काठमाडौं-निजी लगानीमा सञ्चालित शिवम् सिमेन्टस लिमिटेडले आईतबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित जिल्ला मकवानपुरका स्थानीयबासिन्दाको लागि ८ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।
चालु आर्थिक ०७५/७६ को बजेटमार्फत १ अर्ब वा सोभन्दा बढी पुँजीमा स्थापित सबै उत्पादनमुलक कम्पनीहरुलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई पुँजी बजारमा सूचिकृत हुनु पर्ने व्यवस्था गरेपछि सिमेन्ट उद्योगमध्ये शिवम्ले पहिलो पटक आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले स्थानीय बासिन्दालाई प्रतिसाधारण शेयर १०० रुपैयाँमा प्रिमियम रकम २०० रुपैयाँ थप गरी ३०० रुपैयाँमा आईपीओ निष्कासन गरेको छ ।
आईपीओ निष्कासनबाट उद्योगले २६ करोड ४० लाख रुपैयाँ संकलन गर्ने बताएको छ । उक्त आईपीओ निष्कासन साउन १३ देखि भदौ ११ गतेसम्म रहनेछ ।
मकवानपुरवासीले न्युनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने कम्पनीको भनाइ छ ।
स्थानीयबासिन्दालाई बाँडफाँड गरेको ३ दिनभित्र उद्योगले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने बताएको छ । उक्त आईपीओ प्रतिकित्ता ३०० रुपैयाँ प्रिमिय थप गरी ४०० रुपैयाँको निष्कासन गर्ने भएको हो ।
दोस्रो चरणमा ४४ लाख कित्ता आईपीओ निष्कासन गर्ने र जसबाट १ अर्ब ७६ करोड रुपैयाँ संकलन गर्ने कम्पनीको भनाइ छ ।
सर्वसाधारण र स्थानीयबासिन्दाबाट कुल २ अर्ब २ करोड ४० लाख रुपैयाँ संकलन हुनेछ ।
कम्पनीको अनुसार आईपीओ बाँडफाँटपछि कम्पनीको चुत्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ हुनेछ । उल्लेखित २ अर्ब २ करोड ४० लाख रुपैयाँको आईपीओ प्रत्याभूति (अण्डरराइटिङ) एनआईबीएल एस क्यापिटल लिमिटेडले गरेको छ ।
कम्पनीको गएको आर्थिक वर्ष ०७४/७५ मा ११४ करोड नाफा हुने अनुमान गरेकोमा चैतसम्ममा ९३ करोड रुपैयाँ नाफा भइसकेको छ ।
त्यस्तै चालु आव ०७५/७६ मा १४३ करोड रुपैयाँ भने ०७६/७७ मा १८५ करोड रुपैयाँ नाफा गर्ने अनुमान गरिएको छ ।
जसअनुसार आउँदो २ वर्षभित्र कम्पनीको नाफा ६२ प्रतिशत बढ्ने भएको देखिन्छ ।
२ वर्षमा उद्योगको सिमेन्ट बिक्रीबाट हुने आम्दानी १५.२५ प्रतिशत बढेर १२ अर्ब ६० करोड ८६ लाख रुपैयाँ पुग्ने आब्हानपत्रमा उल्लेख छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४