काठमाडौं- १८ असार राति साढे १० बजे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका पुत्र चिन्तनले आफ्नो फेसबुक पेजमा एक तस्बिर अपलोड गरे । तस्बिरमा पल्लोछेउमा थिए, कांग्रेस सभापति शेरबहादुर देउवा, बीचमा वरिष्ठ नेता पौडेल र उनीसँगै बसेका थिए चिन्तन ।
राति अबेर तस्बिर अपलोड गरिएका कारण कांग्रेस नेता/कार्यकर्तालाई पार्टीभित्रको पछिल्लो विकास क्रमबारे भोलिपल्ट बिहान मात्र जानकारी भयो । त्यो तस्बिर देउवाको बुढानीलकण्ठस्थित निवासको थियो ।
कांग्रेसका शीर्ष नेता देउवा र पौडेलबीच भेट हुनु आफैंमा अनौठो समाचार नहुन सक्छ । त्यस तस्बिरले भने कांग्रेसको भावी राजनीतिक यात्राबारे चलिरहेका 'डिस्कोर्स'हरूका सन्दर्भमा ठूलै अर्थ राख्छ ।
देउवा-पौडेल सम्बन्धकांग्रेसको राजनीतिमा प्रवेश गर्नुअघि देउवा र पौडेल दुवै नेपाल विद्यार्थी संघमा आबद्ध थिए । दुवै नेता नेविसंघका संस्थापक पनि हुन् । पार्टीको वरियता र मर्यादाक्रममा धेरै समयदेखि देउवा अगाडि र पौडेल पछाडि पर्दै आएका छन् । यी दुईको मित्रता र तिक्तता ०२७ सालमा नेविसंघ गठनदेखि नै शुरु भएको हो ।
नेविसंघको अध्यक्ष हुन ठिक्क परेका पौडेल अन्ततः तत्कालीन शीर्ष नेताको आग्रहमा पछि हट्न बाध्य भए र देउवाले अध्यक्षको माला पहिरिए । कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यको माला भने देउवाभन्दा पहिले पौडेलले नै पहिरिए ।
पार्टीमा समानान्तर हैसियतमा रहेका दुवै नेताबीच कहिले अगाडि र कहिले पछाडि पर्ने लुकामारी चल्दै आयो । पार्टीको १३औं महाधिवेशनमा पनि देउवा र पौडेल सभापतिमा आमनेसामने भए । महाधिवेशनबाट देउवा सभापति भए भने पौडेल पराजित ।
सभापतिमा पराजित भएदेखि दुवैको सम्बन्ध पानी बाराबारको अवस्थाबाट गुज्रियो । अहिले देउवा निवासमा पौडेल पुत्र चिन्तनसहितको पाँच घण्टा लामो वार्ता र मित्रलापलाई धेरैले आश्चर्यका रूपमा अथ्र्याउनुको कारण पनि त्यही हो ।
सभापतिमा पराजित पौडेल देउवासँग झन् रुष्ट भए, जतिबेला सबैभन्दा प्रभावशाली भातृ संस्था नेविसंघको ११ औं महाधिवेशनमा पौडेल पक्षधर उम्मेदवारको प्यानललाई पराजित गर्न देउवाले पुरानो संस्थापन पक्षबाट अलग भएर तेस्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौलाको सहयोग लिए ।
सिटौलाको सहायतामा देउवाले महिला संघको महाधिवेशनमा त पौडेल समूहका उम्मेदवारलाई पाखा नै लगाए । पौडेल पक्षधर उम्मेदवारमध्ये कल्याणी रिजालले मात्र केन्द्रीय सदस्य जितिन् ।
गत वर्ष भएका स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार चयन गर्दा र समानुपातिक नाम छनोटमा आफ्नो पक्षलाई विभेद गरिएको गुनासो गरेका पौडेललाई तेस्रो धारको नेतृत्व गरेका सिटौलाले पनि साथ दिए ।
निर्वाचनमा कांग्रेस पराजित भएको दोष सभापतिले लिनुपर्ने बताउँदै पौडेल र सिटौला पक्षले आक्रोश ओकले । र, देउवाविरुद्ध देशव्यापी आरोप/प्रत्यारोपको शृंखला चल्यो ।
कांग्रेस सुधारको 'डिस्कोर्स'निर्वाचन पराजयको जिम्मा लिँदै नेतृत्व परिवर्तनका लागि हालका पार्टी प्रवक्ता विश्वप्रकाश शर्मासहित आठ युवा नेताहरू चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, प्रदीप पौडेल, जीवन परियारलगायतले देशव्यापी दबाबमुलक कार्यक्रम नै सञ्चालन गरे ।
तीन तहका निर्वाचनमा लज्जास्पद पराजयलगत्तै युवा नेताहरूले शुरु गरेको अभियान कांग्रेसलाई पुनर्ताजगी दिने प्रयासको पहिलो 'डिस्कोर्स' थियो । त्यसको केही समयपछि नै सभापति देउवाले युवा नेता शर्मालाई पार्टी प्रवक्ता बनाए ।
निर्वाचनमा पार्टीको लज्जाजनक पराजयपछि पनि करिब तीन महिना सत्तामा रहेका देउवाले चुनाव कांग्रेसले नहारेको दाबी गर्दै रहे । उनको दाबी थियो, 'समानुपातिकमा कांग्रेसको मत घटेको छैन र ०६४ सालको भन्दा झन् बढी छ ।'
पार्टीभित्रका गुट-उपगुट व्यवस्थापनमा पारंगत देखिँदै आएका देउवाले संसदीय दलको नेतामा प्रतिस्पर्धी प्रकाशमान सिंहलाई भारी मतले पराजित गरे । असन्तुष्टलाई ठेगान लगाउने देउवाको योजना धेरै दिन भने टिकेन । उनी पार्टी सत्ताको आडमा असन्तुष्टहरूको आवाजलाई मत्थर पार्न चाहन्थे तर यो योजना चार महिनामा 'करेक्सन' गर्न पुगे ।
पत्नी र छोरालाई आ-आफ्ना उत्तराधिकारीका रूपमा स्थापित गर्न मात्र कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहकार्यको वातावरण तयार भएको हो कि वाम सरकारको एकोहोरो पेलाइबाट त्राण पाउन एकताको माहोल सिर्जना भएको हो ? जवाफ पर्खिन केही समय पर्खिनैपर्छ ।
कर्मचारी युनियन, शिक्षक संघ र कांग्रेसको सबैभन्दा धेरै सदस्य रहेको संस्था नेपाल ट्रेड युनियन कांग्रेसका महाधिवेशनमा संस्थापन पक्ष 'क्लिन स्विप'को अवस्थामा पुग्यो । त्यसबाट अर्को 'डिस्कोर्स'को जन्म हुन पुग्यो, कांग्रेसभित्र ।
पौडेल र सिटौला दुवै असन्तुष्ट रहेको तथा दुवै एक ठाउँमा आइपुगेको हानी देउवाले बेहोरे । असार पहिलो साता हेटौंडामा सम्पन्न जिल्ला सभापतिहरूको भेला अगाडि काठमाडौंमा पौडेल पक्ष बलियो बनेको महशुस भयो ।
२९ जेठमा काठमाडौंको एक पार्टी प्यालेसमा पौडेल, सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी तथा युवा नेताहरू गगन थापा, प्रदीप पौडेललगायतको 'गठबन्धन' घोषणा भयो । त्यो गठबन्धनको मुख्य उद्देश्य ट्रेड युनियन कांग्रेसको महाधिवेशनमा देउवा पक्षलाई 'क्लिन स्विप' गराउने थियो, जसमा उक्त गठबन्धन सफल पनि बन्यो ।
जिल्ला सभापतिहरूको हेटौंडा भेलामा देउवा एक्लिएको देखियो । आफू पक्षकै जिल्ला सभापतिहरूको पनि आलोचना बेहोर्नुपर्यो, उनले । जिल्ला सभापतिहरूको अधिकार कटौती गरेर आफूले जीवनमै ठूलो गल्ती गरेकोसमेत भेलामा बताएका थिए, सभापति देउवाले । तर, निर्वाचनमा पराजयको दोष आफू एक्लैले लिन तयार भएनन्, उनी ।
जिल्ला सभापति भेलामा सिटौला, विमलेन्द्र निधि र पूर्णबहादुर खड्काको बासस्थल एउटै होटेलमा परेको थियो । निधि र खड्का सभापति देउवाका पक्षमा खुलेका नेता हुन् । र, सिटौला त्यसको केही दिनअघि मात्र पौडेलसँगको गठबन्धनमा देखिएका थिए । तीन नेताबीच जिल्ला सभापति भेला अवधिभर घनिभूत छलफल देखियो ।
र, सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले सभापति भेलाको मञ्च बहिष्कारसम्मको असन्तुष्टी प्रकट गर्दै गर्दा वरिष्ठ नेता पौडेल भने निरन्तर देउवासँगै मञ्चमा देखिए ।
जिल्ला सभापति भेलापछि देउवामा एक प्रकारको 'रिल्याक्स मुड' देखियो । किनकि, एकोहोरो गाली मात्र खाइरहेका उनले केन्द्रदेखि जिल्ला तहसम्मका नेताहरूसँग आफ्ना कुरा पनि राख्न पाएका थिए । र, सम्भवतः आगामी बाटो तय गर्ने कुरामा पनि उनलाई गोरेटो फेला परेको हुन सक्छ ।
जीवनको सात दशक काटिसकेका देउवा र पौडेल पनि आफ्ना उत्तराधिकारी तयार पार्ने दौडमा सामेल भएको बुझाइ कांग्रेसजनमा देखिन्छ ।
सधैं सहयोगी र गुटका नेताहरूको सल्लाहअनुसार चल्ने देउवाको स्वभावमा हेटौंडाबाट 'यु टर्न' देखियो । जिल्ला सभापति भेला सकिएपछि उनी कुनै नेता र परिवारका सदस्यलाई पनि साथमा नलिई चितवनको पर्यटकीय क्षेत्र सौराहा पुगे । त्यहाँ उनले दुई दिन बिताएर एक्लै विचार मन्थन गरे ।
यसअघिदेखि नै पार्टी महामन्त्री शशांक कोइरालालाई आफ्ना पक्षमा पारिसकेका थिए । संसदीय दलको निर्वाचनमा महामन्त्री कोइरालाले देउवालाई मत दिएका थिए । १० वर्षअघि कांग्रेस छाडेर फोरम नेपाल हुँदै आफ्नै नेतृत्वमा फोरम लोकतान्त्रिक गठन गरेका नेता विजयकुमार गच्छदारलाई निर्वाचनअघि पार्टीमा फर्काएर आफ्नै पक्षमा राख्न सफल भएका थिए ।
स्वर्गीय खुमबहादुर खड्का पक्षधर नेता/कार्यकर्तालाई पनि आफ्नै पक्षमा समेट्न सफल भएका थिए । र, बाँकी थियो, वरिष्ठ नेता पौडेलको नेतृत्वमा अलग्गै ढंगबाट आफूविरुद्ध उठेको समूहलाई मिलाउन । जिल्ला सभापति भेलाको १० दिन नबित्दै उनले पौडेललाई समेट्न सफलता पाएको महशुस हुन्छ ।
पौडेल स्वयंको भनाइले पनि त्यही पुष्टी गर्छ । 'हेरौं न, उहाँको बानी सुध्रिन्छ कि ? पार्टीलाई विधान बमोजिम चलाउँछु भन्नुभएको छ,' पौडेल भन्छन्, 'निर्वाचनमा भएको पराजयलाई स्वीकार्नुपर्यो । कांग्रेस सुधारको अभियान हो यो, पार्टीको आन्तरिक जीवनलाई लोकतान्त्रीकरण गरेर समग्र राष्ट्रलाई नै लोकतान्त्रीकरण गर्नुछ ।'
पौडेलमा द्विविधा भने झल्किन्छ । भन्छन्, 'सैद्धान्तिक रूपमा सबै पदाधिकारीले पार्टी सुधार्ने कुरालाई स्वीकारेका छन् तर भोलि गएर कुन कुन कुरामा साथीहरूको इन्ट्रेस्ट मिल्दैन र अनुकुल लाग्दैन, त्यसबेला के के गर्छन् भन्न सकिँदैन ।'
कार्यकर्ताको स्पिरिट जोगाउनुपर्ने, पार्टीलाई विधि-विधानअनुसार चलाउनुपर्ने, प्रदेशको अधिवेशन गराउनुपर्ने, भातृ संस्थाहरूको अधिवेशन गराउनुपर्ने, निर्वाचन समिति बनाउनुपर्ने, अनुशासन समिति बनाउनुपर्ने र तत्काल प्रादेशिक संरचनामा दायित्व सम्झेर आफूले देउवासँग सहकार्य गर्ने निष्कर्ष निकालेको उनको भनाइ छ ।
'लोकतन्त्र जोगाउन, जनताको अधिकार स्थापित गर्न र समृद्धिका लागि जनतालाई जगाउन सडकदेखि सदनसम्म जानुपर्यो । पार्टीभित्र आन्तरिक सुधार हुनुपर्यो,' पौडेल भन्छन्, 'विधिसम्मत तरिकाले पार्टी चलाउनुपर्यो । त्यसैले सदन र सडकमा पनि आन्दोलन घन्काउने सल्लाह भयो ।'
पौडेललाई मनाउने रणनीति अख्तियार गर्न सभापति देउवालाई सुझाउने नेता पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा रहेको स्रोतहरूको दाबी छ । महामन्त्री शशांक कोइरालालाई पनि विश्वासमा लिन शर्माले नै देउवालाई सुझाएको मान्नेहरू पनि छन्, कांग्रेसभित्र ।
सभापति देउवाको निकटस्थ सहयोगीका रूपमा प्रवक्ता शर्माको शानदार 'इन्ट्री' भएको मान्नेहरू पनि नभएका होइनन् ।
संयोग कस्तो भने १३औं महाधिवेशनमा देउवा समूहबाट महामन्त्री उम्मेदवार बनेका अर्जुननरसिंह केसी उनीसँग टाढिएका छन् । र, पौडेलका महामन्त्री उम्मेदवार बनेका कोइरालाले पनि उनको साथ छाडेका छन् । केसी पौडेलनिकट र कोइराला देउवानजिक पुगेका छन्, यतिबेला ।
देउवा-पौडेल गुप्त वार्तालापबाट प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसी झस्किएका छन् ।
समीकरणहरू बन्ने, भत्किने र फेरि ध्रुवीकरण हुने शृंखला नै चलिरहेको छ, कांग्रेसभित्र यतिबेला । सभापति देउवासँग वरिष्ठ नेता पौडेलको निकटता त्यही शृंखलाको एक पाटो मान्न सकिन्छ ।
यसको अर्को आयाम पनि छ । पत्नी आरजु राणालाई कांग्रेस राजनीतिमा स्थापित गर्ने चुनौतीमा देउवा छन् । वरिष्ठ नेता पौडेललाई पनि छोरा चिन्तनलाई स्थापित गर्नुपर्ने बाध्यता हुन सक्छ । देउवाले पत्नी र पौडेलले छोरालाई अगाडि बढाउनकै लागि सहकार्यको हात बढाएको विश्लेषण गर्न भने अहिल्यै हतारो हुनेछ । किनभने, त्यसका स्पष्ट संकेत देखिइसकेका छैनन् ।
तर, विगतको अनुभवले त्यही बताउँछ । तत्कालीन राजा ज्ञानेन्द्रको चलखेलबीच सभापति गिरिजाप्रसाद कोइरालाप्रति विष बमन गर्दै कांग्रेस फुटाएका देउवा ०६२/६३ को आन्दोलनपछि मात्र मातृ पार्टीमा फर्किए, एकीकरणमार्फत् । त्यसपछि भने गिरिजाप्रसादसँग उनको सम्बन्ध सुमधुर देखियो ।
माधवकुमार नेपाल नेतृत्वको सरकारमा गिरिजाप्रसाद पुत्री सुजाता कोइरालालाई उपप्रधान तथा परराष्ट्र मन्त्री बनाउन सहमति दिए । त्यसको बदलामा गिरिजाप्रसादले देउवा पत्नी आरजुलाई समानुपातिक सभासद् बनाइदिए ।
गिरिजाप्रसाद र शेरबहादुर गठबन्धनका कारण तत्कालीन पार्टी महामन्त्री सुशील कोइराला र काठमाडौं सभापति प्रकाशमान सिंह असन्तुष्ट बने । जीवनको सात दशक काटिसकेका देउवा र पौडेल पनि आफ्ना उत्तराधिकारी तयार पार्ने दौडमा सामेल भएको बुझाइ कांग्रेसजनमा देखिन्छ ।
तथापि, पौडेल भरपर्दा नेता नभएको बुझाइ देउवामा छ, पहिल्यैदेखि । त्यसैले उनीहरूबीचको सहकार्य कति समय चल्छ भन्न सकिने अवस्था भने छैन । केपी ओली नेतृत्वको सरकारले एकपछि अर्को गर्दै प्रमुख प्रतिपक्षी दललाई 'कर्नर'मा पारिरहेको अवस्थामा आफूहरू एकजुट नभई पार्टीलाई पुनर्जीवन दिन नसकिने निष्कर्षमा दुवै नेता पुगेका हुन पनि सक्छन् ।
देउवा-पौडेल गुप्त वार्तालापबाट प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसी झस्किएका छन् । पौडेल देउवा निवासमै छँदा सहयोगी भानु देउवाले भोलिपल्ट दुई बजे पदाधिकारी र पूर्वपदाधिकारीलाई फोन गरेर बैठकका लागि आमन्त्रण गरे । त्यस बैठकमा पौडेलले नेताहरूलाई सम्बोधन गर्दै भने, 'आखिर सभापतिलाई खुइल्याएर मात्र केही हुँदैन, मेरा पनि धेरै चित्त दुःखाइ थिए होला । तर, त्यो सबै बिर्सेर एकजुट हुन आव्हान गर्छु ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४