काठमाडौं-संघीय संसद् गठन भएको पाँच महिना बित्यो । राष्ट्रिय जनता पार्टी (राजपा)ले भने अहिलेसम्म संसदीय दल गठन गर्न सकेको छैन ।
पाँच महिनापछि पहिलो पटक सोमबार ११ बजेलाई दलको बैठक बोलाइएको उक्त पार्टीका एक नेताले जानकारी दिए । उनका अनुसार सोही बैठकले संसदीय दलको विधान पारित गर्ने भएको छ ।
विधान पारित भएपछि मात्र संसदीय दलको नेता चयन हुनेछन् । दलको नेतामा अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतो आकांक्षी छन् ।
राजपाका सांसद प्रतिनिधिसभामा १७ र राष्ट्रियसभामा दुई जना छन् । १७ जनामध्ये कैलाली– १ का रेशमलाल चौधरीले सपथ लिएका छैनन् ।
राजपाको तीनदिने राष्ट्रिय समितिको बैठकमा पार्टी र दलको विधान मस्यौदामाथि छलफल भएको थियो । तर, त्यसमा निष्कर्ष निस्किन सकेको थिएन । त्यसको जिम्मा अध्यक्ष मण्डललाई दिइएको थियो ।
तर, आइतबार बसेको अध्यक्ष मण्डलको बैठकले पनि त्यसबारे निर्णय दिन सकेन । राष्ट्रिय समिति बैठकमा दुवै विधानका मस्यौदामा संशोधनका लागि सुझाव आएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४