काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधान जारी भएर मात्र संघीयता कार्यान्वयन नहुने भएकोले प्रदेशको पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन्।
नेपाल भ्रमणमा रहेका फोरम अफ फेडेरेशनस्का एसिया-अष्ट्रेलिया निर्देशक फिलिप गोन्जालेजसँग बुधबार बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको भेटमा उपसभापति निधिले प्रदेशको पूर्वाधारमा जोड दिएका हुन्।
उनले पर्याप्त साधनस्रोत विना प्रदेश सरकारलाई काम गर्न कठिनाई हुने उल्लेख गरे। प्रदेश सरकारले आफ्नो प्रदेशको समृद्धिका लागि के गर्न सकिन्छ भनेर स्थानीयसंग छलफल र अन्तरक्रिया गरी समृद्धिका आधार खोज्नुपर्ने उपसभापति निधिको भनाई थियो।
उपसभापति निधिसँगको भेटमा फोरम अफ फेडेरेशनस्का एसिया-अष्ट्रेलिया निर्देशक फिलिप गोन्जालेजले नेपालजस्तै संघीय संरचना भएका देशमा फेडेरेशनस्ले गरेका कामबारे चर्चा गर्दै प्रदेशको पूर्वाधार र जनप्रतिनिधिको सशक्तिकरणमा जोड दिनुपर्ने उल्लेख गरे।
सुशासनका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय यो संस्थामा क्यानडा, अष्ट्रेलिया, जर्मनी, स्वीट्जरल्याण्ड लगायतका १० राष्ट्र आबद्ध छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४