बिहीबार, वैशाख १३, २०८१

'विश्वकपको खुशी'सँगै रक्सीको खोलो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- मानव उप्रेती अर्जेन्टिनाको ठूला फ्यान हुन् । फ्रान्ससँग अर्जेन्टिनाको खेलमा उनी रौसिएर बियरको बोतल अगाडि राखेर बसेका थिए । जब अर्जेन्टिनामाथि फ्रान्स हाबी भयो, बियरको चुस्की निल्न सकेनन् । 

मैदानमा दौडिरहेका अर्जेन्टिनी खेलाडीलाई पनि उप्रेतीलाई जस्तो तनाव भएन होला । वरिपरि बसेका साथीहरू फ्रान्सका समर्थक थिए । अर्जेन्टिनाको पोस्टतिर बल लैजान फ्रान्सेली खेलाडीहरूलाई भनिरहेका थिए । मानौं, टीभीबाटै उनीहरूको आवाज मैदानसम्म पुगिरहेको छ । र, उप्रेतीलाई गिज्याइरहेका पनि थिए । 

खेलको अन्त्यसम्म उनले आशा मारेका थिएनन् । विस्तारै बियरको चुस्की लिइरहेका उनले अन्तिममा भने एकै पटकमा 'घ्याम्पे' गरिदिए । किनभने, अर्जेन्टिनाले हार्‍यो, साथीहरूको टिम फ्रान्सले जित्यो । 'खेलको मजा लिँदै बियर पिउँला भन्ने सोच थियो,' उनी भन्छन्, 'एक सटमै बियर बुत्याएर सुतिदिएँ ।' 

तनावको साथी मदिरा । खुशी साटासाट गर्ने माध्यम पनि मदिरा । त्यसदिन उप्रेतीका लागि बियर तनावको साथी बन्यो । 
 

अर्जेन्टिना, ब्राजिलजस्ता विश्वकपका सदावहार दाबेदार टोली बाहिरिएपछि मदिराका ग्राहक २५ प्रतिशतले घटे । नेपाली दर्शकको ठूलो संख्या तिनै टोलीको समर्थक थियो । 


अर्का युवा निरज श्रेष्ठ ब्राजिलका समर्थक । प्रि-क्वार्टरफाइनलमा उनी निकै दंगदास थिए । किनभने, उनको टिम क्वार्टरफाइलमा छनोट भयो । ब्राजिलका खेलाडीले जति मेक्सिकोको गोलपोस्टतिर बल हुर्‍याउँथे, उद्वेलित हुँदै बियरको चुस्की स्वाट्टै पार्थे । मानौं, ब्राजिलका खेलाडीको खुट्टामा नाचिरहेको बलले उनलाई बियर पिउने अनुमति दिइरहेको होस् । साथीहरू माझ गितार बजाए, गीत गाए अनि बियरको चुस्कीमा रमाए । 


माइतीघरको 'दी हट' रेस्टुराँमा फ्रान्स भर्सेस बेल्जियम भिडिरहेको टीभीमा हेर्दै  थिए, ग्राहकहरू । रेस्टुराँका सञ्चालक सुनील थापा भने उनीहरूको 'एक्साइटमेन्ट' देखेर रमाइरहेका थिए । कोही फ्रान्स त कोही बेल्जियमका पक्षमा 'हुटिङ' गर्दै थिए । 

थापाका अनुसार अर्जेन्टिना र ब्राजिललाई फ्रान्स र बेल्जियमले 'राउन्ड सिक्स्टिन' र प्रिक्वार्टरफाइनलमा हराएको पल त वर्णन गरिनसक्नु थियो । अर्जेन्टिना र ब्राजिलले हार्दा ती मुलुकका समर्थक नेपाली दर्शक विश्वकप नै सकिएझैं गरी निराश देखिन्थे । जति-जति ब्राजिल र अर्जेन्टिना हार्दै गरेको आभास मिल्थ्यो, ती टिमका समर्थकहरू 'दुःख भुलाउन' बियरको चुस्की बढाउँथे ।



साइनो विश्वकप र मदिरा

आफ्नो टिमले गोल खाँदा बियर, गोल हान्दा पनि बियर, खेल जितेपछि खुशीमा थपिने 'एक्स्ट्रा' बोतल । रेस्टुराँ सञ्चालकहरूले दर्शकको मनोदशा राम्रैसँग पढ्न पाए, विश्वकपमा । मानौं, त्यो विश्वकपको अवसर नभई 'बियर अकेजन' थियो । 'इमोनस'सँग बियर जोडिएको प्रष्ट देखिन्थ्यो । 

जानकारहरू भन्छन्, लभ परेकालाई बियरले 'रोमान्स' जगाउँछ । 'ब्रेक अप' भएको पीडा र रोदन पनि बियरले नै भुलाउँछ । त्यसै पनि मदिरालाई खुशी, दुःख साटासाट गर्ने माध्यम बनाइँदै आएको छ, परापूर्वकालदेखि नै । 

ललितपुर कुमारीपाटीको 'एला लन्ज'का 'मार्केटिङ डाइरेक्टर' निरेश शाहीका अनुसार वर्ल्डकप फिभरसँगै मध्यपान सेवन पनि ५० प्रतिशतले बढ्यो । नयाँबानेश्वरको अमिगो रेस्टुराँका सञ्चालक विनोद पन्त भन्छन्, 'विश्वकपका कारण एक महिना हाम्रो व्यापार फुल फ्लेजमा चल्यो ।'
 

विश्वकपमा 'सोसल मिडिया ग्यादेरिङ' राम्रै देखियो । सबै उमेर समूहको व्यापक उपस्थितिबाट लाग्थ्यो, विश्वकपले साँच्चै नै विश्वलाई समेट्यो । 



त्यसबीचमा बार र रेस्टुराँहरूले 'लाइभ म्युजिक'को जोरजाम गर्नुपरेन, फुटबलले नै त्यसको धीत मारिदियो । विश्वकप अगाडिसम्म 'फुल फ्लेज'को व्यापारका लागि सप्ताहन्त पर्खिनुपथ्र्यो । विश्वकपका एक महिना भने सप्ताहन्तको प्रतीक्षा नै भएन । 

बिजुलीबजारका मोक्ष लन्ज एन्ड बारका लागि विश्वकप 'लक्की चार्म' बन्यो । तर, शुरूवाती चरण जति उत्साहप्रद रह्यो, पछिल्ला दिनमा भने २५ प्रतिशत ग्राहक घटे । अर्थात्, अर्जेन्टिना, ब्राजिलजस्ता विश्वकपका सदावहार दाबेदार टोली बाहिरिए । नेपाली दर्शकको ठूलो संख्या तिनै टोलीको समर्थक थियो । 



'दी हट' का सञ्चालक थापाका अनुसार विश्वकपमा ३५ देखि ४० प्रतिशतले व्यापार बढ्यो । 'यस कारण पनि विश्वकपले ज्यान थपेको छ,' उनी भन्छन् ।

पुरानो बानेश्वरस्थित वन्डरल्यान्डका सञ्चालक सन्तोष श्रेष्ठका अनुसार विश्वकपभरि ३० देखि ४० प्रतिशतले व्यापार बढ्यो । '४० हजारको व्यापारमा खानाको १० हजार र मदिराको ३० हजारको व्यापार भयो,' उनी भन्छन्, 'वर्ल्डकपले राम्रो टर्नओभर दिएको छ ।' मोक्षमा पनि बियर र खानाको ७०ः३० को अनुपात रह्यो । 

लेट नाइटको व्यापार, ग्राहकको घुइँचो

स्र्पोटस बारदेखि क्लब र सामान्य रेस्टुराँसम्मले विश्वकपको मजा चखाए, ग्राहकहरूलाई । लेट नाइट व्यापार, ग्राहकको घुइँचो, विभिन्न देशका जर्सीले भरिएको रेस्टुराँको हल, टेबलमा ठड्याइएका बियरका बोतल र ठूलो टीभी स्क्रिनमा एकोहोरिएका आँखाहरू । विश्वकपको माहोल यस्तै रह्यो, यसपटक । 

मेला रेस्टुराँ एन्ड बारले भने अबेरको व्यापारलाई प्राथमिकता दिएन । सञ्चालक प्रमोदकुमार जयसवालका अनुसार 'फ्यामिली फोकस्ड' भएकाले अबेरको व्यापारलाई वास्ता नगरिएको हो । 

झम्सिखेलस्थित स्पोटर्स हाइभ लाइभ त्यस क्षेत्रमा चलेको स्पोर्ट्स बार हो । फर्मुला वान, आईपीएल र लिग खेलहरू लाइभ देखाइन्छ, त्यहाँ । विश्वकप त छुटाउने कुरै भएन । 



लाजिम्पाटस्थित टाइगर स्पोट्र्स क्लबमा पनि विश्वकपभर भीडभाड राम्रै रह्यो । क्लबका सञ्चालकका अनुसार नेपाली दर्शकमा यसपटक विश्वकपको क्रेज राम्रै देखियो । 

रेस्टुराँ सञ्चालकहरूका अनुसार महिला र पुरुषको तुलना नै गर्न सकिएन । किनभने, १० जना पुरुष आउँदा एक मात्र महिलाको अनुपात रह्यो । महिलाहरू 'लेट नाइट'को रौनकमा नरमाउने गरेको पाइयो, यसपटक । 

जस्तो : मोक्षले महिलाका लागि धुवाँ र होहल्लाबाट टाढा राख्न अलग्गै हलको व्यवस्था गरेको थियो । र, उनीहरूका लागि व्यवस्था गरिएको हलमा पारिवारिक वातावरण दिने प्रयास गरेको थियो । त्यसैले उक्त रेस्टुराँमा महिला र पुरुषको अनुपात २ :१ थियो । 

अप्रत्यासित नतिजा

यस पटकको खेलमा नेपालमा गणतन्त्र आएझैं भयो । लामो समयदेखि एक्लौटी विजेताझैं देखिएका अर्जेन्टिना, ब्राजिल, जर्मनीजस्ता देश कोही नकआउट त कोही प्रि-क्वार्टरफाइनलबाटै बिदा भए । 

अर्जेन्टिनाको खेलमा प्रायः मान्छे खचाखच हुन्थे, थाम्नै नसक्ने गरी । मोक्षमा म्यानेजिङ डाइरेक्टर मिलन थापाका अनुसार ती मुलुक बाहिरिएपछि मानिस कम भए । अन्तिमसम्म ती मुलुक टिक्न सकेका भए व्यापारको रौनक पनि उस्तै रहने व्यवसायीहरूको अनुमान छ । 

दी हटका सञ्चालक थापाका अनुसार विश्वकपको अप्रत्यासित नतिजाले व्यापार घटेको छ । नेपालमा बहुसंख्यक फ्यान अर्जेन्टिना, ब्राजिल, स्पेन र जर्मनीका देखिए । 



बहाना विश्वकप, व्यापार मदिराको

वन्डरल्यान्डका म्यानेजर श्रेष्ठका अनुसार विश्वकपसँगै पेय पदार्थको खपत पनि अत्यधिक भयो । ठूला व्यवसायीदेखि स-साना लिकर सपमा पनि त्यसको प्रभाव देखिएको छ । 

सीजी ब्रुअरीका प्रबन्ध निर्देशक कुमार श्रेष्ठका अनुसार साविक दिनभन्दा विश्वकपको रौनकमा २५ देखि ३० प्रतिशतले व्यापार बढ्यो । ग्वार्कोस्थित 'दी सानेपा मदिरा'का सञ्चालक अरुण सिग्देलका अनुसार टुबोर्ग बियरको खपत अरूको तुलनामा बढी देखियो । 

'लुज लिकर'का अनुसार हालमा 'हार्ड लिकर'को प्रयोग पनि राम्रै देखियो । साविकभन्दा मदिराको व्यापार दोब्बर भएको उक्त मदिरा पसलका सञ्चालकको भनाइ छ । बियरमा टुबोर्ग, काल्सबर्ग र गोरखाको व्यापार बढी भयो । 

फाइनल खेलका लागि अधिकांश रेस्टुराँ 'बुक' भइसकेका छन् । तीमध्येका केहीले ग्राहक भित्र्याउन विभिन्न अफर पनि दिएका छन् । 

दी हटमा यसअघि नै ७० जनाको बुकिङ भइसकेको छ । उक्त रेस्टुराँले बियरमा 'बाई थ्री गेट वान' अफर दिएको छ । मोक्षमा पनि सिभिल हस्पिटलबाट सय जनाको एड्भान्स बुकिङ भइसकेको छ । 

खेललाई मैत्रीभाव जगाउने र कूटनीतिक सम्बन्ध विस्तार गर्ने माध्यम मानिन्छ । यसपटकको विश्वकप आयोजक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यसबाट आफ्नो मुलुकलाई हेर्ने विश्वव्यापी दृष्टिकोण बदलिने अपेक्षा गरेका छन् । 

यस पटकको विश्वकपमा 'सोसल मिडिया ग्यादेरिङ' राम्रै देखियो । सबै उमेर समूहको व्यापक उपस्थितिबाट लाग्थ्यो, विश्वकपले साँच्चै नै विश्वलाई समेट्यो । 




 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।