काठमाडौँ- ठूलो विवाद र रस्साकस्सीकाबीच काठमाडौं महानगरपालिका फेरि रानीपोखरीको पुर्ननिर्माण गर्न कस्सिएको छ । अागामी एक हप्ताभित्रमा बोलपत्रको आह्वान गर्ने तयारी गरेको महानगरले पुरानै शैली र स्वरुपमा रानीपोखरीको पुर्ननिर्माण गर्न लागेको हो ।
महानगरले रानीपोखरी बनाउने र हरिहरभवन भत्काउने कामको बोलपत्र एकैपटक आह्वान गर्ने तयारी गरेको काठमाडौं महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए । पुनःनिर्माणको काम छिटो गर्नका लागि हरिभवन भत्काउन आह्वान गरिने बोलपत्र बढीमा एक महिनाको रहने पनि बताइएको छ ।
२०७२ साल बैशाखमा गएको विनाशकारी भूकम्पका कारण सुन्धारास्थित हरिभवन र रत्नपार्कमा रहेको रानीपोखरीलगायत धेरै ऐतिहासिक सम्पदामा क्षति पुगेको थियो ।
एक वर्षअघिनै कामपाले हरिभवन भत्काएर अर्को निर्माण गर्ने भन्दै आए पनि पुरातत्व विभागले रोक लगाएपछि उक्त काम अघि बढ्न सकेको थिएन ।
करीब १०० वर्षको इतिहास भएको तीनतलाको हरिभवनमा विसं २०६० देखि कामपाले नियमित आफ्नो कामकाज गर्दै आएको छ । अब तीन कालखण्डको प्रतिनिधित्व हुने गरी हरिभवन निर्माण गर्ने तयारी कामपाले गरेको छ ।
त्यसैगरी, करीब ४०० वर्षको इतिहास बोकेको रानीपोखरीको पुनःनिर्माण थालेपनि आधुनिक निर्माणको सामग्री प्रयोग भएको भन्दै चौतर्फी विरोध आएपछि बिचमा नै पुनःनिर्माणको काम रोकिएको थियो ।
पुनःनिर्माणको काम रोकिएको मात्र होइन, यसअघि निर्माणको समयमा प्रयोग भएको आधुनिक निर्माणको सामग्री पनि एक हप्ता अघि हटाइसकिएको छ । भूकम्पअघि जस्तोरुपमा रानीपोखरी रहेको थियो सोहीअनुरुप अब पुनःनिर्माण गरिने कामपाको भनाइ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४