काठमाठौं- क्रिकेटर शक्ति गौचनले नेपालको राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन् ।
आगामी अगस्टमा नेदरल्यान्डमा हुने एक दिवसीय खेलपछि आफूले राष्ट्रिय टोलीबाट संन्यास लिने क्रिकेटर शक्तिले बताए । लर्ड्समा हुने एमसीसी र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक श्रृङ्खला र नेदरल्याण्डस् विरुद्धको एकदिवसीय सिरीजमा सहभागी हुने टोलीको बिदार्इका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले भने, ‘हामी वान डे तथा टि–ट्वान्टी गेमको लागी अगस्टमा नेदरल्यान्ड जाँदैछौं । त्यो वान डे नेपालका लागि ऐतिहासिक खेल हो । यो खेलबाट फर्किएपछि नेपालमा नै अन्तर्राष्ट्रिय वान डे म्याचको आयोजना गरी औपचारिक रुपमा नेपाली राष्ट्रिय टोलीबाट संन्यास लिनेछु ।’
उनले नेपालमा अन्तर्राष्ट्रिय वान डे म्याच कहिले आयोजना गर्ने र कहिलेबाट औपचारिक संन्यास लिने भन्ने खुलाएनन् ।
सन् २००१ मा यू-१७ बाट क्रिकेट करियर सुरु गरेका शक्तिले बंगलादेश विरुद्धको एसिया कपबाट शुरुवात गरेका थिए । सन् २००२ मा उनले न्युजिल्याण्डमा अन्डर नाइन्टिन विश्वकप खेलेका थिए । सिंगापुरमा भएको एसीसी ट्रफीमा उनले राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।
उनले सन् २००२ देखि अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा शुरु गरेका थिए । विश्वकप छनोटमा इटालीविरुद्धको खेलमा २००५ मा उनले एक सय ३ बलमा १०६ रन बनाएका थिए ।
शक्ति नेपाली टोलीमा बलिङमा राम्रो दख्खल राख्ने अनुभवि खेलाडी हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४