काठमाडौं- उपाधिको दावेदार विभागीय टोली एपिएफ क्लब राजधानीमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै लिगको उपाधि नजिक पुगेको हो ।
लिगमा एपिएफको यो लगातार तेस्रो जित हो । अब लगको अन्तिम खेलमा विभागीय त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा जित हात पारे एपिएफ लिग च्याम्पियन बन्नेछ । एपिएफ र आर्मीको समान ९ अंक छ ।
गोल अनतरमा आर्मी दोस्रो स्थानमा छ । एपिएफलाई उपाभि नजिक पुर्याउन अनिता केसी र सरु लिम्बुले गोल गरिन् । २३ औं मिनेटमा अनिता केसीको गोलबाट एपिएफले खेलमा अग्रता बनाएको थियो ।
पहिलो हाफमा १-० को अग्रता बनाएको एपिएफले दोस्रो हाफको शुरुमै गोल गर्दै टिमको जित सुनिश्चित गरे । ४७ औं मिनेटमा सरु लिम्बुले गोल गरेकी थिइन् । त्यसपछि थप गोल हुन नसक्दा एपिएफ २-० ले सहजै विजयी भयो ।
यता पुलिसको भने लिगमा यो लगातार तेस्रो हार हो । पुलिसले अब मंगलबार काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४