काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्धलाई थप गाढा बनाउन भद्र र रुपसीले सहयोग गर्ने बताएका छन् ।
बिहिबार चीन सरकारलाई नेपालको तर्फबाट एकजोडी गैंडा हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले चीनसंगको सम्बन्ध बलियो बनाउन गैंडा सहयोगी भएको बताएका हुन् । उनले भने– भृकुटी र अरनिकोबाट सुरु भएको नेपालचीन सम्बन्धलाई भद्र र रुपसीले थप गाढा बनाउने छन् ।
प्रधानमन्त्रीओलीले नेपालका लागि चीनका राजदुत यु होङलाई प्रकृति संरक्षण कोष खुमलटारमा भद्र र रुपसी नामका गैंडाको जोडी हस्तान्तरण गरेका हुन् । दुई वर्ष भन्दा कम उमेरका भद्र र रुपसी चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको हो ।
हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले भने “भद्र र रुपसी चीनमा आफ्नै घर जस्तो गरी स्वास्थ्य ढंगले हुर्किनेछन् । सन्तान वृद्धि गर्नेछन् ।”
प्रधानमन्त्री ओलीले नेपाल वन्यजन्तु र चराचुरुंगीका लागि विशेष क्षेत्र भएको बताए । साइवेरियादेखि श्रीलंकासम्मका चरा नेपालमा प्रजननका लागि आउनु त्यसैको एउटा नमुना भएको उनको भनाइ थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४