काठमाडौं- नेपाली कांग्रेस महासमिति भेलामा पेश गरिने विधान मस्यौदा प्रतिवेदन तयार गर्न समिति गठनमा ढिलाई भएको छ।
आगामी भदौभित्र महासमिति भेला हुने गरी केन्द्रीय कार्य समिति बैठकले निर्णय गरे पनि भेलामा पार्टी विधान शंशोधनका लागि पेश गरिने प्रतिवेदनको लागि मस्यौदा समिति गठन भएको छैन्।
पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलले मस्यौदा समितिमा रहने केन्द्रीय सदस्यको नाम नदिएका कारण मस्यौदा समिति गठनमा ढिलाई भएको सहमहामन्त्री डा. प्रकाशशरण महत बताउँछन्।
शीर्ष नेताको बुधबार विहान सभापति शेरबहादुुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले दुई दिन भित्रै विधान मस्यौदा समति गठन गर्ने सहमति भएको थियो। सभापति देउवाले मस्यौदा समिति रहने चार जना केन्द्रीय सदस्यको नाम दिन पौडेलले आग्रह गर्दा उनले अन्य विभागको संयोजक क कसलाई बनाउने र विभाग गठन गर्ने भन्ने बिषयमा एकमुष्ट सहमति खोजेका थिए।
बुढानिलकण्ठ स्रोतका अनुसार सभापति देउवाले विभाग गठन गर्दा पनि आफू अन्याय गर्ने पक्षमा नरहेको र सरसल्लाहबाट नै गठन गर्ने भन्दै तत्काल मस्यौदा समिति गठन गर्नु पर्ने भएकोले नाम दिन आग्रह गरेका थिए।
बिहीबारदेखि नै उपत्यका बाहिर गएका नेता पौडेल आज रामेछापको एक कार्यक्रममा रहेका छन्। मस्यौदा समितिमा तीन जनाको नाम सभापति देउवाले माग पनि पौडेलले चार जना पठाउने भनेका थिए।
समितिमा पौडेल समूहबाट पार्टीका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीलाई पठाउने तयारी भए पनि उनले इन्कार गरेका छन्। मस्यौदा समितिको संयोजकमा महामन्त्री पूर्णबहादुर खड्का राख्ने करिव करिव सहमति भएको छ।
जिल्ला बाहिर रहेका नेता पौडेलले आफ्नो समूहबाट डा. रामशरण महत, नविन्द्रराज जोशी, गगनकुमार थापा र डा. मिनेन्द्र रिजाललाई पठाउने तयारी गरेका थिए। तर नेता प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले रिजालको सट्टामा गुरुराज घिमिरे वा सरिता प्रसाईंलाई राख्न आग्रह गरेका छन्।
डा. रिजाल यतिवेला नेता पौडेल भन्दा मध्यमार्गी भूमिकामा रहेका महामन्त्री डा. शशांक कोइरालाको उपगुटमा रहेका छन्। नेता पौडेलले मस्यौदा समितिमा बस्ने ४ जनाको नाम दिनासाथ सभपति देउवाले तुरुन्त वाँकी चार जनाको नाम समावेसी आधारमा दिने बताए।
नेविसंघको समानान्तर गतिविधि अब रोकिन्छ यसैवीच, नेपाल विद्यार्थी संघको विवाद समाधान गर्न दुवै समूहलाई कुनै पनि गतिविधि नगर्न नेपाली कांग्रेसले निर्देशन दिएको छ। संगठन भित्रको बिबाद नचर्काउन दुवै पक्षलाई पार्टीले निर्देशन दिएको र दुवै पक्षलाई विधि र प्रकृयाबाट मात्र अघि बढ्न दिर्नेशन दिएको नेता अर्जुननरसिंह केसीले बताए।
नेता केसीले दुवै समूहलाई समानान्तर समितिबाट गतिविधि गर्न निर्देशन दिइएको र शनिबारसम्म निकास निस्कने वताए। उनले दुवै पक्षलाई आफ्ना औपचारिक बैठक नगर्न आव्हान गरिएको बताए।
पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतका सभापति शेरबहादुर देउवाको सक्रियतामा शनिबार बस्ने बैठकले नेविसंघ बिबादको निरुपण गर्ने वताए। उनले भने ‘अब कसैले पनि समानान्तर गतिविधि गर्न पाउँदैनन, यस्तो गरियो भने नतिजा राम्रो हुँदैन।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४