धनगढी- सँगै बाँच्ने र संगै मर्ने कसम खाएर बिबाह बन्धनमा बाँधिएका जोडिहरु झिना मसिना कारणले नै सम्बन्ध विच्छेदको अवस्थासम्म पुग्न थालेको पाइएको छ । कैलाली जिल्ला अदालतमा दर्ता भएका सम्बन्ध बिच्छेदका मुद्दाहरुले यसलाई प्रस्ट पार्छ ।
यहाँ बर्षेनी सम्बन्ध बिच्छेदका मुद्दाको संख्या बढिरहेको पाईएको छ । पछिल्ला दुई वर्षमा मात्रै जिल्लामा सम्बन्ध विच्छेदका घटनामा ६० प्रतिशतले बृदि भएको जिल्ला अदालतको तथ्याङकले देखाएको छ ।
अदालतको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ मा सम्बन्ध विच्छेदका एक सय ३१ मुद्धा दर्ता भएकोमा गत आर्थिक वर्ष २०७३/७४ मा बढेर एक सय ५१ मुदा दर्ता भएका थिए । चालु आर्थिक वर्षको जेठ मसान्त सम्म मात्रै अदालतमा एक सय ९० सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका छन् ।
जिल्ला अदालतका निमित्त श्रेष्तेदार फणेश्वरी घिमिरेले बर्षेनी सम्बन्ध बिच्छेदका घट्नामा बृद्धि भइरहेको जानकारी दिईन् । विच्छेद भयावह बन्दै गएको छ । पछिल्ला वर्षहरुमा जिल्ला अदालत कैलालीमा दर्ता भएका मुद्धाहरुको सख्यालाई हेर्दा सम्बन्ध विच्छेदले भयावह रुप लिन थालेको देखिएको छ । जिल्ला अदालतको तथ्याङक अनुसार सवैभन्दा बढी सम्बन्ध विच्छेदका घटना दर्ता भएका छन् ।
कुनै एउटै कारणले मात्र नभएर श्रीमान श्रीमती बीचको सम्बन्धमा फाटो आएको देखिदैन । विच्छेदको मुख्य कारण वैदेशिक रोजगार रहको मुद्दामा संलग्न कानुन व्यवसायीहरु बताउँछन् । पुरुष वैदेशिक रोजगारीका लागि विदेशिनु, महिला शहरमा एक्लै बस्नु र पैसाको दुरुपयोग गर्दा सम्बन्ध विच्छेदका घटनामा बृद्धि भइरहेको देखिन्छ ।
यसका साथै बालविबाहले पनि सम्बन्ध विच्छेदको अवस्था सम्म पुर्याउने गरेको घिमिरेले जानकारी दिईन् । पछिल्लो समय इमेल ईन्टरनेटको सहज पहुँचबाट सामाजिक सञ्जालको प्रयोग, मोवाईललगायतले पनि सम्बन्ध विच्छेदको अवस्थामा पुर्याउने गरेको छ ।
श्रीमान श्रीमती बीचमा सानो-सानो विषयमा पनि झगडा हुँने र आवेगमा आएर सम्बन्ध विच्छेदको अवस्थामा पुग्ने गरेको पाईएको छ । श्रीमान श्रीमती बीच विश्वासको वातावरण बन्न नसके यस्ता मुद्धाको संख्या बर्षेनी बढ्दै जाने समाजशास्त्रीहरु बताउँछन् ।
अदालतको तथ्याङक अनुसार चालु आर्थिक वर्षमा जिल्लामा एक हजार एक सय ४९ मुद्धा दर्ता भएकोमा सबै भन्दा बढी मुद्धा सम्बन्ध विच्छेदका दर्ता भएका छन् ।