भैरहवा- जमाना 'पेपरलेस' कामको छ । कागजी कामकाजबाट इमेल, इन्टरनेटको माध्यमबाट सन्देश आदानप्रदान गर्ने 'भर्चुअल' दुनियाँमा रमाउन थालेका छन्, सरकारी कार्यालयहरू नै पनि । हरेकका हात-हातमा रहेका मोबाइलबाट एसएमएस र सामाजिक सञ्जालका इन्बक्समार्फत् खबर आदानप्रदान आम विषय बनिसकेको छ ।
प्रदेश-५ को सुविधा सम्पन्न शहर भैरहवाको कुरा बेग्लै छ । गत आर्थिक वर्ष ०७४/७५ मा जिल्ला हुलाक कार्यालयले ११ हजार तीन सय ३८ वटा चिठ्ठी रजिस्ट्री गरेर पठायो । अर्थात्, कागजी सन्देश आदानप्रदान अझै कायम छ । अझ, साधारण चिठ्ठी २० वटा गोटा हुलाकमार्फत् आदानप्रदान भएका छन् ।
जिल्ला हुलाक रूपन्देहीका प्रमुख नारायणप्रसाद पन्थीका अनुसार गत आवमा चिठ्ठीमा टाँसिने टिकट बिक्रीबाट एक करोड नौ लाख रुपैयाँ राजश्व उठेको छ । 'पहिलेको तुलनामा केही कम भए पनि परापूर्वकालदेखिकै हुलाक सेवामा मानिसको विश्वास अझै पनि झल्किन्छ,' पन्थीले भने, 'आफ्ना गोप्य कुरा चिठ्ठीबाटै भन्न रुचाइरहेका छन्, धेरैले ।'
पार्सल, डाँक, कुरियर सेवा मात्रै होइन, हुलाक बचत बैंक पनि सञ्चालनमा छ, अहिले । जिल्ला हुलाक रूपन्देहीमा गत आवमा सेवाग्राहीले एक करोड ५२ लाख सात हजार आठ सय ४७ रुपैयाँ ७७ पैसा बचत गरेका छन् ।
उक्त बचत बैंकमा पाँच सय २९ जनाको खाता छ । जिल्लामा १५ वटा इलाका र ५३ वटा अतिरिक्त गरी ६९ वटा हुलाक कार्यालय सञ्चालनमा छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४