काठमाडौं- गत ५ साउनमा भक्तपुरको चाँगुनारायण-५ ढुंगेपाटीमा बा१क ८५५१ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा त्यसका सहचालक हिमाल घर्ती मगरको मृत्यु भयो । ट्रक चालक लक्ष्मीजंग सुलुले मादक पदार्थ सेवन गरेर ट्रक चलाएको प्रहरी अनुसन्धानबाट खुल्यो ।
१७ चैत ०७४ मा भक्तपुरको गठ्ठाघर चोकमा काठमाडौंबाट भक्तपुर जाँदै गरेको बा८३प ४०४४ नम्बरको स्कुटर सडकको डिभाइडरमा ठोक्किँदा चालक दीपक खत्रीको मृत्यु भयो । प्रहरीका अनुसार ३१ वर्षीय खत्रीले मादक पदार्थ सेवन गरी सवारी चलाएको खुलेको छ ।
९ माघ ०७४ मा काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालनजिक भएको बा९१प ४३७१ नम्बरको मोटरसाइकल दुर्घटनामा २७ वर्षीय चालक विक्रम सुवेदीको मृत्यु भयो । अस्पतालको रिपोर्टमा सुवेदीले मादक पदार्थ सेवन गरेको उल्लेख छ ।
६ असोज ०७४ मा नयाँ बानेश्वर चोकमा बा१५च ५४३१ नम्बरको कारले बा७७प ४२२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार भक्तपुर सिरुटारका २६ वर्षीय मञ्जित राउतको मृत्यु भयो । प्रहरी नियन्त्रणमा रहेका कार चालक ३४ वर्षीय उद्धव चालिसेले मदिरा सेवन गरेर सवारी चलाएका कारण दुर्घटना भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
यी पछिल्ला केही घटना मात्र हुन्, जसले मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति रोक्न प्रहरीले चलाएको अभियान निष्प्रभावी बन्दै गएको संकेत गर्छन् ।
२२ साउन ०६६ मा बिहान साढे पाँच बजे काठमाडौं भोटाहिटीमा बा४च ८०३० नम्बरको होन्डा सिटी कारले कुल्चेर पाँच भारतीय नागरिकसहित ६ जनाको ज्यान गएको कहालीलाग्दो घटनापछि प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरू विरुद्ध अभियानै चलायो । छोटकरीमा मापसे भनिने उक्त अभियानका कारण मदिरा सेवन गरेर सवारी साधन चलाउने प्रवृत्ति मात्र कम भएन, उपत्यकाको सडक दुर्घटनाको दर पनि ह्वात्तै घटायो ।
व्यापारिक घरानाका २० वर्षीय विप्लवमान सिंहले चलाएको कारले कुल्चिँदा घाइते भएका ६ जनाको ५० मिटर दूरीमा रहेको वीर अस्पतालसम्म पुग्न नपाउँदै मृत्यु भएको थियो । कार चालक सिंह थापाथलीस्थित एभरेस्ट कलेजमा कक्षा १२ अध्ययन गर्दै थिए, त्यतिबेला । होटेल सोल्टीमा अत्यधिक मदिरा सेवन गरेर निस्किएका थिए, उनी ।
त्यतिबेला महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख थिए, पूर्वएआईजी गणेशराज राई । मापसे अभियानकै कारण उनले राम्रो चर्चा पाएका थिए, उनले त्यतिबेला ।
मापसेविरुद्ध शून्य सहनशीलताको नीति लिएका तत्कालीन डीआईजी राईको नेतृत्वमा रहेको उपत्यकाको ट्राफिक प्रहरीले उच्च तहका कर्मचारी, राजनीतिक दलका नेता, परिचित कलाकार र सुरक्षा निकायका उच्च अधिकारीहरूलाई समेत कारवाहीको दायरामा ल्याएको थियो । ट्राफिक प्रहरीको अभियानलाई नेपाल प्रहरीले देशव्यापी रूप दिने प्रयास पनि गरेको थियो, त्यतिबेला ।
अनौठो के भयो भने प्रहरीको उक्त अभियानविरुद्ध नर्सिङ होमहरू आन्दोलनमा उत्रिए । उपत्यकाका नर्सिङ होमहरूले सवारी दुर्घटनापछिको उपचारबाट राम्रो आम्दानी गरिरहेको त्यतिबेला खुलासा भएको थियो ।
शुरुवाति दिनमा मापसे गरेका सवारी चालकलाई नियन्त्रणमा लिई रातभर हिरासतमा राख्ने तथा सीधै एक हजार रुपैयाँ जरिवाना गराउने नियमका कारण राजधानीका बासिन्दामा उच्च नैतिक दबाब सिर्जना भएको थियो । सवारी साधन नियन्त्रणमा लिएर पैदल घर जान बाध्यसमेत बनाएको थियो, प्रहरीले ।
केही समय मुखले सुँघेर मापसे जाँच गरियो । पछि 'ब्रेथलाइजर'बाट जाँच गर्ने व्यवस्था मिलाइयो । शुरुमा दुई वटा मात्र मेसिन थिए, ट्राफिकसँग । हाल एक सय सात वटा पुगिसकेका छन् ।
पूर्वएआईजी राईको भनाइमा थोरै खुकुलो बनाउनासाथ मापसे गरेर सवारी चलाउने बढिहाल्छन् ।
ट्राफिक नियमन गर्ने प्रहरीलाई प्रोत्साहनस्वरूप दिइन थालेको १५ प्रतिशत भत्ताको व्यवस्था करिब एक वर्षअघि तत्कालीन गृहमन्त्री जनार्दन शर्माले हटाइदिए । सोही कारण ट्राफिक प्रहरीले मापसे जाँचलाई खुकुलो बनाएको बताउनेहरू पनि छन् ।
ट्राफिक महाशाखाको तथ्यांकबाट मापसे गरेर सवारी साधन चलाउने संख्या व्हात्तै बढेको देखिन्छ । तथ्यांकअनुसार साँझ ६ देखि मध्यरातिसम्म मापसे गरेर सवारी चलाउनेहरू बढी भेटिने गरेका छन् । दुर्घटनाको दर पनि सोही अवधिमा बढी देखिएको छ ।
महाशाखाका प्रवक्ता एसपी सुरेन्द्र मैनाली भने उपत्यकाका विभिन्न ठाउँमा समूह नै बनाएर जाँच गर्ने गरिएको बताउँछन् ।
अघिल्लो आर्थिक वर्षभन्दा गत आवमा मापसे गरेर सवारी साधन चलाइएका घटना ३२ प्रतिशतले बढेको देखिएको छ । पाँच वर्षको तथ्यांक केलाउँदा मापसेका कारण दुर्घटना २० प्रतिशतभन्दा बढीले वृद्धि भएको देखिन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४