काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको अवरोधका कारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।
सत्तापक्षका सदस्यलाई पहिला बोल्न दिएको भन्दै विपक्षी दल कांग्रेसका सांसदहरुले उठेर विरोध जनाए पछि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले भोली बुधबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
बैठकको सुरुमै बोल्ने समय माग्दै सत्तापक्ष दल नेकपाका सचेतक खिमलाल भट्टराईले बोल्ल थालेपछि विपक्षी दलका सांसदहरु आक्रोशित बनेका थिए । सुरुमा आफुहरुलाई बोल्न दिनुपर्ने भन्दै उनीहरुले उभिएर विरोध गरेका थिए । करिब आधासम्म उभिएर विरोध जनाएका विपक्षी दलका सांसदलाई पटक पटक बस्न अध्यक्षले आग्रह गरेपनि उनीहरुले नमानेपछि बैठक स्थगित गरिएको हो ।
बैठक भोली बुधबार बिहान ११ बजे बस्नेछ । आजको बैठकमा राष्ट्रिय सभाका विभिन्न चार विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची रहेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४