बिहीबार, वैशाख १३, २०८१

एक घुमन्तेको ‘देखेको देश’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
लेखक-पत्रकार मोहन मैनाली यात्रा गर्न रूचाउँछन्। नेपालका दुर्गम गाउँ–गाउँ पुगेर भुईंमान्छेका कथा टपक्क टिप्छन्। सम्बन्धित समाजको अभावलाई आफ्ना लेखनमार्फत् देखाउँदै राज्यलाई झक्झक्याउँछन्। र, यात्राकै सेरोफेरोमा रहेर कृति पनि प्रकाशन गर्दै आइरहेका मैनालीसँग नेपाल समयका राज सरगमसँग गरेको कुनाकानी :

‘देखेको देश’कस्तो कृति हो ? 

‘देखेको देश’मा हामी बसेको ठाउँ, वातावरण, विकास, हाम्रा शासक, समाजलगायत हाम्रो जीवनसँग घनिष्ट सम्बन्ध भएका विषय उठाएको छु। यी यस्ता विषय हुन्, जसले कम्तीमा आगामी १५-२० वर्षसम्म हामीलाई असर गरिरहन्छन्। त्यसैले मेराबारेमा त होइन तर मैले लेखेका विषयमा चर्चा नगरेर हामीलाई सुखै छैन।

हाम्रो समाज दोमनमा छ। एक मनले परिवर्तन हुनुपर्छ भन्छ तर अर्काे मनले हाम्रा व्यवहारलाई परिवर्तनविरोधी बनाउँछ। हामीले अरूले गरेका कुनै कामको विरोध गर्छौं र आफू त्यस्तै काम गर्छौं। हाम्रो समाजको यो प्रवृत्ति बुझ्नका लागि ‘देखेको देश’ को चर्चा नगरी हुँदैन। 

हामी विकास गर्न खोज्छौं र गर्छौं विनाश पनि। हामी विकासका ठूला सपना देख्छौं तर हामीभन्दा अघिकाले देखेका त्यस्तै सपना कसरी तुहिए-तुहाइए भनेर हेर्दैनौं। त्यसैले हाम्रा सपना सपनामै सीमित हुन्छन्। यस्ता कुरा बुझ्न पनि ‘देखेको देश’ को पढाइ र चर्चा हुनेछ। 

आफ्नो वर्तमान र भविष्यलाई जेले डोर्‍याउँछ, तिनका बारेमा कत्ति पनि चासो नराख्ने मानिसले मात्र ‘देखेको देश’ नपढ्ला र यसबारे चर्चा नगर्ला।

तपाईं यात्रा गर्नु हुन्छ, त्यस क्रममा तपाईंको मनमा कथा फुर्छन् कि सम्बन्धित समाजको कथाले तपाईंलाई लेख्न झक्झक्याउँछ? 

यात्रा गर्नुअघि म यात्रा गर्ने ठाउँका बारेमा सकेसम्म बढी जानकारी खोज्छु। त्यसका आधारमा कहिलेकाहीं यी यी विषयमा लेख्छु भनेर तयार भएको हुन्छु। कहिलेकाहीं यात्राका क्रममा विषय अंकुराउँछन्। 

मूलतः म जुन ठाउँमा पुग्छु, त्यहाँको अवस्था, समस्या, उत्साह र जाँगरजस्ता कुराले लेख्नका लागि मलाई हुटहुटी लगाउँछन्। कहिले अति सुन्दर ठाउँमा पुग्छु, त्यसले मलाई लेख्न हौस्याउँछ। कहिले देवताजस्ता मान्छे भेटें। उनीहरूका बारेमा नलेखी सकिँदैन। कहिलेकाहीं त्यस्ता मानिस भेट्छु, जो मानिसले भोग्नै नसक्ने दुःख भोगिरहेका हुन्छन्। उनीहरूका बारेमा नलेखेर बस्नै सकिँदैन।

अशिक्षाले गुज्रिएको गाउँ–गाउँ पुगेर तपाईं मान्छेका पीडा अक्षरमा उतार्नुहुन्छ। दुःख भोग्नेहरूको कथा तपाईंले लेखेर तिनीहरूलाई के लाभ प्राप्त भएजस्तो लाग्छ? 

कसैले लेखिदिँदैमा कसैलाई लाभ हुन्छ भन्ने छैन। कराउनेले जति कराउँदा पनि सुन्नु पर्नेले कुरै नसुन्ने हाम्रोजस्तो समाजमा त यो कुरा झन् बढी सत्य ठहर्छ ।

यस्तो घोर निराशाका बीचमा पनि कहिलेकाहीं त आशावादी हुने ठाउँ भेटिन्छन्। कालीकोटको विमानस्थल बनाउँदै गर्दा मारिएका धादिङको जोगीमाराका मानिसका बारेमा मैले लेखेपछि सात समुद्रपारि अमेरिका बस्ने नेपालीले उनीहरूलाई सहयोग गरे। काठमाडौंका कलाकार, साहित्यकारले पनि उनीहरूलाई सघाउन अभियान चलाए। 

हामीले जसका बारेमा लेख्छौं, उनीहरूलाई अर्को किसिमले पनि सहयोग पुग्दो रहेछ । लडाईंका बेलामा हामी बाजुराको कोल्टी पुग्दा ८०-८२ वर्षका सूर्य गिरीसँग भेट भयो। उनले भने, ‘तपाईंहरू भगवान आउनुभयो!’

उनले हामीलाई दुईतिरका बन्दुकका चेपुवामा परेका मानिसको व्यथा अरूलाई सुनाइदिने मानिस ठानेर हामीलाई भगवानको उपाधि दिएका थिए। 

गोरखाको उहियाको लेकमा भेटिएका भेडा गोठाला उरसिंह गुरुङका बारेमा टेलिभिजनमा देखाएका थियौं । त्यसको सात वर्षपछि गोरखा सदरमुकामछेउमा भेटिएका उरसिंहका भतिजले हामीलाई ठूलो खातिरदार गरे। गुमनाम मान्छेलाई टेलिभिजनमा देखाइदिएर उसको अस्तित्व स्वीकार गरेकामा पाएको सम्मान थियो त्यो । 

भर्खरै थाहा पाएँ, बाजुराको पाण्डुसेनका भक्तबहादुर दमाईले मेरो किताब ‘मान्ठा डराएको जुग’ सधैंभरि ताल्चा लगाएर राख्ने आप्mनो बाकसमा राखेका छन् रे । किनभने, त्यस किताबमा लडाईंमा दुःख पाएको उनको परिवारका बारेमा पनि लेखिएको छ। 

यस्ता कुरा थाहा पाउँदा लाग्छ, बरु केही नभए पनि उनीहरूलाई ढाढस त मिल्दो रहेछ।

‘उपल्लो थलो’, ‘मान्ठा डराएको जुग’ र ‘देखेको देश’लाई यात्रा संस्मरणको साटो आख्यानमा नढाल्नुको कारण के हो? 

निबन्धकार अल्दस हक्स्लीले आफ्नो निबन्ध संग्रह ‘कलेक्टेड एस्सेज’को भूमिकाको शुरूवात डीएच लरेन्सको यो भनाइबाट गरेका छन्, ‘म मानव हुँ र जीवित छु। त्यसैले म उपन्यासकार हुँ। उपन्यासकार भएकाले म आफूलाई साधुसन्त, वैज्ञानिक, दर्शनशास्त्री र कवि (जो आफ्नो विषयका विज्ञ भए पनि समग्र पक्षका ज्ञाता हुँदैनन्) भन्दा उच्चस्तरको ठान्छु।’

त्यसपछि हक्स्लीले लेखेका छन्, ‘निबन्ध उपन्यासभन्दा अलिकति मात्र कमजोर छ । एउटा निबन्धले सबै कुरा भन्न सक्दैन तर निबन्ध संग्रहले त्यति नै कुरा, त्यति नै विस्तारमा भन्न सक्छ, जति उपन्यासले भन्न सक्छ।’

यो पढेपछि मलाई लाग्यो, आफ्ना कुरा बताउन आख्यान नै लेख्नुपर्ने बाध्यता रहेनछ । यात्रा संस्मरण र अरू खालका निबन्धमार्पmत् पनि आफ्ना कुरा बताउन सकिने रहेछ। 

अर्को कुरा, मैले आख्यान लेखें भने एउटा झुर आख्यान बजारमा आउँछ। नेपाली किताब बजारमा झुर आख्यानको कमी भएको भए ‘लौ न त यो कमी पूरा गरौं’ भनेर रहर गर्न मन लाग्थ्यो । तर, मैले आख्यान नलेख्दा पनि बजारमा झुर आख्यानको कमी छैन भने म किन यसो गरौं? 

मलाई लाग्छ, आफूले बोक्न नसक्ने भारी बोक्ने रहर गर्नु हुँदैन। त्यसो गर्‍यो भने त्यही भारीले थिच्छ, मरिन्छ।  

यात्राको क्रममा तपाईंलाई कथा सुनाउनेहरू धेरै रोए होलान् र कुनै त्यस्तो पात्र परिवेशसहितको कथा याद छ, जसले तपाईंलाई रूवायो ?

बाजुराको पाण्डुसेन गाउँमा हामी पुगेको रात सरकारले त्यहाँका आठ जना निहत्था किसानको हत्या गर्‍यो। त्यसपछि उनीहरूका परिवार र छिमेकी अचेतजस्तै भएका थिए। उनीहरूको अवस्था हेर्दा, उनीहरूसँग कुरा गर्दा हामीलाई आफूलाई सम्हाल्न कठिन भएको थियो। यस्ता बेलामा हामी पनि अर्धबेहोसजस्ता भएका थियौं।

कालीकोटमा मारिएका धादिङको जोगीमाराका मानिसका आफन्तसँग ४-५ दिन कुराकानी गर्दा पनि हामीलाई त्यस्तै भएको थियो। 

यी दुवै घटनाबारे कुराकानी गरेका बेला, तिनका बारेमा लेखेका बेला, भिडियो डकुमेन्ट्री बनाएका बेला अनि डकुमेन्ट्री हेरेर दर्शक रोएका बेला धेरैचोटि रोएको छु।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।