जनकपुरधाम– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औं महाधिवेशनमा सभापतिका लागि आफ्नो उम्मेदवारी निश्चित रहेको बताएका छन्।
शुक्रबार गृहनगर जनकपुर आएका उपसभापति निधिले सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापतिमा आफ्नो उम्मेदवारीको कुनै विकल्प नरहेको बताए।
भने, ‘पार्टीको १४औँ महाधिवेशन १४ दिनपछि होस् वा १४ महिनापछि, सभापति पदमा मेरो उम्मेदवारी पर्ने निश्चित छ।सभापति पदको कुनै विकल्प पनि छैन।’
महाधिवेशनअघि पार्टीको क्रियाशील सदस्यता वितरणमा देखिएका विवाद समाधान गर्ने प्रयास जारी रहेको उनले जानकारी दिए। उपसभापति निधिले क्रियाशील सदस्यता वितरण सम्बन्धी विवाद पूर्ण रुपमा समाधान नभए पनि महाधिवेशनलाई त्यसले खासै प्रभाव नपार्ने दावी गरे।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका निधिले नेकपा एमालेको माधव नेपाल पक्षलाई समेत सहभागी गराएर मन्त्रीपरिषद् विस्तार गर्ने तयारी भइरहेको जानकारी समेत दिए। भने, ‘हाम्रो पार्टीको सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न सघाउने सबै पक्षलाई समेटेर मन्त्रीपरिषद् विस्तार गर्ने तयारी भइरहेको छ। एक साताभित्रै सबै पक्षलाई समेटेर मन्त्रीमण्डल विस्तार हुन्छ।'