मंगलबार, वैशाख ११, २०८१

यसरी खुल्दैछन् चार नयाँ हवाई रुट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- अन्तर्राष्ट्रिय उडानका लागि नेपाली आकाश प्रयोग गर्न चार वटा हवाई विन्दु खोल्ने तयारी सरकारले अगाडि बढाएको छ। खासगरी, भैरहवा र पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर प्रवेश विन्दु खोल्न लागिएको हो।

महेन्द्रनगर, नेपालगञ्ज, विराटनगर र जनकपुरको आकाशमार्फत् हवाई विन्दु खोल्ने विषयलाई मुख्य प्राथमिकता दिइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। र, त्यसबाट हवाई दूरी छोटो हुने प्राधिकरणको भनाइ छ।

जनकपुर र विराटनगरबाट अन्तर्राष्ट्रिय प्रवेश विन्दु खोल्ने काम अगाडि बढिसकेको छ। 

प्राधिकरणका अनुसार हालसम्म महेन्द्रनगर रुट हुँदै विमानहरू बाहिरिने गरेका छन् तर प्रवेशका लागि अनुमति छैन। नेपालगञ्जबाट भने जाने/आउने दुवै अनुमति छैन। 

सोही कारण अन्तर्राष्ट्रिय उडानमा लाग्ने हवाई दूरी घटाउन तथा सहज र व्यवस्थित बनाउन नेपालगञ्ज र महेन्द्रनगरका प्रवेश विन्दु मागिएको प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले बताए। 

उनका अनुसार ती प्रवेश विन्दु माग गर्दै नेपालले एक महिनाअघि भारतसँग प्रस्ताव पठाएको छ। श्रेष्ठले भने, 'हाम्रो तर्फबाट काम द्रुत गतिमा अगाडि बढेको छ।' 

कूटनीतिक माध्यमबाट प्रक्रिया अगाडि बढ्ने भएकाले प्राधिकरणले उक्त प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको थियो। मन्त्रालयले, परराष्ट्र र परराष्ट्रले भारतीय समकक्षीसँग प्रस्ताव पठाएको हो। भारतले उक्त प्रस्तावमा 'रेस्पोन्स' पनि गरिसकेको छ। 

प्राधिकरणका अधिकारीहरूका अनुसार सेप्टेम्बरसम्ममा महेन्द्रनगर र नेपालगञ्ज हवाई विन्दुको जाँचबुझ भइसक्नेछ। त्यसपछि प्राधिकरणका लागि बाटो खुल्नेछ। बीचमा कुनै समस्या नआई कामले गति पाए एक वर्षभित्र प्रवेश विन्दु खुल्ने प्रवक्ता श्रेष्ठको भनाइ छ। 

महेन्द्रनगर, नेपालगञ्ज, विराटनगर र जनकपुरबाट नयाँ हवाई मार्ग खुलेपछि दूरी छोटिने, इन्धन बचत र भाडा सस्तिने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ।


पूर्व-पश्चिम दुवैतर्फबाट आउने विमानहरू हालसम्म सिमराबाट मात्र नेपालमा प्रवेश गर्न पाउँछन्। भारतको नयाँदिल्ली 'फ्लाइट इन्फरमेसन रिजन' (एफआईआर)बाट नेपाल प्रवेश गर्दा महेन्द्रनगरको प्रवेश विन्दु छोटो पर्छ। तर, सिमरातर्फबाट घुमेर आउनुपरिरहेको छ। त्यसो गर्दा इन्धन र हवाई दूरी बढी पर्न जान्छ। 

पोखराको कुरा अझ जटिल छ। नेपालको पश्चिमी भेगबाट आएका विमानहरू सिमरा पुगेर फेरि पोखरातिर मोडिनुपर्ने बाध्यता छ। त्यसको साटो नेपालगञ्जको आकाश हुँदै सीधै पोखरा अवतरण गर्दा रुट छोटो पर्ने मात्र नभई इन्धन पनि बचत हुन्छ। 

रुट छोटो हुँदा विमानको भाडासमेत सस्तिने प्राधिकरणका निर्देशक दीपक बरालले बताए।

उनका अनुसार यी दुई नयाँ प्रवेश विन्दुबाट विमानहरू नयाँदिल्लीबाट काठमाडौं अवतरण गर्दा १४ नटिकल माइल दूरी घट्छ। भैरहवामा अवतरण गर्नुपर्दा एक सय ६९ र पोखराका लागि एक सय ६५ नटिकल माइल दूरी कम हुन्छ। 



जनकपुर र विराटनगरमा 'सेफ्टी एसेस्मेन्ट'

नेपाल छिर्ने हवाई विन्दुका लागि जनकपुर र विराटनगर रुटको सुरक्षा अध्ययन (सेफ्टी एसेस्मेन्ट) को प्रक्रिया अगाडि बढेको छ। प्रवेश विन्दु उपलब्ध गराउन भारत सकारात्मक रहेको निर्देशक बरालले जानकारी दिए। 

उनका अनुसार ती रुट हुँदै बाहिरिन आवश्यक छैन। महेन्द्रनगरको आकाशबाट बाहिरिन सकिन्छ। 'अहिले सेफ्टी एसेस्मेन्टसम्बन्धी आन्तरिक काम भइरहेको छ,' बरालले भने। 

'सेफ्टी एसेस्मेन्ट' सकिएपछि भारतले रुट अनुमतिको प्रक्रिया अगाडि बढाउनेछ। नेपाल-भारत दुवै पक्षले त्यसको अन्तिम टुंगो लगाउनेछन्। अन्तर्राष्ट्रिय हवाई मार्ग भएकाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को अनुमति आवश्यक पर्छ। नयाँ हवाई मार्ग अन्तर्राष्ट्रिय चार्टमा पनि उल्लेख हुनुपर्छ। त्यसका लागि अलग्गै प्रक्रिया अवलम्बन गर्नुपर्छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्