काठमाडौं-शनिबार दिउँसो बानेश्वरमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भयो। साँझ प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेट भयो।
भेटमा दुईथरी प्रचार बजारमा आए। कांग्रेसका तर्फबाट देउवाले ओलीलाई थर्काए भन्ने सार्वजनिक भयो। सरकार पक्ष यो प्रचार मान्न तयार भएन। सरकार पक्षले देउवालाई सम्पत्ति शुद्धिकरण गर्ने चेतावनी दिएर तर्साएको प्रचार आयो।
भेटका क्रममा देउवाले राप्रपा कोटाबाट जापानमा राजदूत बनाइएकी प्रतिभा राणालाई फिर्ता लिन अनुरोध गरेको अर्को प्रचार बाहिर आयो। राणा कांग्रेस सभापति देउवाकी सासू हुन्।
प्रधानमन्त्रीनजिकका सञ्चारमाध्यमले त्यसबारे मुख्य समाचार नै बनाए। राणालाई फिर्ता नबोलाउन देउवाले आग्रह गरेको ती सञ्चारमाध्यमको दाबी थियो।
विगतका आन्दोलन र सहमतिमा यस्ता 'गिभ एन्ड टेक' नभएका होइनन्। बाहिर एउटा कुरा प्रचारमा आउने र भित्र अर्को कुरा हुने चलन नयाँ होइन। कांग्रेसले केसीको मागका पक्षमा आन्दोलनबाट पछि हट्दा प्रधानमन्त्री ओलीलाई एउटा राजदूतको थमौती गर्दा केही फरक पर्दैन। तर, सभापति देउवाले आफ्नी सासू राणाको राजदूत पदसँग आन्दोलन साट्छन् भनेर अनुमान गर्न गाह्रो हुन्छ ।
शनिबार ओली-देउवा वार्ता 'वान टु वान' भएको थियो। त्यसैले यस्ता 'गिभ एन्ड टेक'का कुरा भएनन् भन्न सकिँदैन। तर, त्यसै भयो भनेर ग्यारेन्टी गर्न सक्ने कुनै आधार छैन। प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारी शनिबारको भेट वार्ता 'वान टु वान' भएकाले के कुरा भयो भनेर आफूले भन्न नसक्ने बताउँछन् ।
ओली र देउवाबीच भएको कुराकानीको वास्तविकता दुई नेताले सार्वजनिक नगरेसम्म थाहा हुन सक्दैन। किनकि, सत्ता र प्रतिपक्ष आ-आफ्नै प्रचारको रणनीतिमा छन् । तर, दुई नेताबीच भेटको समाचार फरक-फरक आउँदा नेताहरूको विश्वसनीयतामा समेत प्रश्न उठ्ने पक्का छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४