जन्मेको व्यक्तिलाई पार्ने प्रभावका आधारमा फलादेश भन्न सकिन्छ । विभिन्न ग्रह र नक्षत्रहरूको चाल–चलनको अध्ययन, तिनको प्रभाव र असर हिसाब गरेर भनिने फलादेशले धेरै कुरा पत्ता लगाउने दाहालको भनाइ छ ।
युवा पुस्ताले धेरै सोध्ने प्रेम र यौनका विषयमा पनि ज्योतिषशास्त्रले बताउने ज्योतिषीहरू बताउँछन् । हरेक व्यक्तिको जन्मकुण्डली हेरेर त्यहाँका विभिन्न बाह्र भावहरूको अध्ययन गरेपछि सम्बन्धित विषयमा भन्न र अनुमान गर्न सकिने ज्योतिषहरूको भनाइ छ ।
बाह्र भावहरूमध्ये सातौंबाट सन्तान र विपरित लिंगीप्रतिको आशक्ति अनि छैटौं भावबाट यौनशक्ति आदिका बारेमा जानकारी हुने ज्योतिषका जानकारहरू बताउँछन् । यिनै छैटौं र सातौं भावहरू पढेर व्यक्तिको सम्बन्ध साँच्चै लायकको हो वा यौन आकर्षण मात्रै हो भन्न सकिने ज्योतिषी कृष्णप्रसाद कोइराला बताउँछन् । भन्छन्, ‘कसैको ग्रह पूरा विपरित लिंगीप्रति आशक्त मात्रैको देखिएमा ग्रह मिलेन, प्रेम वा विवाहलाई गाह्रो छ पनि भन्नुपर्छ किनभने पढ्ने उमेरका युवा–युवतीलाई राम्रो छ भनेमा सबै बिर्सेर त्यतै अल्झिने भय हुन्छ
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४