काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् ।
कसैले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको निर्णय अन्योलमा परेको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले संसद् र अदालत पार्टीको बन्दी बनाउन खोजिएको विषयलाई प्राथमिकतामा पारेका छन् ।
'जोशीको निर्णय अन्योलमा' शीर्षकमा मुख्य समाचार छापेको आजको अन्नपूर्ण पोस्ट्ले सुनवाइ समितिको बैठक सारेको सारै गरेर जोशीको निर्णय अन्योलमा पारिएको उल्लेख गरेको छ । बुधबार बसेको समितिको बैठक विषयमा प्रवेश नै नगरि शुक्रबारसम्मका लागि स्थगित गरिएको थियो । नागरिक दैनिकले 'सुनवाई समिति अनिर्णित, बैठक फेरि स्थगित' शीर्षकमा खबर छापेको छ ।
नयाँ पत्रिकाले भने 'संसद् र अदालत पार्टीको बन्दी' शीर्षकमा मुख्य समाचार लेखेको छ । उसले प्रस्तावित प्रधानन्यायाधीशको प्रमाणपत्र र आदेशमा त्रुटी भए कारबाही हुनुपर्ने र सही भए सम्मानपूर्वक अनुमोदन गर्नुपर्नेमा सत्तापक्ष र प्रतिपक्ष राजनीतिक लेनदेनमा लागेको टिप्पणी गरेको छ । नयाँ पत्रिकाले सत्तापक्ष दलले संसदीय समितिलाई खेलौना बनाएको उल्लेख गरेको छ भने प्रतिपक्षमा हुँदा पनि कांग्रेस पुरानै शैलीमा उत्रिएको जनाएको छ ।
यस्तै नयाँ पत्रिकाले खानेपानी संस्थानले नै सिंहदरबारमा जारको पानीको व्यापार गरेको खबर छापेको छ भने अन्नपूर्णले विदेश भ्रमणमा गएका १५ सय कर्मचारीमाथि सरकारले छानविन थालेको खबरलाई महत्व दिएको छ ।
कान्तिपुर दैनिकले कैलालीमा बलात्कार पछि युवतीको बर्बर हत्या भएको विषयलाई मुख्य समाचार बनाएको छ । नागरिक दैनिकले भने सिक्टा सिँचाइ आयोजनामा खेलाची भएको उल्लेख गर्दै भत्केको नहर कसले बनाउने ? शीर्षकमा प्रमुख खबर लेखेको छ । यस आयोजनामा मर्मतको दायित्व ठेकेदारको हो भनेर सिँचाइ विभागले दावी गरिरहेको छ भने दुई वर्षअघि नै आफूहरुको दाहित्व सकिएको ठेकेदार कम्पनीले जिकीर गरेको नागरिकले लेखेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४