काठमाडौं- २६ दिनदेखि अनशनरत डा गोविन्द केसी पक्षधर र सरकारी वार्ता टोली निर्णायक वार्तामा बसेका छन् । सिंहदरवार स्थित शिक्षा मन्त्राललमा जारी वार्तालाई निर्णायक बनाउने गरि दुबै पक्ष वार्तामा बसेका हुन् ।
आजको वार्तामा दुबै पक्ष लचकताका साथ प्रस्तुत भएको स्रोतले जनाएको छ । सकेसम्म आजै डा केसीको अनशन तोडाउने गरी दुबैपक्षबीच छलफल भइरहेको वार्तामा सहभागी एक सदस्य जानकारी दिए ।
डा केसीलाई काठमडौं ल्याएपछि करिब ५ दिन जसो वार्ता ठप्प रहेको अवस्थामा मंगलबारबाट एकाएक वार्ताको माहोल तयार भएको थियो । हिजोदेखि नै अनौपचारिक छलफल भएको थियो भने साझ औपचारिक वार्ता भएको थियो । हिजोको वार्तामा विधेयक फिर्ता लिने विषयमा सहमती हुन सकेको थिएन् । आज सो विषयमा सहमती जुटाउन दुवै पक्ष लचक बनेका छन् ।
चिकित्सा क्षेत्रका विज्ञहरुसँग प्रधानमन्त्रीको छलफल
दुई पक्षबीच औपचारिक वार्ता सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डा. गोविन्द केसीको मागको विषयमा चिकित्सा क्षेत्रका विज्ञहरुसँग छलफल गरेका थिए । छलफलमा उनले के के माग कसरी सम्बोधन गर्न सकिन्छ भनेर विज्ञहरुसंग राय मागेका थिए । छलफलका क्रममा ओलीले चिकित्सा शिक्षाको विषयमा डा. केसी र आफ्नो समान मत भए पनि उनको मागमा राजनीति भएको भन्दै गुनसो गरेका थिए ।
छलफलमा चिकित्सा शिक्षा सुझाव कार्यदलका संयोजक केदारभक्त माथेमा, मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटा, त्रिवि शिक्षण अस्पतालकी डा. दिव्यासिंह शाहलगायत सहभागी थिए ।
प्रधानमन्त्रीलाई सरकारी वार्ता टोलीको ब्रिफिङ
आजै सरकारी वार्ता टोलीले टोलीले अहिलेसम्म भएको प्रगतिबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको छ । सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव खगराज बरालले बालुवाटार पुगेर वार्ताका क्रममा देखिएको अड्चन र प्रगतिका बारेमा जानकारी गराएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार वार्ता टोलीले अहिलेसम्मका प्रगति र सम्भावित सहमतिको खाकाबारे ब्रिफिङ गरेको थियो । त्यस क्रममा प्रधानमन्त्रीले यसबारेमा सरकारको तर्फबाट गम्भीरतापूर्वक कदम चाल्न टोलीलाई निर्देशन दिएका थिए ।
यता २६ दिनदेखि अनशनमा बसेका डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । मुटुको चाल अनियन्त्रित भएको छ भने नशामा संक्रमण देखिएको छ । उनलाई बोल्न कठिन हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । चिकित्सहरुले उनलाई जुनसुकै बेला जे सुकै हुनसक्ने चेतावनी समेत दिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४