काठमाडौं- १३ पुस ०५७ को साँझ स्याँठिलो चिसो काठमाडौं सुन्धारामा रूमलिँदै थियो । तर, रमेशकुमार श्रेष्ठ त्यसको परवाह नगरी पर्खिरहेका थिए, एउटा निश्चित समय ।
त्यो साँझ व्यस्त सुन्धारा परिवेश मान्छेहरूको चाप पातलिँदै थियो । पातलो कुहिरोको चिसो छलेर मान्छेहरू घर फर्किने तयारीमा थिए । उनी भने हातमा 'ग्रिनेड' लिएर न्युरोड जाने तयारीमा थिए ।
आठ जनाको समूहमा हिँडेको टोली राजधानीका विभिन्न स्थानमा फैलिएको थियो । उनीसँग भने दुई जना थिए, जो गोरखाकै थिए । उनीहरू न्युरोडको एक प्रहरी कार्यालयमा बम हान्ने योजनाअनुसार हिँडेका थिए । उनी सम्झन्छन्, 'ग्रिनेड लिएर हामी प्रहरीलाई उडाउन हिँडेका थियौं तर मेरै हात उड्यो ।'
देशमा माओवादीको सशस्त्र विद्रोह उत्कर्षमा पुगेको थियो । त्यतिबेलै बलिउड नायक ऋतिक रोशनले नेपालविरोधी अभिव्यक्ति दिएको अफवाह फैलियो । र, नेपालीको देश प्रेम सडकमा छताछुल्ल भयो ।
पुस ०५७ मा देशभर ऋतिकको पुत्ला दहन र आन्दोलन चर्कियो । सिनेमा हलहरूमा टाँगिएका भारतीय सिनेमाका पोस्टर च्यात्ने र जलाउने अभियान नै चलाए, आन्दोलनकारीले । टेलिभिजन सेवा प्रदायकलाई भारतीय च्यानल बन्द गराउन चर्को दबाब परिरहेको थियो ।
'त्यही आन्दोलनको फाइदा लिने योजना पार्टी ब्युरो इन्चार्जले हामीलाई जानकारी दिए,' उनी भन्छन् ।
ग्रिनेड बोकेको मान्छेत्यसबेला देशमा संकटकाल लागिसकेको थिएन । माओवादीको जनमुक्ति सेनाले प्रहरीमाथि आक्रमणलाई व्यापक बनाएको थियो । हालका गृहमन्त्री रामबहादुर थापा 'बादल' माओवादीको उपत्यका ब्युरो इन्चार्ज थिए ।
त्यही बेला रमेश स्पेसल टास्क फोर्सको तालिम लिएर राजधानी छिरेका थिए । उनी भन्छन्, 'ऋतिक रोशनविरुद्धको आन्दोलनलाई युद्धको पक्षमा पार्नुपर्छ भन्ने पार्टीको योजना बन्यो र त्यही सिलसिलालाई पछ्याउँदै प्रहरीलाई आक्रमण गर्न हिँडेका थियौं ।'
त्यतिखेर क्षेत्रीय ब्युरोको योजनामा उनी हिँडेका थिए । 'फिल्ड'ले कहाँ हान्ने हो, सोहीअनुसार योजना बन्थ्यो । उपयुक्त 'लोकेसन'को 'टार्गेट' रहन्थ्यो । योजना केन्द्रबाट बनेर क्षेत्रीय ब्युरोमा आइपुग्थ्यो । र, क्षेत्रीय इन्चार्जहरूले उनको समूहका कमान्डरलाई लगाएका थिए । उक्त समूहमा हातमा ग्रिनेड बोक्ने उनी थिए । प्रहरी कार्यालयमा ग्रिनेड फाल्ने मौका पर्खिरहेका थिए ।
उनले बोकेकैजस्तो बमबाट ०५३ सालमा माओवादीले रामेछापमा प्रहरी चौकीलाई निशाना बनाएको थियो । त्यस घटनामा तीन जनाको ज्यान गएको थियो । 'ऋतिक रोशनविरुद्ध चर्केको आन्दोलनलाई विद्रोहमा परिणत गर्नुपर्छ भन्ने पार्टीको रणनीतिले मलाई त्यो अवसर जुरेको थियो,' उनी भन्छन् ।
यसरी परे दुर्घटनामान्युरोड जाँदै गर्दा उनले बोकेको ग्रिनेड एक्कासी च्याँ च्याँ करायो । उनको हातको इलेक्ट्रोनिक डिभाइसको पिन थुतिइसकेको रहेछ । उनैले थाहा पाएनन्, पिन थुतिएको ।
त्यो साँझ एकदम जाडो थियो । मुटु कमाउने जाडोमा पनि पार्टीप्रति बफादार उनी आज्ञा पालनामा प्रतिबद्ध थिए । 'हातमा बम पड्किसकेको मैले अरू मान्छे भागेपछि मात्र थाहा पाएँ,' उनी भन्छन् ।
उनले बोकेको बममा ६० ग्राम जिलेटिन राखिएको थियो । त्यतिबेला जिलेटिन राखेर घरेलु प्रविधिबाट बम बनाउँथे, माओवादीले ।
उनले बोकेको बम विष्फोट भएपछि भागदौड मच्चियो । उनले लगाएको ज्याकेट लत्रक्क भयो । अँध्यारोमा उनले आफैंलाई हेरेनन् । साथमा रहेका उनका साथी विष्णु कार्की एकदमै आत्तिए । उनी भने कत्ति पनि पिरोलिएनन् ।
घटनास्थलबाट छिटोभन्दा छिटो तर्किनुपथ्र्यो । उनी त्यहाँबाट भोटेबहाल पुगे । त्यहाँ एउटा बाइक रोकियो । उनी त्यसमा चढ्नेबित्तिकै बाइक हुइँकियो ।
उनका साथी विष्णुले हात हेरे तर देखेनन् । एक सामान्य अस्पतालमा सामान्य ड्रेसिङ गरिएको थियो । विष्णुलाई उनले हात बाँकी छ कि छैन भनेर सोधेकासमेत रहेछन् । विष्णुले निराश हुँदै हात नरहेको बताए । उनले भने विष्णुको निराशालाई हटाउन हाँस्दै भनेछन्, 'छैन भने ठीकै छ ।'
अस्पतालमा १६ दिन'म १६ दिनसम्म बीएनबी हस्पिटलमा बसें,' उनी भन्छन् । त्यसो भन्दै खिस्स हाँसेर हातको चुरोट ओठमा च्यापे । साह्रै हँसिला रमेशको ओठमा मुस्कान झुण्डिएझैं लाग्दै थियो । कुनै पीरले उनलाई छोएझैं लागेन ।
हातको नाडीभन्दा तलको भाग बमले उडाएको थियो । एक्सरे हेरेपछि मात्र उनले हात चुँडिएको थाहा पाए । उनले कुराकानीका क्रममा चुरोटको ठुटोजस्तो हात देखाए । एकछिन चराहरूको चिरबिर मात्रै सुनियो ।
माओवादी कार्यकर्ता भएकाले उनको उपचार गर्न चिकित्सकहरू पनि डराएका थिए । तै पनि, उनको राम्रै उपचार भयो । उनी दुर्घटना परेको प्रहरी रिपोर्ट अनिवार्य थियो । तर, उनको हकमा प्रहरीको रिपोर्ट खोजिएन ।
'अपरेसन थिएटर'मा लैजाँदा प्रहरीले खोजतलास नगरेको होइन । अपरेसन सकेपछि क्याबिनमा लगियो । त्यहाँ उपचार अवधिभर कोही आएनन् । उनी सम्झन्छन्, 'डिस्चार्जको दिन थियो, क्याबिनको पर्दा फेर्ने बहानामा प्रहरी आउला भन्ने शंकाले म निस्किएँ ।'
उनी निस्किएपछि प्रहरीले छापा मारेछ । र, उनलाई कुर्न बसेकाहरू भागेछन् । प्रहरीले डाक्टरहरूलाई डर पनि देखाएछन् । तर, उनी सकुशल निस्किए ।
समय फेरियो । उनको दैनिकी पनि फेरियो । हात गुमाएसँगै उनको जीवनले नयाँ मोड लियो । तर, पुराना घाउ उस्तै चहराइरहे । कसैलाई घाउ चहरायो भन्दै उनले गुहार मागेनन् ।
निःशुल्क उपचारअस्पतालमा बस्दा उनले कुनै तनाव लिएनन् । उनी भन्छन्, 'उन्मुक्तिको लागि लडेका थियौं । अरूलाई लडाउन खोज्दा आफू पनि लड्न सकिन्छ भन्ने पाठ सिकें ।'
त्यस दुर्घटनामा दुई जना शहीद भए, दुई जना बेपत्ता भए । बाँचेका पाँच जना पनि सीतापाइलामा बनाउँदै गरेको बम पड्केर सकिए ।
उपचार गर्दा कति लाग्यो भन्ने रमेशले तत्काल थाहा पाएनन् । ०६१ सालमा जेल पर्दा उनको हात देखेर प्रहरीले खुबै केरकार गरे । त्यो उनको पाँचौं पटकको जेल यात्रा थियो । उनले नढाँटी सबै बेलिविस्तार लगाइदिए । उनको हिम्मत देखेर केरकार गर्ने प्रहरी पनि छक्क परे ।
२०६२/०६३ को परिवर्तनपछि जेलबाट निस्किएर उनी आफ्नो कागजात लिन अस्पताल पुगे । विनयराज गिरी कार्यकारी अधिकृत थिए । उनले औषधीको खर्च सोधे । एक लाख ६५ हजार रहेछ । ५० प्रतिशत 'डिस्काउन्ट' गरिदिए । उनले सोधेका रहेछन्, 'कसैले तिर्यो ?' अधिकृतले पर्दैन भनेछन् । उनी खिस्स हाँसेर कागजात बोकेर अस्पतालबाट बाहिरिए ।
पाँचौं जेल यात्रामाओवादी बनेपछि ४ भदौ ०५३ मा जीवनमै पहिलोपटक जेल परेका थिए, रमेश । तत्काल रिट हालेर उनी छुटे । ०५३ सालकै अन्तिमतिर फेरि जेल परे । जेल जानु र आन्दोलनमा लाग्नु उस्तै भयो । फेरि छुटे । ०५४ सालको स्थानीय चुनावमा फेरि जेल परे । यतिखेर पनि सजिलै छुटे । तर, मजदुरको कार्यक्रममा उनी जेल परे ।
२०५४ सालको घटनामा जेल पर्दा भने उनी मृत्युबाट फर्किए । उनी मारिने अवस्था थियो । उनी आफैंले बनाएका केही बमसहित उनी पक्राउ परेका थिए । त्यो समय उनी कोटेश्वरतिर बस्थे ।
त्यही समयमा उनीसँग पक्राउ परेकाहरूमध्ये मिलन नेपाली सधैंलाई बेपत्ता पारिए । दिनेश शर्माकी श्रीमती पनि बेपत्ता नै भइन् । यमप्रसाद गौतमकी 'स्टाफ' पनि बेपत्ता भइन् ।
उनी भन्छन्, 'त्यतिखेर ठूलो भाग्यले बाँचे, शायद वामदेव गौतम गृहमन्त्री भएर हो कि !'
उनी ती दिनका सहकर्मी साथीहरूलाई याद गर्छन्, '०५४ मा पक्रेका मबाहेक कोही छैनन् । शायद ९० प्रतिशत सेनाले मार्यो । र, १० प्रतिशत प्रहरीले मार्यो ।'
द्वन्द्व पीडितजस्तो लाग्दैन उनलाई । उनी भन्छन्, 'हिजो जे गरें, त्यसप्रति कुनै पश्चात छैन । तर, नेताहरूले गर्ने व्यवहारको कारणले बेला-बेलामा पीडितजस्तो लाग्छ ।'
हिजो युद्धकालमा नेताको चाकरी गर्ने प्रशस्त थिए । उनको बुझाइमा अहिले स्वतन्त्र समयमा झन् चाकरीबाजहरू अग्रपंक्तिमा रहेको देख्छन् ।
'कि पैसा पेल्नेहरू अग्रस्थानमा छन् कि चाकरी गर्नेहरू,' उनी आक्रोश पोख्छन्, 'व्यक्तिगत अन्तरविरोधले युद्धमा जान्छन् । र, मलाई पनि अन्तरविरोधले नै बढी प्रेरित गर्यो, त्यसैले जेल यात्रा भइरह्यो ।'
युद्ध जितेर टिकाउन सकिन्छ कि सकिन्न भन्ने लागेको थियो । 'तर, सकिएन,' उनी भन्छन्, 'यसको विष्लेषण ०५२ सालमै गर्न सकेको भए म युद्धमा सहभागी नै हुने थिइनँ । ०६२ सालमा मात्र थाहा पाएँ । १० वर्षको लगानीपछि मात्र मैले क्रान्ति चिनें ।'