काठमाडौं- मुलुकभर ८६.२९ प्रतिशत धान रोपाई भएको छ । १५ लाख ५२ हजार ४६९ हेक्टर क्षेत्रफल धान रोप्ने लक्ष्य राखिएकोमा हालसम्म १३ लाख ३९ हजार ६५३ हेक्टर क्षेत्रफलमा धान रोपिएको हो ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको सोमबारको तथ्याङ्क अनुसार गएको वर्ष यसै अबधिमा अर्थात साउन १६ गतेसम्ममा मुलकभर ७७.०३ प्रतिशत मात्रै धान रोपिएको थियो । त्यसको तुलनामा यो वर्ष १२ प्रतिशत बढेको हो ।
त्यस्तै हालसम्ममा सबैभन्दा बढी उच्च पहाडमा ८७.५९ प्रतिशत धान रोपाई भएको छ । ५८ हजार १५८ हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य राखिएकोमा हालसम्म उक्त क्षेत्रमा ५० हजार ९३९ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ ।
त्यसपछि मध्य पहाडमा रोपाई भएको छ । ३ लाख ९९ हजार ६७५ हेक्टर क्षेत्रफलमा धान रोप्ने अपेक्षा गरिएकोमा ८६.६५ प्रतिशत अर्थात ३ लाख ४६ हजार ३२२ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ ।
सबैभन्दा बढी धान रोपाई हुने तराई क्षेत्रमा ८६.०९ प्रतिशत रोपाई भएको छ । १० लाख ९४ हजार ६३६ हेक्टर क्षेत्रफल मध्ये हालसम्ममा ९ लाख ४२ हजार ३९३ हेक्टर क्षेत्रफलमा धान रोपिएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४