काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलको एक सातादेखि बसेको बैठक संसदीय दलको नेता चयनको लागि सहमति खोज्ने भन्दै शुक्रबार स्थगित भएको छ। शनिबार संसदीय दलको बैठक बसी विधान पारित गर्ने र दलको नेता चयन गर्ने सहमति अध्यक्ष मण्डलका सदस्यले गरेका थिए।
सहमति प्रयासको लागि आगामी बुधबारसम्म छलफल गर्ने सहमति भएको राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बताए। ‘विधानको संशोधन प्रस्तावमाथि राजनीतिक समितिको बैठकले दिएका सुझावको बिषयमा छलफल भयो’, महतोले भने ‘अब दलको नेता चयनको लागि सहमति खोज्न छलफल अघि बढाउँछौं।’
राजाप राजनीतिक समितिको २१ असारदेखि बसेको बैठकको सुझावलाई समेटेर निर्णय गर्न वसेको अध्यक्ष मण्डलको बैठक संसदीय दलको नेता को हुने भन्ने बिषयमा सहमति जुट्न नसक्दा लम्विदै आएको छ।
संसदीय दलको नेतामा पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र महतोले आकांक्षा राखेका छन्। संसदीय दलमा महतोको पल्ला भारी भएपछि अध्यक्ष ठाकुर सहमतिको आधारमा नेता चयन गर्नुपर्ने पक्षमा छन्। महतोले पनि आफ्नो नाममा सहमति खोजेका छन्। आफ्नो नाममा सहमति नभए मतदान प्रक्रियाबाट टुंगो लगाउनु पर्ने पक्षमा छन्।
महतोले संसदीय दलको नेताको दाबी नछाडेपछि अप्ठ्यारोमा परेका अध्यक्ष ठाकुरले सहमति खोज्नको लागि सांसदहरु मार्फत महतोलाई दबाब दिन थालेका छन्।ठाकुर निकट सांसद चन्दा चौधरीले ६ वटा पार्टी मिलेर बनेको दलमा नेता चयन गर्दा सर्वसम्मत हुनु पर्ने बताएकी छिन्।
उनले सर्बसम्मत नेता चयन नभए आफूहरु मतदानबाट दलको नेता चयन गर्ने पक्षमा नरहेको वताएइन्। ‘अध्यक्ष मण्डलको बैठकमा संसदीय दलको नेता चयन गर्दा राष्ट्रिय सभाका सदस्य समेत मतदाता हुन पाउनु पर्ने प्रस्ताव आएको छ’, महतोले भने ‘प्रस्ताव आएपछि त्यो व्यवहार, कानुन र संविधान अनुसार सम्भव छ कि छैन भनेर अध्ययन गरिरहेका छौं।’
उनले त्यस्तो प्रस्ताव कसले ल्याएको भनेर बताउन चाहेनन्। राजनीतिक समिति बैठकमा पेश भएको पार्टीको संशोधीत बिधानको मस्यौदा र संसदीय दलको बिधान मस्यौदा प्रतिवेदनलाई पारित गर्नुको सट्टा अध्यक्ष मण्डलको बैठक दलको नेतामा केन्द्रीत भएको हो।
‘आगामी बुधबारसम्ममा दलको नेता सर्वसम्मतले चयन गर्न हामीले छलफल गर्ने निष्कर्ष निकालेका छौं, अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले भने ‘बुधबारसम्म दलको नेता चयन गर्न सक्ने विश्वास हामीमा छ।’
ठाकुर र महतो दुवैले आफ्नो नाममा सर्बसम्मत निर्णय हुनु पर्ने अडान राख्दै आएका छन्। प्रतिनिधि सभामा १७ सांसद रहेको राजपामा ठाकुर अल्पमतमा परेपछि सर्बसम्मत दलको नेता चयनको लागि दबाब दिँदै आएका थिए।
प्रतिनिधिसभाका १७ मध्ये नौं जना महतो पक्षधर छन भने आठ जना ठाकुर पक्षधर छन्। राजपाका १७ सांसदमध्ये एक जना रेशम चौधरीले भने ससद सदस्यको सपथ लिएका छैनन्। उनी टिकापुर हत्या काण्डको अभियोगमा पुर्पक्षको लागि जेलमा छन्।
अध्यक्ष मण्डलका संयोजक ठाकुरसँग अध्यक्ष मण्डलका सदस्यहरु महेन्द्र यादब, राजकिशोर यादव र अनिल झा छन्ु भने महतोको पक्षमा शरत्सिंह भण्डारी छन्। संघीय संसद गठन भएको पाँच महिना वितिसक्दा समेत दलको नेता चयन भएको छैन।
ठाकुर पक्षधरले भने मतदानमा जानै पर्ने स्थिति आएमा थुनाम रहेका रेशम चौधरीले सपथ नलिएका कारण मतदानको अधिकारबाट बञ्चित गर्ने तर्क गरेका छन्। यस्तो अवस्थामा ठाकुर र महतोको पक्षमा आठ÷आठ सांसद हुने देखिन्छ।
राजनीतिक समति बैठकमा अधिकांस नेताले अध्यक्ष मण्डलको प्रावधानको अन्त्य गरी एकल नेतृत्व हुनु पर्ने भनि दिएको सुझाललाई ठाकुर, राय, यादव र झाले अश्वीकार गरेका छन्। उनीहरु सामूहिक नेतृत्वकै पक्षमा छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४