सुर्खेत- कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी प्रा डा गोविन्द केसीलाई जुम्लाबाट काठमाडौं लैजानेक्रममा जुम्लामा भएको घटना दुर्भाग्यपूर्ण रहेको बताएका छन्।
कर्णाली प्रदेशको मंगलबार प्रदेशसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले यस्तो बताएका हुन्। उनले भने, ‘जुम्लामा भएको घटना दुःखद छ तर घटना सरकारको चाहानले घटेको होइन।’
‘जुम्लामा रक्तपात हेर्न चाहाने केही तत्वहरुका कारण घटना हुन पुग्यो’मन्त्री भण्डारीले संसदलाई जवाफ दिँदै भने, ‘हामीले त्यहाँको सीडीओ लगायत सबै पक्षसँग शान्तिपूर्ण रुपमा समाधान खोज्न भन्दै कुराकानी गरेका थियौं।’
मन्त्री भण्डारीले नम्र हुँदै भने, ‘अस्पतालमा भएको क्षति र दमनप्रति सरकार दुःखित छ।’ ‘अस्पताल जन्माउनको कुनै समय म कठघरामा उभिएको थिएँ, आज त्यही अस्पताल तोडिएको बारेमा यहाँहरूलाई जवाफ दिन कठघरामा उभिएको छु।’
जुम्ला घटनामा सरकार बलप्रयोग भन्दै जुम्लाकै प्रदेश सभासद दिनबन्दु श्रेष्ठले ११ गतेको बैठमा सरकारको जवाफ मागेका थिए। श्रावण ३ गते प्रदेश सरकारको सहयोगमा डा केसीलाई अनसन बसेकै अवस्थामा जबर्जस्ति काठमाडौं पुर्याइएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४