शुक्रबार, वैशाख १४, २०८१

केसीलाई 'मराएर' माफियालाई जिताउनै पर्ने बाध्यता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रधानमन्‍त्री केपी शर्मा ओलीसमक्ष एउटा निकै अप्रिय प्रश्‍न गर्न मन लागेको छ, डाक्टर गोविन्द केसीलाई 'मराएर भए पनि' माफियालाई जिताउनैपर्ने के छ त्यस्तो तपाईंको बाध्यता ? केसीको प्राणभन्दा पनि 'माफिया माया' तपाईंलाई किन प्यारो लाग्‍यो ?


मलाई लाग्दैन, तपाईंको यो स्वाभाविक चाहना हो । तर, तपाईं माफियाको मायाजालमा यति गहिरो रूपमा फस्दै हुनुहुन्छ, त्यसबाट तपाईं अब सजिलै उम्किन सक्नुहुन्‍न।

मुलुकको शक्तिशाली र लोकप्रिय प्रधानमन्‍त्रीसमक्ष यस्तो अप्रिय प्रश्‍न सोध्‍नुपर्ने पृष्ठभूमि र अवस्था तपाईं आफैंले निर्माण गर्नुभएको हो। गोविन्द केसीसँग भएको सहमतिअनुसार अघिल्लो सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेशलाई उल्टाएर सरकार प्रतिस्थापन विधेयक ल्याउने सुरसार गर्दै थियो। यसको सुइँको पाएपछि केसी अनसन तयारीमा लागे। 

सम्भावित प्रतिरोधलाई रोक्न सरकारले निषेधाज्ञा जारी गर्‍यो, केसी १५ असारमा जुम्ला हान्निए। १६ असारमा जुम्लामा केसीलाई पक्रन लगाएर सरकारले अध्यादेशलाई उल्ट्याउने प्रतिस्थापन विधेयक संसदमा छिराउन खोज्यो। संसदमा प्रतिपक्षको अवरोध र सडकमा जागेको नागरिक खबरदारीका कारण त्यो प्रयास सफल भएन।

मेडिकल माफियाको मायाजालमा फसिसकेको सरकार आफ्नो डिजाइनबाट पछि हट्न सकेन। निकै कष्टपूर्ण अवस्थामा अनशन बसिरहेका केसीको स्वास्थ्य र जीवनलाई सरकारले कुनै परवाह गरेन। बरू सरकार अध्यादेशलाई तुहाउने वा निश्कृय बनाउने अर्को खेलमा लाग्यो। २० असारमा अध्यादेश स्वत: निश्कृय भयो। केसीको अनशन, प्रतिपक्षको प्रतिरोध र सडकमा उर्लेको नागरिक विरोधलाई बेवास्ता गर्दै २२ असारमा प्रतिस्थापन विधेयकलाई नै सरकारले नयाँ विधेयकका रूपमा संसद्‌मा दर्ता गरायो। जसमा केसीको मागलाई सम्बोधन होइन, माफियाको स्वार्थलाई चलाखीपूर्वक समेटिएको छ। यसलाई जबरजस्ती संसदको बैठकमा टेबल गराउने प्रयासमा यतिबेला सरकार लागेको छ तर प्रतिपक्षले संसद चल्‍न नदिएकाले त्यो सम्भव हुन सकिरहेको छैन। 
 

यदि केसीको जीवनलाई 'धर्तीमा मरिरहनेहरूको घानमा मिसिने घुन' ठान्‍नुभएको छ भने त्यो तपाईंका लागि निकै भयानक भूल हुनेछ। केसीको जीवन तलमाथि हुँदाको परिणाम सत्तामा बस्‍नेहरूले कल्पना गरे धेरै गुना खतरनाक हुनेछ।


प्रतिपक्षलाई मार्सल लगाएर भए पनि माफिया पोस्‍ने विधेयकलाई संसद्‌मा पेश गर्ने रणनीतिमा सरकार दृढ देखिन्छ। केसीको स्वास्थ्य तलमाथि हुँदा त्यो मिसनमा अप्ठ्यारो पर्ने भएकाले उनलाई सेनाको हेलिकोप्टरमा बिहीबार जबरजस्ती काठमाडौं ल्याइएको छ। केसीले यसलाई 'सरकारी अपहरण' भनेका छन्। दुर्गम जुम्ला पुगेर शान्‍तिपूर्ण विरोधमा उत्रेको एक नागरिकलाई काठमाडौं ल्याउन सरकारले ठूलै बल प्रयोग गर्नुपर्‍यो। निहत्था स्वास्थ्यकर्मी र जनतामाथि लाठी र अश्रुग्यास बर्साएर 'ओली सत्ता' ले जुम्लामा दुई तिहाइको जुन जात्रा देखाउन खोज्‍यो, त्यो लाजमर्दो र अशोभनीय छ। यसले ओलीलाई बलियो होइन, थप कमजोर देखाएको छ।



केसीले माफिया पोस्‍ने विधेयक फिर्ता गरेपछि मात्र वार्ता गर्ने शर्त राखेका छन्। तर, विधेयक फिर्ता गरेर केसीका मागलाई सम्बोधन गर्ने मुडमा सरकार छैन। खासगरी, प्रधानमन्‍त्री प्रधानमन्त्रीका पछिल्ला बोली र व्यवहार सुन्दा र बुझ्दा लाग्छ, तपाईंका लागि गोविन्द केसीको मृत्यु अब त्यति नमिठो लाग्दैन पनि होला, जति तपाईंलाई मिठो लागिसकेको छ 'माफियाहरूको मार्सी'। 

प्रधानमन्‍त्री ओलीज्यू,  तपाईं लोकप्रिय  हुनुहुन्छ, तपाईं शक्तिशाली पनि हुनुहुन्छ। संसद्‌मा तपाईंको पक्षमा दुई तिहाइ छ। तर, यतिबेला मुलुकको मन र नागरिक भावना केसीको पक्षमा छ। मुलुकको मन र नागरिक भावना भड्कियो भने दुई तिहाइको अंकगणितले पनि सुनामी भोग्‍नुपर्नेछ। त्यतिबेला तपाईंको जहाज पनि डुब्‍नसक्छ। त्यसको अलिकति हेक्का तपार्इंलाई पक्कै छ होला।

धर्तीमा पलपलमा कति मान्छे मर्छन् ? त्यसको कुनै लेखाजोखा छैन। त्यसैले गोविन्द केसी एक जना मर्दा के फरक पर्छ र ? सत्ताधारीका तर्क यो स्तरमा पनि आउन थालेका छन्। यदि केसीको जीवनलाई 'धर्तीमा मरिरहनेहरूको घानमा मिसिने घुन' ठान्‍नुभएको छ भने त्यो तपाईंका लागि निकै भयानक भूल हुनेछ। केसीको जीवन तलमाथि हुँदाको परिणाम सत्तामा बस्‍नेहरूले कल्पना गरे धेरै गुना खतरनाक हुनेछ।

अनशन बसेर राज्यलाई तर्साउन खोज्‍ने र झुकाउन खोज्‍ने केसीको हठ र शैली ठीक कि बेठीक भनेर बहस गर्न सकिन्छ। तर, उनले उठाएका विषयहरू निकै गम्भीर छन् । ती आम नागरिकको स्वास्थ्यसँग गाँसिएका छन्। पहुँच र हैसियत नभएको सामान्य नागरिकले पनि सहज रूपमा स्वास्थ्य सेवा पाउनुपर्ने अधिकार केसीको अनशनसँग जोडिएको छ।
 

मेडिकल कलेज किराना पसलजस्तै खुल्नेछन्, जहाँ पढाइ, अभ्यास र उपचारभन्दा पनि डाक्टरी लाइसेन्सको खुलेआम वितरण र व्यापार हुनेछ ।


गोविन्द केसीको हठ र जिद्दीपना आफ्नो ठाउँमा गलत पनि छ होला तर त्यही स्तरमा उत्रेर तपाईंले जुन हठ र दम्भ देखाउन खोजिरहनुभएको छ, त्यो निकै निर्मम र निन्दनीय छ। 

किनकि, तपाईं केसीजस्तो सामान्य नागरिक वा कर्मचारी होइन। मुलुकको सर्वाधिक शक्तिशाली कार्यकारी प्रमुख तपाईंले कुनै एउटा व्यक्ति वा पात्रसँग लडाइँ लड्ने तथा जित्‍ने अहंकार पाल्नुहुँदैन। जननिर्वाचित संसद्को दुई तिहाइको म्यान्डेट हासिल गर्नुभएका तपाईं गोविन्द केसीसँग जितेर थप बहादुर बन्‍ने भ्रममा हुनुहुन्छ भने त्यो तपाईंको ठूलो कमजोरी हुनेछ।

प्रधानमन्‍त्री तपार्इँ आफू पनि जीवनको उत्तरार्द्धमा हुनुहुन्छ।  स्वास्थ्य त्यति सुदृढ छैन। सम्भवत: यो हैसियतमा तपाईंको अन्तिम मौका होला । दुई तिहाइको यस्तो अवसर फेरि मिल्ने छैन। काम गरेर देखाउने एउटा निकै सुवर्ण समय अहिले उपलब्ध छ। रेल, पानी जहाज, घर-घरमा ग्यासको पाइपलाइनलगायत निकै महत्वकांक्षी सपना र योजना तपाईंसँग छन्। तर, कामको गति सुस्त छ। जनताले व्यंग्य गर्दै गिज्याउन थालेका छन्। यी सबै छोडेर तपाईं किन एक निहत्था गोविन्द केसीलाई जित्‍ने लडाइँमा होमिनु भएको छ ? तपाईंलाई मन पराउने फ्यानहरूले अब यस्तो प्रश्‍न गर्न थालेका छन्। 

बाँच्‍नका लागि स्वास्थ्य सेवा तथा उपचार कति अपरिहार्य छ ? मेडिसनको बलमा बाँचिरहनुका ओलीलाई यसको मर्म राम्रोसँग थाहा छ। गाउँघरका सामान्य नागरिकले सहज रूपमा स्वास्थ्य सेवा नपाउँदा कति सकस हुन्छ होला ?  महिना-महिनामा विदेशी अस्पतालमा 'चेक अप' गराएर दबाइ खाइरहनुभएका ओलीलाई यसको हेक्का नहुनु अर्को विडम्बना हो। 
 
केसीको कभरमा अर्को पनि राजनीति हुँदैछ। एकाएक शक्तिशाली र लोकप्रिय बनेका ओलीविरुद्ध उहाँकै पार्टीभित्र र बाहिर पनि जनमत तयार हुँदैछ। सडक र सदनमा यत्रो हंगामा हुँदा पनि प्रभावकारी प्रतिरक्षा सत्तारुढबाट हुन सकेको छैन । यो गुनासो ओली स्वयंले पार्टीको आन्तरिक बैठकमा गरिसक्नुभएको छ। यसले के संकेत गरेको छ भने यो विषय बेलामै टुंगिएन भने ओलीलाई बद्‌नाम गराउने र राजनीतिक स्थिरतालाई बिथोल्ने डिजाइनमा केसी प्रकरण एउटा मिसाइलको रूपमा उपयोग हुनसक्छ।  यसतर्फ ओली र उनको टिम सचेत हुनु आवश्यक छ।

हिजो कांग्रेसले के-के गर्‍यो या गरेन? प्रधानमन्त्रीले अब त्यो चिन्ता गर्ने होइन। किनकि, मुलुक यतिबेला तपाईंको जिम्मामा छ, दुई तिहाइको 'स्टेरिङ' तपाईंको हातमा छ। केसीको माग सम्बोधन गर्दा कसैको हार हुँदैन, तपाईंकै जित हुनेछ।


संसदमा दर्ता विधेयक फिर्ता हुँदा केसीको न ओहदा बढ्ने छ, न त तलबसुविधा नै। यो विधेयक पारित भएमा स्वास्थ्य शिक्षामा मेडिकल माफियाको राज वैधानिक रूपमा स्थापित हुने चिन्ता यही क्षेत्रका विज्ञहरूले व्यक्त गरेका छन्। केदारभक्त माथेमा आयोगको प्रतिवेदनलाई अपमान गर्दै यो विधेयकले मेडिकल क्षेत्रमा 'माफिया मस्ती'लाई हरियो झण्डा देखाइदिएको छ। मेडिकल कलेज किराना पसलजस्तै खुल्नेछन्, जहाँ पढाइ, अभ्यास र उपचारभन्दा पनि डाक्टरी लाइसेन्सको खुलेआम वितरण र व्यापार हुनेछ ।

पैसा नहुने जेहेन्दार विद्यार्थी कहिल्यै डाक्टर बन्‍न नपाउने अवस्था आउने छ।  पूर्वाधार, प्रविधि, जनशक्ति, विज्ञताबिनाका अस्पताल छ्याप्छ्याप्ती हुनेछन्, जहाँ बिरामीसँग 'डिल' हुनेछ, सेवा तथा उपचार होइन। मेडिकल कलेज र अस्पतालहरू माफिया र दलालहरूको कब्जामा चल्नेछन्। यसले नेपाली चिकित्सा क्षेत्रको साख नै सखाप पार्नेछ। यही चिन्ताले केसी जीवन जोखिममा राखेर सत्याग्रहमा उत्रिएका हुन्। उनी माफियाको मस्तीका लागि होइन, गरिबका छोराछोरीको डाक्टर बन्‍न पाउने अधिकारका लागि लडिरहेका छन्। गाउँका गरिबले सहज र सुलभ रूपमा स्वास्थ्य उपचार प्राप्त गर्ने अधिकारका लागि उनी संघर्ष गरिहेका छन्। 

माफिया पोस्‍ने खेलमा ओली र प्रचण्ड दुवैको स्वार्थ गजबले जोडिएको छ । प्रचण्ड र ओलीलाई भक्तपुरस्थित आफ्नो घरमा चरेशको थालमा मार्सी चामल खुवाएर एकताको फाइनल 'डिल' गराएँ भन्दै फेसबुकमा तस्बिर भाइरल गराउने मेडिकल व्यवसायी दुर्गा प्रसार्इं तिनै पात्र हुन्, जो यतिबेला केसीविरुद्धको अभियानको अभियन्ता बन्‍न खोज्दैछन्। अध्यादेशलाई उल्ट्याउने विधेयक पारित भएमा प्रत्यक्ष लाभान्वित हुने पहिलो सूचीमा उनी पनि पर्छन्। 

काठमाडौं उपत्यकामा १० वर्षसम्म कुनै पनि मेडिकल कलेज खोल्न आशयपत्र र सम्बन्धन नदिने, विश्वविद्यालयबाट पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाइने, एउटै जिल्लामा एकभन्दा बढी मेडिकल कलेज खोल्न नपाइने र तीन वर्षसम्म पूर्ण रूपमा अस्पताल सञ्चालन भएको हुनुपर्ने अध्यादेशका प्रावधान अहिले मेडिकल माफियाका लागि बाधक बनेका छन्। जसलाई सरकारले ल्याएको विधेयकमा हटाइएको छ। नेकपाका नेता तथा निकट केही व्यवसायीहरू संलग्न केही अस्पताललार्इ आधारभूत मापदण्ड र पूर्वाधारबिनै लाइसेन्स दिएर व्यवसाय गर्ने डिजाइनका साथ विधेयकमा खुकुला प्रावधान घुसाइएका छन्। यो विधेयक पारित भएपछि नेकपा नेता राजेन्द्र पाण्डे सञ्चालक रहेको मनमोहन मेडिकल कलेज, 

झापाका दुर्गा प्रसार्इं सञ्चालक रहेको बीएन्डसी अस्पताल, नेकपाका नेताद्वय बसरुद्दिन अन्सारी र जयनउद्दिन अन्सारी सञ्चालक रहेको काठमाडौं नेसनल मेडिकल कलेजलगायतले सहजै सम्बन्धन पाउने छन्। 

मेडिकल माफियासँग हार्नै नसक्‍ने सरकारको बाध्यता, व्यवहार र नियत हेर्दा फेरि प्रश्‍न गर्न मन लाग्छ, माफियालाई माया बाँडेर यो सरकार गोविन्द केसीलाई किन दण्डित गर्न खोज्दैछ? सत्तामा बस्‍नेहरूलाई लागेको होला, गोविन्द केसी रहेनन् भने त टन्टै साफ। तर, त्यो अवस्था निकै महँगो र पीडादायक हुनेछ। उनी कुनै दलका नेता होइनन् र उनका पछाडि संगठित कार्यकर्ता छैनन् । 

तर, केसी शिक्षण अस्पतालका सामान्य 'कर्मचारी डाक्टर' मात्र होइनन्। उनी नागरिक नेता तथा अभियन्ता हुन्। उनका पछाडि आम नागरिक छन्। गोविन्द केसीका पछाडि सत्ता छैन, माफिया पनि छैनन् तर उनी कमजोर भने छैनन् । राज्य पटक-पटक उनीसँग झुकेको छ किनकि उनी सही मार्गमा छन् । र, माफियालाई परास्त गर्ने एउटा जोखिमयुक्त संघर्षमा उनी निरन्तर होमिएका छन् । केसी आफ्नो पदीय सुरक्षा तथा सुविधा वृद्धिका लागि लडेका छैनन्। अनेक अफर आउँदा पनि त्यसमा उनी लोभिएनन्। मेडिकल शिक्षालाई माफियाबाट मुक्त गराउन उनी पटक-पटक मर्न तयार भएका छन्। उनी भनिरहेका छन्, माफियासँग म हार्दिनँ बरु मर्न तयार छु। 

अनेक अपमान आरोप, अपजश, आशंका चुपचाप सहेर उनी निरन्तर अभियानमा डटिरहे। यसबीच उनलाई कतिले बहुलाएको भने, कतिले विदेशकी एजेन्ट भने, कतिले सन्की भने। सरकारमा बस्‍नेहरूले 'यो बुढो मरे पनि हुन्छ' भने होलान्। माफियाहरूले उनलाई बद्‌नाम गर्न अनेक प्रपञ्‍च रचे। तर, उनी अलिकति पनि डराएनन् र डगमगाएनन्।

अझै पनि मौका छ, थप बद्‌नामीबाट बच्‍ने अनि गोविन्द केसीजस्तो नैतिक बल भएका असल पात्रलाई सहयात्री बनाएर स्वास्थ्य क्षेत्रमा चमत्कार गर्ने। नत्र जीवनको अन्तिम घडीमा तपाईं पछुताउनुपर्ने एउटा पीडादायक प्रकरण सम्भवत: यही  हुनेछ। स्वास्थ्य र शिक्षामा राज्यको सक्रिय दायित्व तपाईंको पनि एजेन्डा हो। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र माफियालाई जिम्मा लगाएर मृत्युपर्यन्त पनि कलंक नबोक्नुस्। 

तपाईं समृद्धिको यात्रा थाल्दै हुनुहुन्छ । तर, 'माफिया म्युजिक' मा यसरी नाच्‍च थाल्नुभयो भने समृद्धिको तपाईंको यात्रा प्रस्थान विन्दुमै गार्इजात्रामा परिणत हुनेछ र दुनियाँले तपाईंलार्इ धेरै नै गिज्याउन थाल्नेछन्। बरु गोविन्द केसीहरू समृद्धिको यात्रामा तपाईंका असल सारथी हुनसक्छन्। उनीहरूको मन जित्‍नूस् अनि नैतिक बल बटुल्नूस्।

गोविन्द केसीको पक्षमा यतिबेला कांग्रेस पनि संसद र सडकमा तातेको छ। यसमा उसको राजनीतिक स्वार्थ पनि होला। तर, यो मुद्दा कांग्रेसको आफ्नो होइन। स्वास्थ्यमा माफियातन्त्र भित्र्याउन कांग्रेसको पनि भूमिका छ। गल्ती हिजो कांग्रेसबाट पनि भएको छ। कांग्रेसको सरकार छँदा पनि केसी धेरै पटक अनशन बस्‍नुपर्‍यो। हिजो कांग्रेसले के-के गर्‍यो या गरेन? प्रधानमन्त्रीले अब त्यो चिन्ता गर्ने होइन। किनकि, मुलुक यतिबेला तपाईंको जिम्मामा छ, दुई तिहाइको 'स्टेरिङ' तपाईंको हातमा छ। केसीको माग सम्बोधन गर्दा कसैको हार हुँदैन, तपाईंकै जित हुनेछ। यो एउटा अवसर पनि हो। कांग्रेसको जित हुन्छ भन्ने भय छ भने त्यो तपाईंको भ्रम मात्र हो, त्यसलाई दिमागबाट हटाउनूस्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...